बाढीले ठूलो क्षति गरेको छ, जतिसक्दो छिटो उद्धार गरौँ : मोहन आचार्य

काठमाडौं । रसुवाका सांसद एवं नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठूलो क्षति पुर्याएको बताएका छन् ।

गत वर्षको तुलनामा यसपटकको बाढी अझ ठूलो र विनाशकारी रहेको उनले बताए । बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएको उनको भनाइ छ ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद आचार्यले बाढी प्रभावित नागरिकलाई जतिसक्दो छिटो उद्धार गर्न सरकारसँग आग्रह गरे । सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने उनले बताए ।

उनका अनुसार प्रभावित क्षेत्रमा नागरिक त्रसित छन् । धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेका छन् । टेलिफोन सम्पर्कसमेत अवरुद्ध भएकाले प्रभावित क्षेत्रको अवस्था बुझ्न कठिनाइ भइरहेको उनले बताए ।

‘अहिले त्यहाँका आम नागरिक एकदमै त्रसित छन् । सोचेको र अनुमान गरेको भन्दा पनि धेरै ठूलो क्षति भएको छ । धेरै परिवारका सदस्य सम्पर्कविहीन भएपछि परिवारजन आत्तिनुभएको छ,’ उनले भने, ‘टेलिफोन कनेक्सन पनि छैन । अब त्यहाँ सडकबाट जान सकिने अवस्था छैन। त्यसैले हवाई माध्यमबाट गएर उद्धार गर्न र सक्दो सहयोग गर्नुपर्छ ।’

आचार्यले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएपछि बाढी आएको हो । बाढीले रसुवाका टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजारलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

टेलिफोन सम्पर्क विच्छेद भएकाले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको उनले जानकारी दिए ।

Share News