काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालको छोछेन खोला र प्युरेपु त्साङपो नदीको संगम नजिकै ठूलो अवरोध ताल (बेरिअर लेक) बनेको जनाएको छ ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र ताल भरिएर पानी बाहिरिन थालेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।
मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ ।
सोही कारण ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ ।
चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ ।
सम्भावित रूपमा ताल फुटेमा आउन सक्ने बाढीको अवस्था पहिल्यै आकलन गर्न बाढीसम्बन्धी सिमुलेसन तथा विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ ।
यसबाट सम्भावित आपत्कालीन उद्धार तथा राहत कार्यका लागि आवश्यक तयारी र सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
यसैबीच, नेपाल–चीन सीमाको नेपाली क्षेत्रमा आएको विनाशकारी पहिरो तथा बाढीले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाह (ज्यारोङ पोर्ट) मा ठूलो क्षति पुर्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न तहबाट उद्धार टोली परिचालन गरेका छन् ।
आपत्कालीन उद्धारकर्मी, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले विपद् प्रभावित क्षेत्रमा जनशक्ति, हेलिकप्टर तथा अन्य विमान, उपकरण र राहत सामग्री पठाइरहेका छन् ।
कठिन भौगोलिक अवस्था, निरन्तर भइरहेको वर्षा र थप प्राकृतिक विपद्को बढ्दो जोखिमबीच उद्धार कार्य तीव्र पारिएको छ ।
बिहीबार बिहानसम्म घटनामा तीन जनाको मृत्यु पुष्टि, दुई जनाको उद्धार र ५५८ जना बेपत्ता रहेको चिनियाँ पक्षले जनाएको छ ।
बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।