भोटेकोशी बाढी प्रभावितका लागि बीवाईडी र साइमेक्सको ७ करोड सहयोग

काठमाडौं । नेपालमा बीवाईडीका आधिकारिक वितरक साइमेक्स इंक प्रालिसँगको सहकार्यमा बीवाईडीले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

बीवाईडी र साइमेक्सले बाढी प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएका छन् । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिनेछ ।

कम्पनीका अनुसार उक्त सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको उद्धार, उपचार, तत्काल राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसबाट प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

हालैको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । नेपाल–चीन व्यापारको प्रमुख नाका रहेको रसुवा बीवाईडीका विद्युतीय सवारीसाधन नेपाल भित्रिने महत्वपूर्ण व्यापारिक मार्गसमेत भएकाले यस क्षेत्रको विशेष महत्व रहेको कम्पनीले जनाएको छ ।

बीवाईडी समूहका उपाध्यक्ष तथा बीवाईडी एसिया प्रशान्त अटो बिक्री विभागका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा आएको बाढीबाट भएको क्षति र नागरिकले भोग्नुपरेको कठिन अवस्थाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रभावित परिवार, उद्धारमा खटिएका टोली र घटनास्थलमा काम गरिरहेका सबैप्रति बीवाईडीको सहानुभूति र ऐक्यबद्धता रहेको बताएका छन् ।

लिउले स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको सहयोगले सरकारको राहत तथा पुनर्स्थापनाको अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सामूहिक प्रयास र एकतामार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास पनि व्यक्त गरेका छन् ।

साइमेक्सले नेपालमा दिगो विद्युतीय यातायातको विस्तारका लागि बीवाईडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै विपद्को कठिन समयमा देश र जनतासँग उभिने साझा प्रतिबद्धताका रूपमा यो सहयोगलाई लिइएको जनाएको छ ।

बीवाईडी र साइमेक्सले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै प्रभावित परिवार र समुदायको शीघ्र पुनःउत्थान तथा पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

Share News