काठमाडौं । रसुवामा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि बैंकिङ क्षेत्रमा समेत गम्भीर असर परेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन् ।
उनका अनुसार बाढीपहिरोका कारण बैंकिङ क्षेत्रमा कति क्षति पुगेको छ भन्ने यकिन विवरण अहिले नै भन्न सकिने अवस्था छैन । रसुवाको टिमुरेमा वाणिज्य बैंकका ९ वटा शाखा सञ्चालनमा रहेको र टिमुरेभन्दा तलका क्षेत्रमा समेत शाखा रहेकामा तीमध्ये अधिकांश बाढीले बगाएको सूचना आएको उनले बताए ।
‘मानवीय क्षति नभए हुन्थ्यो भन्ने लागेको छ । कतिपय कर्मचारी साथीहरू सम्पर्कमा आउँदै हुनुहुन्छ भने केही सम्पर्कमा आउने प्रयासमा हुनुहुन्छ,’ अध्यक्ष कोइरालाले भने ।
बाढीका कारण प्रभावित क्षेत्रमा जान सक्ने अवस्था नरहेको भन्दै उनले बैंकका शाखामा रहेको नगदसमेत बाढीले बगाएको प्रारम्भिक सूचना आएको बताए । बैंकिङ क्षेत्रको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र बुधबार साँझसम्म प्रारम्भिक रिपोर्ट आउन सक्ने अध्यक्ष कोइरालाले बताए ।