काठमाडौं । बाढीमा घाइते भएकाहरूका उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरमा सय वटा शय्या घाइतेका लागि छुट्याइएको छ ।
बाढीमा घाइते भएकाहरूको उपचार गर्न चिकित्सकहरू तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना डाक्टर र २ जना नर्स प्रस्थान गरेका छन् । स्काउटबाट पाँच जना डाक्टर र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा छन् ।
स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी भइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने गरी आधारभूत औषधि र २४ स्क्वायर फिटका १५ वटा टेन्ट पनि पठाउने तयारी गरिसकेको छ ।
प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ । प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ ।
हाल नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन् । आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५मा सम्पर्क गर्न सकिन्छ ।
बुधबार बिहान ९ बजे रसुवामा आएको बाढीले क्षति गरेको छ ।