काठमाडौं । नुवाकोटको केन्द्रीय कारागारमा क्षति भएको छ। कारागारको दुई वटा पर्खाल भत्किएर मरुभूमि जस्तै भएको कारागार प्रशासक भेषबहादुर कुँवरले बताएका छन् ।
'नयाँ कारागारमा एक मान्छे अग्लो हिलोको लेदो छिरेको छ,’ उनले भने,’ कारागारको बाहिर र भित्रको पर्खाल भत्काएको छ ।'
जनपद प्रहरी र शसस्त्र प्रहरीको ब्यारेकमा हिलो पसेर पुरै क्षति भएको कुँवरले बताए । प्रहरीहरू र कैदीबन्दी सबै जना सुरक्षित रहेको उनले जानकारी दिए ।
'तीन जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पुनः फर्काएर ल्याएका छौँ,'उनले भने,' अहिले सबै कैदीबन्दीलाई सुरक्षित स्थानमा सारिरहेका छौँ ।'
कारागारमा विद्युतको लाइन गएको र अधिकांश संरचनामा क्षति भएको कुँवरले जानकारी दिए ।
कारागारमा ९ सय २२ जना कैदीबन्दी छन् । बालसुधारगृहतर्फ १ सय ३८ जना बालबालिका रहेका छन् ।
बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ ।