रसुवा बाढी अपडेटः १३ घाइतेलाई काठमाडौं ल्याइयो
काठमाडौं । रसुवाको बाढीमा परे घाइते भएका १३ जनालाई उपचार गर्न काठमाडौं ल्याइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले बाढीमा घाइते भएकाले काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार थालिएको जानकारी दिए । उनका अनुसार घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार थालिएको छ । तीन जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनालाई त्रिवि शिक्षणमा राखेर उपचार सुरू भएको छ ।
बाढीपछि कांग्रेसका पूर्वनिर्धारित कार्यक्रम स्थगित, उद्धार र राहतमा जुट्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी त्रिशूली बाढीबाट ठूलो जनधनको क्षति भएपछि पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्दै उद्धार तथा राहतमा केन्द्रित हुने निर्णय गरेको छ । बाढीबाट विभिन्न क्षेत्रमा जनधनको क्षति भएको विवरण आएपछि कांग्रेसले बुधबार केन्द्रीय कार्यालय सानेपामा आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकमा सभापति गगन थापाले केही दिनका लागि पार्टीका सबै राजनीतिक तथा सांगठनिक कार्यक्रम स्थगित गरी विपद् व्यवस्थापन, उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । सभापति थापाले बाढीबाट ठूलो क्षति भएको भए पनि क्षतिको विस्तृत विवरण अझै प्राप्त भइनसकेको बैठकलाई जानकारी गराए । विपद्को समयमा राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको भन्दै उनले सरकारलाई आवश्यक सहयोग गर्न पार्टी तयार रहेको बताए । ‘यसबेला हामी सबै राजनीतिक दल एकजुट हुनुपर्छ । सरकारलाई नै यो बेला सबैले सहयोग गर्नुपर्छ,’ थापाले भने, ‘घटनापछि संसदीय दलका नेता, रसुवाका सांसदलगायतले सरकारले बोलाएको बैठकमा पुगेर सरकारलाई सम्पूर्ण रूपमा साथ र सहयोग रहने कुरा बताइसक्नुभएको छ ।’ कांग्रेसले स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका पार्टी नेता–कार्यकर्ता तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आफू सुरक्षित रहँदै उद्धार तथा राहतका काममा परिचालन हुन निर्देशन दिएका छन् । ‘जसले जहाँ जे सक्छ, त्यहीँबाट समन्वय गर्ने, उद्धार र राहतमा खटिन साथीहरूलाई भनेका छौं,’ थापाले भने ।
नुवाकोटको त्रिशूली बहुमुखी क्याम्पसमा हुने परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले नुवाकोटको त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली परीक्षा केन्द्रमा हुने स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयको व्यवस्थापन संकायकासहायक डीन डा. भरत राईका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण भदौ ११ गतेका लागि निर्धारित इन्टरनेशनल विजनेश (एमजीटी–५२२) विषयको परीक्षा स्थगित गरिएको हो । उक्त परीक्षा केन्द्रका लागि मात्रै परीक्षा स्थगित गरिएको र अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा सञ्चालन नहुने त्रिविले जनाएको छ । स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र जनाएको छ । तर, त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसबाहेकका अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने व्यवस्थापन संकायले जनाएको छ ।
रसुवा बाढीपछि ऊर्जा मन्त्रीको ‘हाई अलर्ट’, उद्धार र पुनःस्थापनालाई तीव्र बनाउन निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार बिहान बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्री श्रेष्ठले मन्त्रालयमा वरिष्ठ व्यवस्थापन समूह (एसएमटी)को बैठक बोलाएर घटनाको प्रारम्भिक अवस्थाबारे जानकारी लिएका थिए । बैठकमा उनले विपदमा परेका कर्मचारी, मजदूर तथा आममानिसको उद्धार तथा पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न, गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न तथा प्रभावित क्षेत्रमा तत्काल संयन्त्र परिचालन गर्न निर्देशन दिए । मन्त्री श्रेष्ठले विपद्सम्बन्धी सूचना व्यवस्थित र शीघ्र प्रवाह गर्न मन्त्रालय सक्रिय रहनुपर्ने बताउँदै ऊर्जा तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी पुनःस्थापनाका काम अघि बढाउन निर्देशन दिएका छन् । साथै, काठमाडौं उपत्यकासहित देशभर विद्युत् आपूर्तिलाई नियमित, सुरक्षित र दिगो बनाइराख्न आवश्यक वैकल्पिक तथा आकस्मिक व्यवस्थाका लागि समेत तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बाढीबाट सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको अवस्था पहिचान गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले उद्धार कार्यमा सात वटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाइसकेको छ भने थप १४ वटा सवारीसाधनलाई तयारी अवस्थामा राखिएको छ । त्यस्तै हवाई उद्दारका लागि समन्वय गरिरहेको जनाएको छ । उद्धार तथा समन्वयका लागि मन्त्रालयका सहसचिवसमेत प्रभावित क्षेत्रमा खटिएका छन् । बाढीका कारण रसुवा जिल्लामा सञ्चालनमा रहेका पाँच तथा निर्माणाधीन तीन गरी आठ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २३६ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३४२.४२ मेगावाट रहेको छ । प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना रहेका छन् । त्यसैगरी, नुवाकोटमा सञ्चालनमा रहेका चार तथा निर्माणाधीन दुई गरी छ वटा आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता सञ्चालनतर्फ १२३ मेगावाट र निर्माणाधीनतर्फ ५२.६ मेगावाट रहेको छ । प्रभावित आयोजनामा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिडल त्रिशूली गंगा तथा २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन् । विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ । प्रभावित संरचनाको अवस्था मूल्यांकन गर्दै सम्भव भएसम्म विद्युत् सेवा तत्काल पुनःस्थापना गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । बाढीको जोखिमबारे तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना उपलब्ध गराउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाएको छ । यद्यपि, बाढीबाट केन्द्रले जडान गरेका गेज स्टेसनलगायत केही संरचनामा समेत क्षति पुगेकाले थप जोखिमसम्बन्धी सूचना प्रवाहमा कठिनाइ उत्पन्न भएको छ । यसैबीच, मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)सँग पनि छलफल गरी बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षति, प्रभावित जनशक्तिको उद्धार तथा आयोजना पुनःस्थापनाका विषयमा जानकारी लिएको छ । छलफलमा निजी क्षेत्रका आयोजनाको क्षतिको विवरण शीघ्र संकलन गर्ने र पुनःस्थापनाका लागि आवश्यक समन्वय अघि बढाउने विषयमा समेत छलफल भएको छ । मन्त्रालयका अनुसार प्रभावित आयोजनाको विस्तृत क्षति विवरण संकलन तथा प्राविधिक मूल्यांकन सम्बन्धित निकायबाट भइरहेको छ । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि पुनःस्थापनाका लागि आवश्यक कार्ययोजना सार्वजनिक गर्दै अघि बढाउनेछ । क्षतिको समग्र विवरण संकलन तथा मूल्यांकनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति समेत गठन गरिएको मन्त्रालयले जनाएको छ ।
रसुवा बाढी : प्रभावित व्यवसायीलाई सहजीकरण गर्न नाडाको अनुरोध
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै त्यसको प्रशंसा गरेको छ । साथै विपद्को यस घडीमा सरकार र प्रभावित नागरिकसँग नाडा साथमा रहेको जनाएको छ । नाडाका अनुसार रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापारिक मार्ग तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो । बाढीका कारण नाडामा आबद्ध व्यवसायीका सवारीसाधन तथा सामान भन्सार क्षेत्रमा प्रभावित भएको प्रारम्भिक जानकारी आएको भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाएको छ । सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा पुगेको क्षतिले सवारीसाधन आयात र समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पर्न सक्ने भन्दै नाडाले घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न सरकारसँग आग्रह गरेको छ । नाडाले बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गर्न, सुरक्षित आवागमनको वातावरण बनाउन र रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधि छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यस्तै, सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न पनि नाडाले सरकारसँग अनुरोध गरेको छ । नाडाले क्षतिग्रस्त सवारीसाधनको पहिचान, मूल्यांकन, बीमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रिया विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने धारणा राखेको छ । विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै नाडाले राहत, उद्धार तथा पुनःस्थापनामा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्न आफू तयार रहेको जनाएको छ ।
२९१ विदेशीसहित ३८४ जना पर्यटक सम्पर्कविहीन (विवरणसहित)
काठमाडौं । बुधबार बिहान रसुवामा आएको ठुलो बाढीका कारण ३८४ जना पर्यटक तथा यात्रुहरू सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले जारी गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन् । बोर्डका अनुसार विभिन्न १० वटा एजेन्सीमार्फत यात्रामा निस्किएका पर्यटकहरू सम्पर्कविहीन भएका हुन् । जसमा सम्राट टुर एण्ड ट्राभल्सबाट यात्रामा निस्किएका ५९ भारतीय र १२ नेपालीसहित कुल ७१ जना सम्पर्कविहीन छन् । त्यस्तै, काठमाडौं होलिडे टुर एण्ड ट्राभल्सबाट २ विदेशी (१ अष्ट्रेलिया, १ नेदरल्यान्ड्स) र १५ नेपालीसहित कुल १७ जना छन् । लीफ होलिडेबाट ४६ भारतीय र ९ नेपालीसहित कुल ५५ जना, कैलाश जर्नीबाट २६ विदेशी र ५ नेपालीसहित कुल ३१ जना सम्पर्कविहीन छन् । ट्रेकर्स सोसाइटीबाट ७७ विदेशी र १५ नेपालीसहित कुल ९२ जना, हिमालयन ग्लेशियरबाट ३७ गैर–आवासीय भारतीय र १५ नेपालीसहित कुल ५२ जना, फिसटेल टुर एण्ड ट्राभल्सबाट यात्रामा हिँडेका २० विदेशी (१७ मलेसिया, ३ अमेरिका) र ७ नेपालीसहित कुल २७ जना सम्पर्कविहीन छन् । त्यसैगरी, अल्पाइन इको ट्रेकबाट १६ विदेशी (१२ बेलायत, ४ दक्षिण अफ्रिका) र ४ नेपालीसहित कुल २० जना, रिचा टुर एण्ड ट्राभल्सः ८ विदेशी र ४ नेपालीसहित कुल १२ जना र एक्सप्लोर भेकेसनबाट यात्रामा हिँडेका ७ जना नेपाली सम्पर्कविहीन छन् । बोर्डले स्थानीय प्रशासन, प्रहरी, गाइड तथा सम्बन्धित एजेन्सीहरूसँग समन्वय गरी तथ्याङ्कको थप पुष्टि गर्ने कार्य भइरहेको जनाएको छ । बोर्डले प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण पर्यटकहरूलाई धैर्यता कायम राख्न र आधिकारिक सुरक्षा निर्देशनहरूको पालना गर्न अपिल गरेको छ ।
नाटाको रसुवा बाढी पीडितलाई लक्षित गर्दै ‘राहत तथा विपद व्यवस्थापन’ कोष स्थापना
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ‘नाट्टा विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गरेको छ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुखः व्यक्त गर्दै राहत कोष निर्णय गरेको हो । सदस्य संस्था, पर्यटन व्यवसायी तथा शुभेच्छुकबाट आर्थिक सहयोग तथा अत्यावश्यक राहत सामग्री संकलन गर्ने निर्णय गरेको छ। नाट्टाले बाढी प्रभावित क्षेत्रमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरेको हो। नाट्टा गण्डकी प्रदेशको ३१ औँ साधारणसभाका क्रममा बसेको नाट्टा कार्यसमितिको आकस्मिक बैठकले उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्णयसमेत गरेको छ। बैठकले बाढी प्रभावित नागरिक तथा पर्यटकको उद्धार, उपचार र सुरक्षित स्थानान्तरणका लागि सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय गर्ने निर्णय गरेको छ। नाट्टाले राहत कोषका लागि सनराइज बैंकमा रहेको खाता नम्बर ००२१०२५०७७२०११ सञ्चालनमा ल्याउने जनाएको छ। यसैगरी, उद्धार तथा राहत कार्यमा आवश्यकताअनुसार नाट्टाका सदस्य संस्थाअन्तर्गत रहेका पर्यटक बस, जीप तथा अन्य सवारीसाधन परिचालन गर्ने निर्णय गरिएको छ। बाढीका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई तत्काल सहायता र समन्वय गर्न २४ घण्टे पर्यटक सहायता आकस्मिक कक्ष सञ्चालनमा ल्याउने पनि नाट्टाले जनाएको छ। राहत तथा उद्धार कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन नाट्टाको नेतृत्वमा ‘विपद् राहत तथा समन्वय समिति’ गठन गर्ने निर्णयसमेत भएको छ। नाट्टाले विषम परिस्थितिमा आफ्ना सदस्य संस्था, पर्यटन व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो तर्फबाट उद्धार तथा राहत अभियानमा स्व: स्फुर्त सहयोग गर्न आग्रह गरेको छ। साथै, उच्च जोखिमयुक्त क्षेत्रमा हाललाई यात्रा नगर्न तथा नगराउन र आधिकारिक निकायबाट जारी गरिएका सूचनालाई मात्र आधार मानेर यात्रा गर्न सम्पूर्ण सरोकारवालालाई अपिल गरेको छ।
३५ अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार २३ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार चिलिमे हाइड्रोपावरको भएको छ । चिलिमेको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सानिमा मिडलको १९ करोड, साहस ऊर्जाको १६ करोड, सोलु हाइड्रोको १५ करोड र रिडि पावरको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेप्सेमा बुधबारकाे कारोबारमा सबै उपसूचकहरू घटेका छन् । सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखिएको छ । यो समूहको उपसूचक ४०४.०५ अंक अर्थात् ३.९० प्रतिशतले घटेर ९ हजार ९३५.५९ विन्दुमा झरेको छ । यस्तै, जलविद्युत् उपसूचक १०४.३३ अंक अर्थात् २.८४ प्रतिशतले घटेर ३ हजार ५६१.२८ विन्दुमा सीमित भएको छ । जीवन बीमा उपसूचक पनि १७५.१३ अंकले घट्दै ११ हजार ३१३.१४ विन्दुमा पुगेको छ । लगानी समूह १.२८ प्रतिशत, अन्य समूह १.४६ प्रतिशत, वित्त समूह १.१० प्रतिशत तथा लघुवित्त समूह ०.९७ प्रतिशतले घटेका छन् । विकास बैंक उपसूचक ४५.९१ अंकले घट्दा बैंकिङ उपसूचक ११.०८ अंकले ओरालो लागेको छ । होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.६१ प्रतिशतले घटेका छन् । कारोबार समूहमा भने सामान्य गिरावट देखिएको छ । यो उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।