काठमाडौं । नेपालको हवाई उडान क्षेत्रलाई अझ सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ ‘१३औं एभिएसन सेफ्टी क्याम्पेन’ बुधबार (आज)देखि सुरु भएको छ । उक्त क्याम्पिएन वायुसेवा सञ्चालक संघको आयोजनामा आजदेखि सुरु भएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेशराज पौडेलले कार्यक्रमको औपचारिक उद्घाटन गरे ।
पर्यटनमन्त्री पौडेलले दुई दिने तालिम तथा अभियानले वायु सेवा कम्पनीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
हरेक दुर्घटनापछि अन्तिममा पाइलटको टाउकोमा मात्र दोष थुपार्ने प्रवृत्ति रहेको उल्लेख गरे । उनले संसारका सबै कमजोरीहरू मानवीय कमजोरी नै भएको औंल्याए ।
मन्त्री पौडेलले भने, ‘मेसिनले आफै गल्ती गर्दैन, यदि मेसिनले गल्ती गर्यो भने पनि त्यो बनाउने वा समयमा मर्मतसम्भार नगर्ने मान्छेकै कमजोरी हो ।’
मन्त्री पौडेलले आफ्ना कमजोरीहरू सुधार्दै आफूलाई परिष्कृत गर्दै र लापरवाहीलाई न्यूनीकरण गर्दै लगेमा मात्रै नेपाली आकाश सुरक्षित हुन सक्ने अभिव्यक्ति दिएका छन् ।
दुई दिनसम्म चल्ने यस क्याम्पेनमा नेपालमा सेफ्टी म्यानेजमेन्ट सिस्टमका चुनौतीहरू, मर्मतसम्भारमा हुने त्रुटि, हेलिकप्टरको इन्जिन सेफ्टी म्यानेजमेन्ट सिस्टम, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स कार्यान्वयन, नियामक ढाँचा तथा भविष्यको नियमन प्रणालीलगायतका महत्त्वपूर्ण विषयहरूमा गहन छलफल र प्रस्तुतीकरण हुने आयोजकले जनाएको छ ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रताप जंग पाण्डेले हवाई सुरक्षालाई कागजमा मात्र सीमित नराखेर व्यावहारिक रूपमा ‘सेफ्टी कल्चर’ र ‘सेफ्टी म्यानेजमेन्ट सिस्टम’ लागू गर्नुपर्नेमा विशेष जोड दिएका छन् । नेपालमा हुने धेरैजसो हवाई दुर्घटनाको मुख्य कारण इन–रुटको मौसम सम्बन्धी सही जानकारी नहुनु रहेको उनको भनाइ थियो।
अध्यक्ष पाण्डेले नेपाल अझै पनि युरोपेली संघ को हवाई सुरक्षा सूचीमा रहेको उल्लेख गर्दै त्यसबाट बाहिरिनका लागि समयसीमा तोकेरै अभियान चलाइरहेको जानकारी दिए । यस कार्यमा निजी क्षेत्रले पनि पूर्ण सहकार्य गरिरहेको उनले बताए।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोललेसंघले आयोजना गर्दै आएको सेफ्टी क्याम्पेनको महत्व ठूलो रहेको बताए ।
‘संघले प्राधिकरण र मन्त्रालयसँग मिलेर वर्षौंदेखि अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘यसले हवाई सुरक्षाको महत्वलाई अगाडि बढाउने काम गरेको छ ।’
महानिर्देशक डंगोलले एभिएसन क्षेत्रमा जोडिएका सबैका लागि उडान सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए । विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले नेपालको हवाई सुरक्षाका विषयमा प्रश्न उठाइरहेको अवस्थामा केही न केही ठोस सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याएका छन् ।
हवाई सुरक्षालाई अब अक्षरमा मात्र नभई कार्यान्वयनको तहमा लैजान प्राधिकरणले काम अगाडि बढाएको उनले जानकारी दिए ।
महानिर्देशक डंगोलले यस वर्षदेखि क्यानले ‘फ्लाइट डाटा मोनिटरिङ’ र ‘फ्लाइट डाटा एनालाइसिस’ को कार्यक्रमलाई बजेटमै प्राथमिकताका साथ राखेर अघि बढाएको उल्लेख गरे । यसमा सम्पूर्ण एयरलाइन्स अपरेटरहरूबाट पूर्ण साथ र सहयोगको अपेक्षा उनले गरेका छन् ।