विकासन्युज

सेयर होल्डिङ अवधि ४५ दिनमा झारियो, काउन्टरसाइक्लिकल बफर पनि शून्य प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै बैंकहरूको पूँजी कोष जोखिम र धितोपत्र बजार (शेयर/डिबेञ्चर) मा गर्ने लगानीसम्बन्धी नीतिमा दुई महत्त्वपूर्ण परिवर्तन गरेको छ । राष्ट्र बैंकले  सेयर लगानीको न्यूनतम अवधि ४५ दिन र काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत कायम गरेको हो ।  यसअघि ६ महिनाभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने र अल्पकालीन लगानीमा पूर्ण प्रतिबन्ध रहेकोमा नयाँ निर्देशनले ४५ दिनभन्दा बढी अवधिको होल्डिङलाई खुला गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि वाणिज्य बैंकहरूले कायम गर्नुपर्ने काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत नै रहने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा अब कम्तीमा ४५ दिनभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउनेछन् ।  नयाँ निर्देशनमा बैंकहरूले दोस्रो बजारमा सेयर, डिबेञ्चर वा अन्य उपकरणहरूमा लगानी गर्दा हुनसक्ने सट्टाबाजी जोखिम न्यूनीकरणका लागि स्पष्ट लगानी नीति तथा कार्यविधि आफ्नो सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने अनिवार्य बनाइएको छ ।  उक्त नीतिमा लगानीको दायरा, अस्विकार्य लगानी, पोर्टफोलियोलाई ‘बैंकिङ बुक’ र ‘ट्रेडिङ बुक’ मा वर्गीकरण गर्ने तरिका, स्वार्थको द्वन्द्व रोक्ने प्रक्रिया, र‘स्टप लस’ लगायत जोखिम व्यवस्थापनका मापदण्डहरू समेट्नुपर्नेछ ।  यसका अतिरिक्त, लगानीको पारदर्शी प्रतिवेदन पेस गर्नका लागि बैंकिङ बुक र ट्रेडिङ बुकका लागि छुट्टाछुट्टै नयाँ मासिक ढाँचा समेत थप गरिएको छ । सेयरको न्यूनतम होल्डिङ अवधि ४५ दिन कायम गर्नाले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो धितोपत्र पोर्टफोलियो व्यवस्थापन गर्न सहज हुनेछ । यसले दोस्रो बजारमा संस्थागत लगानीकर्ताहरूको सक्रियता बढाउनुका साथै बजारको तरलता र कारोबार रकम मा सकारात्मक सुधार ल्याउने विश्वास राष्ट्र बैंकको छ ।  ४५ दिनको लचिलो अवधिसँगै बैंकहरूले बजारको स्थिति हेरेर तुलनात्मक रूपमा छिटो नाफा सुरक्षित गर्न सक्नेछन् भने कर्जाको माग सुस्त रहेको समयमा बैंकहरूलाई सेयर तथा ऋणपत्र लगानीबाट अतिरिक्त आम्दानी गर्ने बाटो सहज बनाउनेछ  आव २०८३/८४ का लागि काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत नै राखिएकाले वाणिज्य बैंकहरूलाई थप अतिरिक्त पूँजीको भार पर्ने छैन । यसले बैंकहरूसँग उपलब्ध पूँजीलाई कर्जा विस्तार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न मद्दत गर्नेछ ।    होल्डिङ अवधि छोट्याइए तापनि राष्ट्र बैंकले सञ्चालक समितिबाट स्वीकृत लगानी नीति, जोखिम सीमा स्टप लस र ट्रेडिङ बुकको दैनिक मूल्याङ्कन अनिवार्य गरेको छ । यसले वित्तीय संस्थाहरूलाई सेयर बजारको अत्यधिक उतारचढाव वा सट्टाबाजी जोखिमबाट जोगाउनुका साथै संस्थागत सुशासन कायम राख्न मद्दत पु¥याउनेछ ।   

पाल्पामा १६१ मिलिमिटर वर्षा, देशभर बाढी-पहिरोको जोखिम

काठमाडौं । देशभर बिहीबार (आज) बिहानदेखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम बढेपछि सरकारले विभिन्न निकायमार्फत सूचना प्रवाह, माइकिङ तथा सचेतनामूलक गतिविधि तीव्र बनाएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरबीचको क्षेत्र हुँदै उत्तरपश्चिमतर्फ सर्दैछ । आगामी २४ घण्टामा उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै १६१ मिलिमिटर वर्षा मापन भएको छ । देशभर वर्षा भइरहे पनि अहिलेसम्म ठूलो खालको बाढी तथा पहिरोबाट जनधनको क्षति भएको जानकारी नआएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार केही स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको जानकारी आएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै वर्षा भएको विभागले जनाएको छ । मधेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरी चलेको छ । कस्तो छ आगामी ३ दिनको मौसम ? शुक्रबार पनि देशभर अधिकांश भू–भागमा बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । शुक्रबार रातिसमेत विभिन्न भू–भागमा वर्षाको सम्भावना कायमै रहनेछ । शनिबार र आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ । एकैदिन विपद्का २६ घटना  प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा २३ जिल्लामा विभिन्न विपद्का २६ घटना दर्ता भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु र १५ जना घाइते भएका छन् । दुई स्थानमा सडक अवरोध भएको छ । उद्धार तथा व्यवस्थापनका लागि ११३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।  भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।  वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात र उद्धार तथा राहत कार्यसमेत प्रभावित हुनसक्ने विभागको चेतावनी छ । सम्भावित विपद्का घटनालाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको सम्बन्धित निकायले जनाएको छ ।

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ । दिगो तथा हरित वित्तीय क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहकार्यले विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ । समझदारीअनुसार इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि बैंकको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ । यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र स्थानीय समुदायको उत्थानशीलता बढाउने परियोजना तथा लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एनएमबि बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री वित्तीय अभ्यास अघि बढाउँदै आएको जनाएको छ । बैंक र इसिमोडबीचको सहकार्यले विज्ञान, वित्त र दिगो विकासबीचको सम्बन्धलाई थप मजबुत बनाउने तथा नेपालमा दीर्घकालीन वातावरणमैत्री आर्थिक विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।

राजनीतिक विश्लेषक दाहाललाई रिहा गर्न सवोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न आदेश दिएको हो । दाहालकी छोरी डेनिकाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दाहाललाई रिहा गर्न आदेश दिएको हो ।  उनी असोज ४ गते मोरङको सुन्दरहरैंचा- ८ सलकपुरस्थित चिया पसलबाट पक्राउ परेका थिए । दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।  विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा दाहाललाई  पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनका बारेमा सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको आरोप छ ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको  छ ।   जिल्ला प्रशासन कार्यालय धादिङले एक जरुरी सूचना जारी गर्दै असोज ८ गते बिहीबार बेलुका ८ बजेदेखि असोज ९ गते शुक्रबार बिहान ५  बजेसम्मका लागि पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गरिएको जनाएको छ ।    जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न यो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन् ।  प्रशासनले अत्यावश्यक अवस्थाबाहेक मौसम र सडकको स्थिति नबुझी यात्रा नगर्न, पहिरोग्रस्त तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षा निकायका निर्देशनहरूको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ ।  साथै, जुनसुकै समयमा हुन सक्ने विपद् व्यवस्थापन र उद्धारका लागि जिल्ला आपत्कालीन सञ्चालन केन्द्र तथा सुरक्षा निकायका हटलाइन नम्बरहरू खुला राखिएको जनाइएको छ ।

भोटेकोशी बाढीमा ३३८ ट्रक-कन्टेनर हराए, ४४१ व्यवसायी र चालक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्क विहीन भएका छन् ।  भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैरसरकारी निकाय, निजी संघसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो । विभागले असोज २ गते सूचना जारी गर्दै सात दिनभित्र क्षतिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । विभागको उक्त आग्रहपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले असोज ५ गते विभागलाई प्रारम्भिक क्षतिको विवरण पठाएको हो । महासंघले विभिन्न सदस्य संघ, समिति तथा कम्पनीबाट संकलन गरेको विवरण विभागलाई उपलब्ध गराएको जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले भदौ १० गते बिहान चीनको तिब्बती भू-भागबाट आएको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति हुँदा मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएको बताए । उनले यातायात व्यवस्था विभागले क्षतिको यकिन विवरण संकलन गर्न आग्रह गरेपछि महासंघले सदस्य संस्थाबाट प्राप्त विवरण संकलन गरी पठाएको जानकारी दिए । विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीका २१७ वटा ट्रक तथा कन्टेनर र २५१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् । नारायणी यातायात व्यवसायी संघ हेटौँडाका ५८ वटा ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी संघ सिमराका २१ वटा सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० वटा कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । त्यसैगरी गण्डकी ट्रक व्यवसायी संघ पोखराका २१ वटा ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ वटा कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघले जनाएको छ । नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार थप विवरण संकलन हुने क्रम जारी रहेकाले बेपत्ता सवारीसाधन तथा व्यक्तिको संख्या अझै बढ्न सक्नेछ । महासंघ अध्यक्ष बाँनियाले प्राप्त विवरण प्रारम्भिक भएकाले थप तथ्याङ्क आएमा त्यसलाई समेत समेटिने बताए । उनका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण संकलनसँगै प्रभावित व्यवसायी तथा परिवारको राहत, क्षतिपूर्ति र पुनःस्थापनाका विषयमा समेत सरकारले आवश्यक पहल गर्नुपर्ने अवस्था छ । यातायात व्यवस्था विभागले पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा भदौ २६ गते यातायात व्यवसायी तथा सरोकारवालासहित बसेको बैठकको निर्णयअनुसार सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा राय-सुझावसहित प्रतिवेदन तयार गर्न समिति गठन गरेको जनाएको छ । विभागले विपद्बाट भएको क्षतिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै संस्थाहरूले आफ्नो पहिचान खुलाएर विवरण पठाउनुपर्ने र सम्भव भएसम्म तथ्याङ्कको स्रोतसमेत उल्लेख गर्नुपर्ने जनाएको थियो । महासंघले सोही आग्रहअनुसार आफू मातहतका संघ तथा समितिबाट विवरण संकलन गरी विभागमा पठाएको हो ।

ईश्वर पोखरेलसहित ७ जना स्थायी कमिटीमा, यी हुन् २२ निर्णय

काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नेतृत्व संरचना, संगठन विस्तार र समसामयिक राजनीतिक विषय समेटिएका २२ वटा निर्णय गरेको छ । ललितपुरको भनिमण्डलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।  बैठकले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता पदमा मनोनीत गर्ने निर्णयसमेत गरेको छ ।  पार्टीको नेतृत्व संरचनामा गरिएको अर्को महत्त्वपूर्ण निर्णयअन्तर्गत ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र देवराज घिमिरेसहित सात जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ । त्यस्तै, २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको छ । महासचिव शंकर पोखरेलद्वारा जारी बैठकका निर्णयसम्बन्धी वक्तव्यअनुसार केन्द्रीय कमिटीले मुलुकका समसामयिक राजनीतिक तथा राष्ट्रिय मुद्दामाथि समेत धारणा सार्वजनिक गरेको छ । बैठकले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । चार दिनसम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा, संगठनात्मक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै सम्पन्न भएको एमालेले जनाएको छ ।

सिमकार्ड र बैंक खाता प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई रकम दिने प्रलोभनमा पारी सिमकार्ड र बैंक खाता खोल्न लगाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–९ का ३५ वर्षीय सागर साह र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ का २८ वर्षीय आनन्द आचार्य छन् । प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई पैसा दिने प्रलोभनमा पारी एनसेललगायत दूरसञ्चार कम्पनीका सिमकार्ड किन्न लगाउने गरेका थिए । त्यस्तै, विभिन्न बैंकमा ई–बैंकिङ र एटीएमसहितको खाता खोल्न लगाएर सिमकार्ड, चेकबुक, एटीएम कार्ड तथा ई–बैंकिङको ओटीपी र पिन नम्बर आफ्नो नियन्त्रणमा लिने गरेको प्रहरीले जनाएको छ । उक्त सिमकार्ड र बैंक खातामार्फत हुन्डी, अनलाइन गेम तथा अनलाइन ठगीबाट आएको रकमको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई असोज ७ गते पक्राउ गरेको हो । उनीहरूको साथबाट २ थान ल्यापटप, २२ थान सिमकार्ड, ३ थान मोबाइल र २ थान एटीएम कार्ड बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले बैंक खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत ५० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाउने गरेको खुलेको छ । उनीहरूले एउटै व्यक्तिलाई विभिन्न बैंकमा २१ वटासम्म खाता खोल्न लगाएको र विभिन्न व्यक्तिबाट २६० भन्दा बढी बैंक खाता खोल्न लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । खाता खोल्न लगाएका व्यक्तिहरूको सिमकार्ड, मोबाइल बैंकिङ र एटीएमसमेत उनीहरूले आफ्नो नियन्त्रणमा लिने गरेको पाइएको छ । तर, खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत दिने भनिएको रकम नदिएपछि शंका लागेर पीडितहरू प्रहरीकहाँ पुगेर उजुरी दिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।