बाढी प्रभावितलाई थप तीन दिन निःशुल्क २ जीबी डाटा, भ्वाइस कल र ५० एसएमएस

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ ।

कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अब उक्त सुविधा भदौ १२, १३ र १४ गतेसम्म उपलब्ध हुनेछ ।

यसअघि नेपाल टेलिकमले रसुवा र आसपासका प्रभावित क्षेत्रका सेवाग्राहीका लागि दुई दिन निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरेको थियो ।

टेलिकमले भोटेकोशी र त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको जनाएको छ । प्रभावित क्षेत्रका सेवाग्राहीलाई एसएमएसमार्फत पनि सचेतनामूलक सूचना पठाइएको कम्पनीले जनाएको छ ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकले आफ्ना आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सहज रूपमा सम्पर्क गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

बाढीका कारण कम्पनीका विभिन्न दूरसञ्चार संरचनामा क्षति पुगे पनि सेवा यथासम्भव नियमित राख्न र प्रभावित संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालित रहेको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले विपद्को समयमा सेवा निरन्तरता, पूर्वसूचना, सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउने प्रयास जारी रहेको जनाएको छ ।

Share News