बाढीपीडितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग
काठमाडौं । कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । पाण्डे अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेको कालिका कन्स्ट्रक्सन प्रालिले उक्त रकम बाढीपीडितको सहयोगार्थ उपलब्ध गराएको हो । पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम हस्तान्तरण गरेका हुन् । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाण्डेले गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पाण्डेले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।
बाढीपीडितलाई रकम पठाउँदा डिजिटल कारोबारको सीमा नलाग्ने
काठमाडौं । बाढीपीडितलाई सहयोग पठाउँदा मोबाइल बैंकिङ तथा ई-मनीमार्फत हुने कारोबारमा अधिकतम सीमा लागू नहुने भएको छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग पठाउँदा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई-मनीमार्फत हुने कारोबारमा तोकिएको अधिकतम सीमा लागू नहुने नेपाल राष्ट्र बैंकले जनाएको हो । नेपाल सरकारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग परिचालन भइरहेको सन्दर्भमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार संलग्न खातामा रकम पठाउँदा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को अ.प्रा. निर्देशन नं. ५/०८२ को बुँदा नं. २ र ३ मा उल्लेखित अधिकतम कारोबार सीमा लागू हुने छैन । राष्ट्र बैंकले सोहीबमोजिम आवश्यक व्यवस्था गर्न अनुमतिपत्र प्राप्त सबै संस्थालाई निर्देशन दिएको छ । यस व्यवस्थाले बाढी तथा डुबानबाट प्रभावित नागरिकका लागि राहत कोषमा डिजिटल माध्यमबाट आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ ।
भोटेकोशी बाढी प्रभावितका लागि बीवाईडी र साइमेक्सको ७ करोड सहयोग
काठमाडौं । नेपालमा बीवाईडीका आधिकारिक वितरक साइमेक्स इंक प्रालिसँगको सहकार्यमा बीवाईडीले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बीवाईडी र साइमेक्सले बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएका छन् । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिनेछ । कम्पनीका अनुसार उक्त सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको उद्धार, उपचार, तत्काल राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसबाट प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । हालैको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । नेपाल–चीन व्यापारको प्रमुख नाका रहेको रसुवा बीवाईडीका विद्युतीय सवारीसाधन नेपाल भित्रिने महत्वपूर्ण व्यापारिक मार्गसमेत भएकाले यस क्षेत्रको विशेष महत्व रहेको कम्पनीले जनाएको छ । बीवाईडी समूहका उपाध्यक्ष तथा बीवाईडी एसिया प्रशान्त अटो बिक्री विभागका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा आएको बाढीबाट भएको क्षति र नागरिकले भोग्नुपरेको कठिन अवस्थाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रभावित परिवार, उद्धारमा खटिएका टोली र घटनास्थलमा काम गरिरहेका सबैप्रति बीवाईडीको सहानुभूति र ऐक्यबद्धता रहेको बताएका छन् । लिउले स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको सहयोगले सरकारको राहत तथा पुनर्स्थापनाको अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सामूहिक प्रयास र एकतामार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास पनि व्यक्त गरेका छन् । साइमेक्सले नेपालमा दिगो विद्युतीय यातायातको विस्तारका लागि बीवाईडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै विपद्को कठिन समयमा देश र जनतासँग उभिने साझा प्रतिबद्धताका रूपमा यो सहयोगलाई लिइएको जनाएको छ । बीवाईडी र साइमेक्सले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै प्रभावित परिवार र समुदायको शीघ्र पुनःउत्थान तथा पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
बाढी प्रभावितलाई थप तीन दिन निःशुल्क २ जीबी डाटा, भ्वाइस कल र ५० एसएमएस
काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अब उक्त सुविधा भदौ १२, १३ र १४ गतेसम्म उपलब्ध हुनेछ । यसअघि नेपाल टेलिकमले रसुवा र आसपासका प्रभावित क्षेत्रका सेवाग्राहीका लागि दुई दिन निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरेको थियो । टेलिकमले भोटेकोशी र त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको जनाएको छ । प्रभावित क्षेत्रका सेवाग्राहीलाई एसएमएसमार्फत पनि सचेतनामूलक सूचना पठाइएको कम्पनीले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकले आफ्ना आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सहज रूपमा सम्पर्क गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । बाढीका कारण कम्पनीका विभिन्न दूरसञ्चार संरचनामा क्षति पुगे पनि सेवा यथासम्भव नियमित राख्न र प्रभावित संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालित रहेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले विपद्को समयमा सेवा निरन्तरता, पूर्वसूचना, सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउने प्रयास जारी रहेको जनाएको छ ।
काठमाडौंका ६ अस्पतालमा ६६ घाइते उपचाररत, १४ डिस्चार्ज
काठमाडौं । रसुवाको बाढीमा परेर घाइते भएका ६६ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १, नर्भिक अस्पताल २ र मनमोहन अस्पतालमा १४ जना उपचाररत छन् । त्यसैगरी विभिन्न अस्पतालमा उपचार गराइरहेका १४ जना घाइते डिस्चार्ज भएका छन् । हालसम्म २ सय ७० जना शव फेला परेको प्रहरीले उल्लेख गरेको छ । २८ प्रहरीहरू सम्पर्कविहिन भएको प्रहरीले बताएको छ । उद्धार तथा राहतमा ४ हजार ५० जना प्रहरीहरू परिचालित रहेका छन् । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अपि पावरले दियो ३५ लाख
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भदौ १० गते आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको तत्काल राहत र उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । अपि पावरकी अध्यक्ष सिर्जना खड्काले यो सहयोगले प्रभावित नागरिकको खोज तथा उद्धार अभियानमा तत्काल टेवा पुग्ने विश्वास व्यक्त गरिन् । खोज तथा उद्धार कार्यपछि आवश्यकताअनुसार दीर्घकालीन पुनर्स्थापनामा पनि कम्पनी थप सहयोग गर्न तयार रहेको उनले बताइन् । कम्पनीले बाढीका कारण विभिन्न जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अपि पावरले विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसहित बेपत्ता भएका नागरिकको तत्काल खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट अधिकतम सावधानी अपनाउँदै खोज, उद्धार र राहत अभियानमा सहयोग गर्न कम्पनीले अपिल गरेको छ । हाल अपि पावरले ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजना र ६ मेगावाट क्षमताको सौर्य आयोजना सञ्चालन गरी नियमित विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले सहायक कम्पनीहरूमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा पनि लगानी र काम गर्दै आएको जनाएको छ ।
बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न एलपी ग्यास उद्योग संघको अपिल
काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सहयोग गर्न उद्योगी, व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई आग्रह गरेको छ । संघले बुधबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँलगायत विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ। अचानक आएको बाढीका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको, कैयौं बेपत्ता तथा घाइते भएको र घरबस्ती, उद्योग व्यवसाय, सडक, पुल, जलविद्युत् आयोजना, यातायातका साधन तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको भन्दै संघले दुःख व्यक्त गरेको हो । संघले बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ। आवश्यक खाद्यान्न, औषधि, खानेपानी तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाले गरिरहेको प्रयासमा सहकार्य गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ। संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न सबै उद्योगी, व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई अपिल गरेको छ। यसैगरी, प्रभावित क्षेत्रमा एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा समस्या हुन नदिन सम्बन्धित ग्यास उद्योगी, व्यवसायी तथा विक्रेतालाई आवश्यक समन्वय र सहकार्य गर्न संघले आग्रह गरेको छ।
दुई नदीको संगम नजिकै बन्यो ‘खतरनाक ताल’, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी
काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालको छोछेन खोला र प्युरेपु त्साङपो नदीको संगम नजिकै ठूलो अवरोध ताल (बेरिअर लेक) बनेको जनाएको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र ताल भरिएर पानी बाहिरिन थालेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ । सोही कारण ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ । चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ । सम्भावित रूपमा ताल फुटेमा आउन सक्ने बाढीको अवस्था पहिल्यै आकलन गर्न बाढीसम्बन्धी सिमुलेसन तथा विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ । यसबाट सम्भावित आपत्कालीन उद्धार तथा राहत कार्यका लागि आवश्यक तयारी र सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ । यसैबीच, नेपाल–चीन सीमाको नेपाली क्षेत्रमा आएको विनाशकारी पहिरो तथा बाढीले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाह (ज्यारोङ पोर्ट) मा ठूलो क्षति पुर्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न तहबाट उद्धार टोली परिचालन गरेका छन् । आपत्कालीन उद्धारकर्मी, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले विपद् प्रभावित क्षेत्रमा जनशक्ति, हेलिकप्टर तथा अन्य विमान, उपकरण र राहत सामग्री पठाइरहेका छन् । कठिन भौगोलिक अवस्था, निरन्तर भइरहेको वर्षा र थप प्राकृतिक विपद्को बढ्दो जोखिमबीच उद्धार कार्य तीव्र पारिएको छ । बिहीबार बिहानसम्म घटनामा तीन जनाको मृत्यु पुष्टि, दुई जनाको उद्धार र ५५८ जना बेपत्ता रहेको चिनियाँ पक्षले जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।