काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै त्यसको प्रशंसा गरेको छ । साथै विपद्को यस घडीमा सरकार र प्रभावित नागरिकसँग नाडा साथमा रहेको जनाएको छ ।
नाडाका अनुसार रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापारिक मार्ग तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो । बाढीका कारण नाडामा आबद्ध व्यवसायीका सवारीसाधन तथा सामान भन्सार क्षेत्रमा प्रभावित भएको प्रारम्भिक जानकारी आएको भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।
सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा पुगेको क्षतिले सवारीसाधन आयात र समग्र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पर्न सक्ने भन्दै नाडाले घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न सरकारसँग आग्रह गरेको छ ।
नाडाले बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको यथाशीघ्र पुनःस्थापना गर्न, सुरक्षित आवागमनको वातावरण बनाउन र रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधि छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
यस्तै, सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न पनि नाडाले सरकारसँग अनुरोध गरेको छ ।
नाडाले क्षतिग्रस्त सवारीसाधनको पहिचान, मूल्यांकन, बीमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रिया विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने धारणा राखेको छ ।
विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै नाडाले राहत, उद्धार तथा पुनःस्थापनामा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्न आफू तयार रहेको जनाएको छ ।