काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले भदौ १० गते आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको तत्काल राहत र उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
अपि पावरकी अध्यक्ष सिर्जना खड्काले यो सहयोगले प्रभावित नागरिकको खोज तथा उद्धार अभियानमा तत्काल टेवा पुग्ने विश्वास व्यक्त गरिन् । खोज तथा उद्धार कार्यपछि आवश्यकताअनुसार दीर्घकालीन पुनर्स्थापनामा पनि कम्पनी थप सहयोग गर्न तयार रहेको उनले बताइन् ।
कम्पनीले बाढीका कारण विभिन्न जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
अपि पावरले विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसहित बेपत्ता भएका नागरिकको तत्काल खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट अधिकतम सावधानी अपनाउँदै खोज, उद्धार र राहत अभियानमा सहयोग गर्न कम्पनीले अपिल गरेको छ ।
हाल अपि पावरले ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजना र ६ मेगावाट क्षमताको सौर्य आयोजना सञ्चालन गरी नियमित विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले सहायक कम्पनीहरूमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा पनि लगानी र काम गर्दै आएको जनाएको छ ।