काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ‘नाट्टा विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गरेको छ ।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुखः व्यक्त गर्दै राहत कोष निर्णय गरेको हो ।
सदस्य संस्था, पर्यटन व्यवसायी तथा शुभेच्छुकबाट आर्थिक सहयोग तथा अत्यावश्यक राहत सामग्री संकलन गर्ने निर्णय गरेको छ।
नाट्टाले बाढी प्रभावित क्षेत्रमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न आग्रह गरेको हो।
नाट्टा गण्डकी प्रदेशको ३१ औँ साधारणसभाका क्रममा बसेको नाट्टा कार्यसमितिको आकस्मिक बैठकले उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्णयसमेत गरेको छ।
बैठकले बाढी प्रभावित नागरिक तथा पर्यटकको उद्धार, उपचार र सुरक्षित स्थानान्तरणका लागि सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय गर्ने निर्णय गरेको छ।
नाट्टाले राहत कोषका लागि सनराइज बैंकमा रहेको खाता नम्बर ००२१०२५०७७२०११ सञ्चालनमा ल्याउने जनाएको छ।
यसैगरी, उद्धार तथा राहत कार्यमा आवश्यकताअनुसार नाट्टाका सदस्य संस्थाअन्तर्गत रहेका पर्यटक बस, जीप तथा अन्य सवारीसाधन परिचालन गर्ने निर्णय गरिएको छ।
बाढीका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई तत्काल सहायता र समन्वय गर्न २४ घण्टे पर्यटक सहायता आकस्मिक कक्ष सञ्चालनमा ल्याउने पनि नाट्टाले जनाएको छ।
राहत तथा उद्धार कार्यलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन नाट्टाको नेतृत्वमा ‘विपद् राहत तथा समन्वय समिति’ गठन गर्ने निर्णयसमेत भएको छ।
नाट्टाले विषम परिस्थितिमा आफ्ना सदस्य संस्था, पर्यटन व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो तर्फबाट उद्धार तथा राहत अभियानमा स्व: स्फुर्त सहयोग गर्न आग्रह गरेको छ।
साथै, उच्च जोखिमयुक्त क्षेत्रमा हाललाई यात्रा नगर्न तथा नगराउन र आधिकारिक निकायबाट जारी गरिएका सूचनालाई मात्र आधार मानेर यात्रा गर्न सम्पूर्ण सरोकारवालालाई अपिल गरेको छ।