बाढीपीडितका लागि डब्ल्युएचओले औषधी र आपतकालीन टेन्ट पठाउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वयपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । 

प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्टसमेत पठाउने तयारी गरिएको छ ।

बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हालसम्म बाढीबाट घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

आपतकालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय राजधानीका अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटसँग समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसँगै स्वास्थ्य सेवा र आवश्यक औषधिको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ ।

Share News