काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सहयोग गर्न उद्योगी, व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई आग्रह गरेको छ ।
संघले बुधबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँलगायत विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ।
अचानक आएको बाढीका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको, कैयौं बेपत्ता तथा घाइते भएको र घरबस्ती, उद्योग व्यवसाय, सडक, पुल, जलविद्युत् आयोजना, यातायातका साधन तथा अन्य भौतिक संरचनामा गम्भीर क्षति पुगेको भन्दै संघले दुःख व्यक्त गरेको हो ।
संघले बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ। आवश्यक खाद्यान्न, औषधि, खानेपानी तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाले गरिरहेको प्रयासमा सहकार्य गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ।
संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न सबै उद्योगी, व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई अपिल गरेको छ।
यसैगरी, प्रभावित क्षेत्रमा एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा समस्या हुन नदिन सम्बन्धित ग्यास उद्योगी, व्यवसायी तथा विक्रेतालाई आवश्यक समन्वय र सहकार्य गर्न संघले आग्रह गरेको छ।