विकासन्युज

एमालेको माग : भोटेकोशी बाढीमा उद्धार तीव्र पार्दै राहत प्याकेज घोषणा गरियोस्

काठमाडौं । नेकपा एमालेले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ । एमालेले बाढीका कारण जोखिममा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावितको पुनर्स्थापना प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा बाढीमा फसेकाहरूको तत्काल उद्धार, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितलाई शीघ्र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको हो । एमालेले विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल संकलन गर्न सरकारका सबै विपद् व्यवस्थापन संयन्त्र परिचालन गर्न माग गरेको छ । साथै, तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । ‘मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्न विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू अविलम्ब परिचालन गर्न र तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । एमालेले विपद्को कठिन परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ । जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ–संस्था तथा आमनागरिकलाई उद्धार तथा राहतमा एकताबद्ध भएर जुट्न पनि पार्टीले अपिल गरेको छ । पार्टीले आफ्ना नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल पुगेर खोजी, उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी मानवीय सहायता अभियानलाई प्रभावकारी बनाउनसमेत एमालेले आग्रह गरेको छ । एमालेले सरकारले कुनै पनि बहानामा उद्धार तथा राहतमा ढिलाइ गर्न नहुने जनाएको छ । प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, औषधि तथा अन्य राहत सामग्री तत्काल पुर्‍याउन र उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरेको छ ।

बाढीबाट क्षति पुगेको सम्पत्तिको दाबी लिन सिद्धार्थ प्रिमियरको आग्रह

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (एसपीआईएल)ले रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सबै नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ । बाढीका कारण भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा क्षति पुगेको भन्दै कम्पनीले कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमितको साथमा रहेको जनाएको छ । बीमाबाट संरक्षण भएका सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न बीमा क्षेत्र प्रतिबद्ध रहेको उल्लेख गर्दै कम्पनीले प्राकृतिक विपद्बाट बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेका बीमितलाई यथाशीघ्र कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । कम्पनीले बाढीबाट क्षति पुगेका बीमितको दाबी भुक्तानी प्रक्रियामा आवश्यक सहजीकरण गर्ने जनाएको छ । एसपीआईएलले आफ्ना बीमा सेवा लिएका ग्राहकलाई बाढीबाट भएको क्षतिको विवरण उपलब्ध गराउनसमेत आग्रह गरेको छ । कम्पनीले ग्राहकलाई तोकिएका सम्पर्क नम्बर वा इमेलमार्फत क्षतिको जानकारी गराउन अनुरोध गरेको छ । क्षतिको विवरणका लागि सुबोध कर्माचार्यको ९८५१३६५२७२ तथा [email protected], अमिता त्रिपाठीको ९८५१३६५२६९ तथा [email protected], आदर्श श्रेष्ठको ९८५१२२५९०१ तथा [email protected] र गिरीश दाहालको ९८५१२०१४२४ तथा [email protected] मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

हिमालयन बैंकको बेत्रावती शाखा बगायो, एक कर्मचारी सम्पर्क विहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण हिमालयन बैंकको बेत्रावती शाखा पूर्णरूपमा बगाएको छ । शाखा रहेको भवन नै बाढीले बगाएपछि त्यहाँ कार्यरत एक कर्मचारी सम्पर्क विहीन भएका छन् । हिमालयन बैंकका अनुसार शाखामा कार्यरत चार जना कर्मचारीमध्ये तीन जना बाढीबाट जोगिन डाँडातर्फ गएर सुरक्षित भएका छन् । एक जना कर्मचारी भने घरको माथिल्लो भागमा चढेका थिए । उनीसँग हाल सम्पर्क हुन नसकेको बैंकले जनाएको छ । सम्पर्क विहीन कर्मचारीको परिवारलाई समेत घटनाबारे जानकारी गराइएको बैंकले जनाएको छ । शाखा कार्यालय नै बाढीले बगाएका कारण कर्मचारी सम्पर्क विहीन भएको बैंकको भनाइ छ । बेत्रावती शाखामा करिब २० देखि २५ करोड रुपैयाँ कर्जा लगानी रहेको र ५० देखि ६० करोड रुपैयाँ निक्षेप रहेको बैंकले जनाएको छ । शाखाको भल्टसमेत बाढीले बगाएको बताइएको छ । यसैगरी, बैंकको त्रिशूली शाखामा भने बाढीको खासै असर परेको छैन । उक्त शाखाका सबै कर्मचारी र शाखा कार्यालय सुरक्षित रहेको बैंकले जनाएको छ ।

पोखरा १३ का अध्यक्ष बरालले बाँकी समयको पारिश्रमिक नलिने, बाढी राहत कोषमा जम्मा गर्ने

काठमाडौं । पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बाँकी कार्यावधिको पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले बुधबार रसुवामा गएको बाढीले धनजनको क्षति गरेकाले सरकारको राहत कोषमा पारिश्रमिक जम्मा गरिदिने र बाँकी कार्यकाल समयको मासिक तलब नलिने घोषणा गरेका हुन् । बरालले प्रभावित र पीडित परिवारलाई तत्काल राहत तथा सहयोगको आवश्यकता रहेको भन्दै आजदेखि प्राप्त हुने आफ्नो मासिक पारिश्रमिक सरकारी राहत कोषमा योगदान गर्ने निर्णय गरेको बताएका हुन्।  उनले आफ्नो सानो योगदान विपद्मा परेका तथा वास्तविक रूपमा राहतको आवश्यकता भएका नागरिकसम्म पुग्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। ‘जनप्रतिनिधिको पद केवल सेवा, सुविधा र अधिकारका लागि मात्र होइन, जनताको दुःखमा साथ दिन र आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि पनि हो,’ अध्यक्ष बरालले भनेका छन्।  बरालले विपद्को कठिन घडीमा सम्पूर्ण नेपालीलाई एकजुट भएर पीडित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न अपिलसमेत गरेका छन्। ‘मेरो सानो योगदान विपद्मा परेका नागरिकका लागि ठूलो आशा बन्न सकोस्,’ उनले भनेका छन्।  बराल २०७९ जेठको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा ६ जना कर्मचारी कार्यरत थिए । बैंकका अनुसार ६ जनामध्ये एक जना कर्मचारीसँग मात्रै सम्पर्क भएको छ । उनी भागेर सुरक्षित हुन सफल भएका हुन् । बाँकी ४ जना कर्मचारी र एक जना सुरक्षाकर्मीसँग भने अझै सम्पर्क हुन सकेको छैन । सम्पर्क विहीन कर्मचारी तथा सुरक्षाकर्मीको खोजी कार्य जारी रहेको बैंकले जनाएको छ । यसैगरी, बैंकको नुवाकोटस्थित बट्टार शाखामा भने बाढीको कुनै असर नपरेको बैंकले जनाएको छ ।

बाढीसँगै हाइड्रोपावरका ड्याम फुट्दा रसुवामा ठूलो क्षति, एकै गाउँका १८ जना बेपत्ता

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।  बाढीसँगै माथिल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका ड्यामसमेत फुट्दा क्षति थप भयावह बनेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । उत्तरगया गाउँपालिकाका प्रवक्ता टुकु प्रसाद सुवेदीका अनुसार बाढी आउँदा स्थानीयवासीलाई पूर्वसूचना दिइए पनि बाढीको वास्तविक आकार र तीव्रताको अनुमान गर्न नसक्दा ठूलो क्षति भएको हो । ‘त्यतिबेला यहाँ घाम लागिरहेको थियो । माथिबाट बाढी आउँदैछ भन्ने खबर आयो । हामीले सबैलाई खबर ग‍र्यौं, तर यति ठूलो बाढी आउँछ भन्ने अनुमान थिएन,’ सुवेदीले भने, ‘बाढीसँगै वरपर रहेका हाइड्रोपावरका ड्याम फुटेपछि खोलाकिनारका मानिसले भाग्ने ठाउँसमेत पाएनन् । उनीहरूलाई खोलाले बगायो ।’ उनका अनुसार उत्तरगया गाउँपालिकाका पाँच वडा बाढीबाट अत्यधिक प्रभावित भएका छन् ।  एक वडाको एउटा गाउँमा मात्रै १८ जना बेपत्ता भएको विवरण प्राप्त भएको उनले बताए । ‘एउटा गाउँमा मात्रै १८ जना बेपत्ता भएको पाइएको छ । उद्धारका लागि रेडक्रस र नेपाली सेना खटिनुभएको छ,’ उनले भने, ‘पुलहरू सबै बगाएका छन् । फोनसमेत लागिरहेको छैन । त्यसैले थप कति मानिस प्रभावित भए भन्ने यकिन गर्न सकिएको छैन ।’ बाढीले सडक, पुल तथा सञ्चार संरचनामा समेत ठूलो क्षति पु‍र्याएकाले प्रभावित क्षेत्रमा उद्धार र क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ । यसैबीच, जल तथा मौसम विज्ञान विभागले चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार रसुवाको माथिल्लो क्षेत्रमा रहेको ठूलो पानीको ड्याम अझै पूर्ण रूपमा नखुलेको जनाएको छ ।  ड्याम पूर्ण रूपमा नखुलेका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहेको विभागले जनाएको छ । विभागले अर्को सूचना जारी नभएसम्म तटीय क्षेत्रका बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई उच्च सतर्कता अपनाउन तथा नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

रसुवा बाढी अपडेट : १८ जनाको मृत्यु

काठमाडौं ।  रसुवाको बाढीमा परेर १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजे आएको बाढीमा परेर १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।  रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवं गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं । विपद् ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०:३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप २५ अर्बसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए। दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्री के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत अन्य वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याइने तयारी भइरहेको बताए । यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् । छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तरसरकारी समन्वय गरी सहयोगको मोडालिटीका सन्दर्भमा छलफल भइरहेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि घरेलु तथा बाह्य सहयोग जुटाउने बाटो खुलेको हो ।