काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपालले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि टोली परिचालन गर्ने तयारी गरेको छ ।
युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङको नेतृत्वमा प्रारम्भिक टोली प्रभावित क्षेत्रतर्फ जान लागेको हो । अध्यक्ष गुरुङका अनुसार पहिलो चरणमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी त्यहाँको वास्तविक अवस्था र आवश्यकताको पहिचान गरिनेछ ।
अनुगमनपछि प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा थप टोली परिचालन गरी उद्धार तथा राहत कार्यमा खटाइने युवा संघले जनाएको छ । आवश्यकताअनुसार विभिन्न समूह बनाएर स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन स्थानीय पार्टी नेतृत्व, जनप्रतिनिधि र सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको गुरुङले जानकारी दिए ।
उनका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले युवा संघले स्वयंसेवक परिचालनदेखि राहत सामग्री व्यवस्थापनसम्मको तयारी गरिरहेको छ ।