२९१ विदेशीसहित ३८४ जना पर्यटक सम्पर्कविहीन (विवरणसहित)

काठमाडौं । बुधबार बिहान रसुवामा आएको ठुलो बाढीका कारण ३८४ जना पर्यटक तथा यात्रुहरू सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले जारी गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेका छन् ।

बोर्डका अनुसार विभिन्न १० वटा एजेन्सीमार्फत यात्रामा निस्किएका पर्यटकहरू सम्पर्कविहीन भएका हुन् । जसमा सम्राट टुर एण्ड ट्राभल्सबाट यात्रामा निस्किएका  ५९ भारतीय र १२ नेपालीसहित कुल ७१ जना सम्पर्कविहीन छन् । 

त्यस्तै, काठमाडौं होलिडे टुर एण्ड ट्राभल्सबाट २ विदेशी (१ अष्ट्रेलिया, १ नेदरल्यान्ड्स) र १५ नेपालीसहित कुल १७ जना छन् । लीफ होलिडेबाट ४६ भारतीय र ९ नेपालीसहित कुल ५५ जना, कैलाश जर्नीबाट २६ विदेशी र ५ नेपालीसहित कुल ३१ जना सम्पर्कविहीन छन् ।

ट्रेकर्स सोसाइटीबाट ७७ विदेशी र १५ नेपालीसहित कुल ९२ जना, हिमालयन ग्लेशियरबाट ३७ गैर–आवासीय भारतीय र १५ नेपालीसहित कुल ५२ जना, फिसटेल टुर एण्ड ट्राभल्सबाट यात्रामा हिँडेका २० विदेशी (१७ मलेसिया, ३ अमेरिका) र ७ नेपालीसहित कुल २७ जना सम्पर्कविहीन छन् ।

त्यसैगरी, अल्पाइन इको ट्रेकबाट १६ विदेशी (१२ बेलायत, ४ दक्षिण अफ्रिका) र ४ नेपालीसहित कुल २० जना, रिचा टुर एण्ड ट्राभल्सः ८ विदेशी र ४ नेपालीसहित कुल १२ जना र एक्सप्लोर भेकेसनबाट यात्रामा हिँडेका ७ जना नेपाली सम्पर्कविहीन छन् । 

बोर्डले स्थानीय प्रशासन, प्रहरी, गाइड तथा सम्बन्धित एजेन्सीहरूसँग समन्वय गरी तथ्याङ्कको थप पुष्टि गर्ने कार्य भइरहेको जनाएको छ । बोर्डले प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण पर्यटकहरूलाई धैर्यता कायम राख्न र आधिकारिक सुरक्षा निर्देशनहरूको पालना गर्न अपिल गरेको छ ।

null

Share News