काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले गहिरो दुःख व्यक्त गरेको छ ।
नाइमाले प्रारम्भिक विवरणअनुसार बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचनालगायत महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको जनाएको छ ।
बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन् । घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने नाइमाले जनाएको छ ।
नाइमाले बाढीबाट प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गरेको छ । साथै, खोज, उद्धार तथा राहतमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा अझै जोखिम हुन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
उसले सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।
नाइमाले कठिन परिस्थितिमा प्रभावित समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न तयार रहेको जनाएको छ । साथै, प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ ।