‘१३ औं एभिएसन सेफ्टी क्याम्पेन’ आजदेखि सुरु
काठमाडौं । नेपालको हवाई उडान क्षेत्रलाई अझ सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ ‘१३औं एभिएसन सेफ्टी क्याम्पेन’ बुधबार (आज)देखि सुरु भएको छ । उक्त क्याम्पिएन वायुसेवा सञ्चालक संघको आयोजनामा आजदेखि सुरु भएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेशराज पौडेलले कार्यक्रमको औपचारिक उद्घाटन गरे । पर्यटनमन्त्री पौडेलले दुई दिने तालिम तथा अभियानले वायु सेवा कम्पनीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । हरेक दुर्घटनापछि अन्तिममा पाइलटको टाउकोमा मात्र दोष थुपार्ने प्रवृत्ति रहेको उल्लेख गरे । उनले संसारका सबै कमजोरीहरू मानवीय कमजोरी नै भएको औंल्याए । मन्त्री पौडेलले भने, ‘मेसिनले आफै गल्ती गर्दैन, यदि मेसिनले गल्ती गर्यो भने पनि त्यो बनाउने वा समयमा मर्मतसम्भार नगर्ने मान्छेकै कमजोरी हो ।’ मन्त्री पौडेलले आफ्ना कमजोरीहरू सुधार्दै आफूलाई परिष्कृत गर्दै र लापरवाहीलाई न्यूनीकरण गर्दै लगेमा मात्रै नेपाली आकाश सुरक्षित हुन सक्ने अभिव्यक्ति दिएका छन् । दुई दिनसम्म चल्ने यस क्याम्पेनमा नेपालमा सेफ्टी म्यानेजमेन्ट सिस्टमका चुनौतीहरू, मर्मतसम्भारमा हुने त्रुटि, हेलिकप्टरको इन्जिन सेफ्टी म्यानेजमेन्ट सिस्टम, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स कार्यान्वयन, नियामक ढाँचा तथा भविष्यको नियमन प्रणालीलगायतका महत्त्वपूर्ण विषयहरूमा गहन छलफल र प्रस्तुतीकरण हुने आयोजकले जनाएको छ । वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रताप जंग पाण्डेले हवाई सुरक्षालाई कागजमा मात्र सीमित नराखेर व्यावहारिक रूपमा ‘सेफ्टी कल्चर’ र ‘सेफ्टी म्यानेजमेन्ट सिस्टम’ लागू गर्नुपर्नेमा विशेष जोड दिएका छन् । नेपालमा हुने धेरैजसो हवाई दुर्घटनाको मुख्य कारण इन–रुटको मौसम सम्बन्धी सही जानकारी नहुनु रहेको उनको भनाइ थियो। अध्यक्ष पाण्डेले नेपाल अझै पनि युरोपेली संघ को हवाई सुरक्षा सूचीमा रहेको उल्लेख गर्दै त्यसबाट बाहिरिनका लागि समयसीमा तोकेरै अभियान चलाइरहेको जानकारी दिए । यस कार्यमा निजी क्षेत्रले पनि पूर्ण सहकार्य गरिरहेको उनले बताए। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोललेसंघले आयोजना गर्दै आएको सेफ्टी क्याम्पेनको महत्व ठूलो रहेको बताए । ‘संघले प्राधिकरण र मन्त्रालयसँग मिलेर वर्षौंदेखि अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘यसले हवाई सुरक्षाको महत्वलाई अगाडि बढाउने काम गरेको छ ।’ महानिर्देशक डंगोलले एभिएसन क्षेत्रमा जोडिएका सबैका लागि उडान सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए । विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले नेपालको हवाई सुरक्षाका विषयमा प्रश्न उठाइरहेको अवस्थामा केही न केही ठोस सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याएका छन् । हवाई सुरक्षालाई अब अक्षरमा मात्र नभई कार्यान्वयनको तहमा लैजान प्राधिकरणले काम अगाडि बढाएको उनले जानकारी दिए । महानिर्देशक डंगोलले यस वर्षदेखि क्यानले ‘फ्लाइट डाटा मोनिटरिङ’ र ‘फ्लाइट डाटा एनालाइसिस’ को कार्यक्रमलाई बजेटमै प्राथमिकताका साथ राखेर अघि बढाएको उल्लेख गरे । यसमा सम्पूर्ण एयरलाइन्स अपरेटरहरूबाट पूर्ण साथ र सहयोगको अपेक्षा उनले गरेका छन् ।
नुवाकोटको केन्द्रीय कारागार मरुभूमी बन्यो , सुरक्षाकर्मी बस्ने दुवै ब्यारेकमा क्षति
काठमाडौं । नुवाकोटको केन्द्रीय कारागारमा क्षति भएको छ। कारागारको दुई वटा पर्खाल भत्किएर मरुभूमि जस्तै भएको कारागार प्रशासक भेषबहादुर कुँवरले बताएका छन् । 'नयाँ कारागारमा एक मान्छे अग्लो हिलोको लेदो छिरेको छ,’ उनले भने,’ कारागारको बाहिर र भित्रको पर्खाल भत्काएको छ ।' जनपद प्रहरी र शसस्त्र प्रहरीको ब्यारेकमा हिलो पसेर पुरै क्षति भएको कुँवरले बताए । प्रहरीहरू र कैदीबन्दी सबै जना सुरक्षित रहेको उनले जानकारी दिए । 'तीन जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पुनः फर्काएर ल्याएका छौँ,'उनले भने,' अहिले सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा सारिरहेका छौँ ।' कारागारमा विद्युतको लाइन गएको र अधिकांश संरचनामा क्षति भएको कुँवरले जानकारी दिए । कारागारमा ९ सय २२ जना कैदीबन्दी छन् । बालसुधारगृहतर्फ १ सय ३८ जना बालबालिका रहेका छन् । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ ।
प्रत्यक्षदर्शीले देखेको बाढीको भयावह दृश्य
काठमाडौं । गोसाइँकुण्ड यात्राका क्रममा रसुवाको बान्द्रे पुगेका यात्रुले बुधबार बिहान अचानक आएको बाढीले निम्त्याएको भयावह दृश्य प्रत्यक्ष देखेका छन् । केही क्षणमै आएको बाढीले बजार क्षेत्र, घर, विद्यालय तथा पुराना संरचना बगाएको र ठूलो भौतिक क्षति भएको उनीहरूले बताएका छन् । काठमाडौंबाट बिहान गोसाइँकुण्ड यात्राका लागि निस्किएका ठानेश्वर पराजुलीको टोली खाना खान बान्द्रेमा रोकिएको थियो । उनका अनुसार उनीहरू बिहान करिब साढे ९ बजे बान्द्रे पुगेका थिए । त्यतिबेला सुरक्षाकर्मीहरूले सम्भावित बाढीको जोखिमबारे स्थानीयलाई माइकिङमार्फत जानकारी गराइरहेका थिए । ‘सुरक्षाकर्मीले बाढीको जोखिम र सतर्कताबारे माइकिङ गरिरहेका थिए,’ यात्रामा रहेका प्रत्यक्षदर्शी पराजुलीले भने, ‘हामीले पछि थाहा पायौं, उनीहरूले बिहान ९ बजेदेखि नै यसरी स्थानीयलाई सचेत गराइरहेका रहेछन् ।’ तर, सुरक्षाकर्मीले पूर्वसूचना दिइरहेकै अवस्थामा केहीबेरमै परिस्थिति एकाएक भयावह बनेको प्रत्यक्षदर्शी पराजुलीको भनाइ छ । उनका अनुसार पहिले वातावरणमा बाक्लो कुहिरोजस्तो हुस्सु फैलिएको थियो । त्यसपछि त्यही हुस्सुसँगै ठूलो वेगमा बाढी आएको देखियो । ‘हेर्दाहेर्दै पूरै कुहिरो लागेजस्तो सेतो हुस्सु आयो । सेतो कपासजस्तो देखिने त्यो हुस्सुसँगै बाढी पनि आयो,’ उनले भने । उनका अनुसार बाढीको वेग यति तीव्र थियो कि केही समयमै विदुरको ढुंगेबजार र पुरानो कारागार क्षेत्रतर्फ ठूलो क्षति पुग्यो । स्थानीयका अनुसार ढुंगेबजार क्षेत्रका मात्रै करिब एक सय घर बाढीले बगाएको प्रारम्भिक जानकारी छ । बाढीले विद्यालयसमेत बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा देखिएको क्षति हेर्दा मानवीय क्षतिको वास्तविक विवरण तत्काल खुल्न नसके पनि भौतिक क्षति भने अत्यन्त ठूलो रहेको पराजुलीले बताए । बाढीले घर, पसल, विद्यालय तथा अन्य संरचनामा क्षति पु‍र्याएको छ । कतिपय संरचना पूर्ण रूपमा बगेका छन् भने कतिपयमा ठूलो क्षति पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार बाढी आउँदा स्थानीय तथा यात्रुमा ठूलो त्रास फैलिएको थियो । सुरक्षाकर्मीले जोखिमबारे माइकिङ गरिरहेकाले केही मानिस सतर्क अवस्थामा रहे पनि बाढीको तीव्रता र अचानक आएको हुस्सुका कारण घटनास्थलको अवस्था केही क्षणमै नियन्त्रणबाहिर गएको थियो । ‘हामी त्यहाँ खाना खान रोकिएका थियौं । सामान्य रूपमा मानिसहरू आवतजावत गरिरहेका थिए,’ पराजुलीले भने, ‘तर केही मिनेटमै अवस्था यस्तो भयो कि सबैजना ज्यान जोगाउन सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था आयो ।’ पराजुलीका अनुसार बाढीले ढुंगेबजार क्षेत्रमा ठूलो क्षति पु‍र्याएको छ । बजार क्षेत्रमा रहेका घर तथा व्यापारिक संरचना बगाउँदा स्थानीय व्यवसायीसमेत प्रभावित भएका छन् । बाढीले विद्यालयजस्तो सार्वजनिक संरचनासमेत बगाएपछि क्षतिको दायरा थप गम्भीर देखिएको छ । प्रत्यक्षदर्शीका अनुसार घटनाले प्राकृतिक विपद्का बेला पूर्वसूचना र सतर्कताको महत्त्व पनि देखाएको छ । सुरक्षाकर्मीले बाढीको जोखिमबारे बिहानैदेखि माइकिङ गरे पनि विपद् कति तीव्र रूपमा आउन सक्छ भन्ने अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ । गोसाइँकुण्ड यात्राका लागि हिँडेको टोलीका लागि भने बान्द्रेमा देखिएको त्यो दृश्य जीवनभर सम्झनलायक बनेको छ। केही समयअघिसम्म सामान्य देखिएको बजार एकाएक बाढीको चपेटामा परेको र आँखैअगाडि घर तथा संरचना बग्न थालेको दृश्यले आफूहरू स्तब्ध भएको प्रत्यक्षदर्शीले बताए । ‘हामीले बाढीको यस्तो रूप यसरी प्रत्यक्ष देखेका थिएनौं,’ उनले भने, ‘केही क्षणअघिसम्म सामान्य रहेको ठाउँ हेर्दाहेर्दै बाढीले तहसनहस बनायो । क्षति कति ठूलो छ भन्ने कुरा घटनास्थलमा पुगेर हेर्दा मात्रै अझ स्पष्ट हुन्छ ।’
यी हुन् आकस्मिक मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् निर्णयहरू : १. संवत् २०८३ साल भदौ १० गते रसुवा जिल्लाको सिमा क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै उक्त घटनामा परि मृत्यु हुने मृतकहरूप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्ने । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने । घाइतेहरूको शीघ्घ्र स्वास्थ्य लाभको कामना गर्ने । २. उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने । ३. उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने। यस कार्यको लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरको परिचालन गर्ने। माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन (हेलिकोप्टरसहित) परिचालन गर्न निर्देशन दिने । ४. घररनिवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मिलाउने । ५. उक्त घटनाबाट अवरुद्ध हुन पुगेको सडकहरू पुनःसञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने । ६. बाढीबाट अवरुद्ध हुन पुगेको विद्युत आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने प्रबन्ध ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले मिलाउने । ७. अवरुद्ध हुन पुगेका दूरसञ्चारको तत्काल सञ्चालनको व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने । ८. उक्त घटनाका मृतक परिवारलाई प्रचलित कानुनबमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने । ९.क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल सञ्चालन तथा पुनर्निर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी माननीय अर्थमन्त्रीलाई दिने । १०. विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिना अवधिको लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने ।
बाढीले त्रिशुली मावि बगायो, विद्यार्थी सुरक्षित
काठमाडाै‌ । बुधबार बिहान आकास्मिक त्रिशुली त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको छ । यद्यपि त्यहाँका विद्यार्थी र शिक्षकहरु सुरक्षित रहेको छ । बिहानको प्रार्थना चलिरहेको समयमा बाढीको सूचना पाएपछि शिक्षकहरुले विद्यार्थीलाई त्यहाँबाट निकालेका थिए । आज बिहान आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ । बाढीले अरु क्षेत्रहरुमा पनि क्षति पु¥याएको सूचनाहरु प्राप्त भइरहेका छन् ।
रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा ठूलो क्षति पुगेको छ ।
रसुवा बाढी अपडेटः घाइतेलाई उपचार गर्न वीर अस्पतालमा सय बेड तयार
काठमाडौं । बाढीमा घाइते भएकाहरूका उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरमा सय वटा शय्या घाइतेका लागि छुट्याइएको छ । बाढीमा घाइते भएकाहरूको उपचार गर्न चिकित्सकहरू तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना डाक्टर र २ जना नर्स प्रस्थान गरेका छन् । स्काउटबाट पाँच जना डाक्टर र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा छन् । स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने गरी आधारभूत औषधि र २४ स्क्वायर फिटका १५ वटा टेन्ट पनि पठाउने तयारी गरिसकेको छ । प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ । प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ । हाल नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन् । आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५मा सम्पर्क गर्न सकिन्छ । बुधबार बिहान ९ बजे रसुवामा आएको बाढीले क्षति गरेको छ ।
भोटेकोशी बाढीले रसुवामा पुर्याएको क्षतिप्रति नाइमाको दुःख व्यक्त
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले गहिरो दुःख व्यक्त गरेको छ । नाइमाले प्रारम्भिक विवरणअनुसार बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचनालगायत महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको जनाएको छ । बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने नाइमाले जनाएको छ । नाइमाले बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गरेको छ । साथै, खोज, उद्धार तथा राहतमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ । भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा अझै जोखिम हुन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उसले सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ । नाइमाले कठिन परिस्थितिमा प्रभावित समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ । साथै, प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ ।