५ प्रतिशतभन्दा बढी सेयर बिक्रीअघि अग्रिम सूचना अनिवार्य गर्ने सेबोनको तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्नुअघि अग्रिम सूचना दिनुपर्ने व्यवस्थाबारे अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले असोज ७ मा सार्वजनिक गरेको अवधारणापत्रमा ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था स्पष्ट पारिएको छ । कम्पनीले त्यसपछि नेप्सेमार्फत उक्त सूचना सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । सेबोनले यो व्यवस्था बजार निगरानी, लगानीकर्ता संरक्षण र व्यवस्थित कारोबारका लागि ल्याइएको जनाएको छ । यसले सबै लगानीकर्तालाई समान रूपमा सूचना उपलब्ध हुने र सूचित निर्णय लिन सहज हुने बोर्डको भनाइ छ । बोर्डका अनुसार अग्रिम सूचनाले बजारमा आउन सक्ने ठूलो बिक्रीको पूर्वानुमान गर्न, असामान्य मूल्य उतारचढाव पहिचान गर्न तथा बजार दुरुपयोग निगरानी गर्न पनि सहयोग पुग्नेछ । अवधारणापत्रमा अन्तर्राष्ट्रिय अभ्यास र प्रस्तावित नियामकीय ढाँचासमेत समेटिएको छ । यसबारे सरोकारवालाको बुझाइ स्पष्ट बनाउन अवधारणापत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ । सेबोनले यो व्यवस्था लागू हुँदा बजारमा पारदर्शिता बढ्ने, नियामकीय निगरानी प्रभावकारी हुने र साना लगानीकर्ताको हित संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेप्सेमा ‘बाइ फर्स्ट, सेल लेटर’ प्रणालीबाट इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार लागू गर्ने तयारीस्वरूप अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले सरोकारवालाबाट राय, सुझाव र सुधारका विषय संकलन गर्न सार्वजनिक परामर्श थालेको हो । बोर्डका अनुसार पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ र चालु आर्थिक वर्षको नीतिअनुसार मार्जिन ऋण तथा इन्ट्राडे कारोबार कार्यान्वयनको तयारी भइरहेको छ । अवधारणापत्रमा लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको छ । जोखिममा आधारित नियमन, वास्तविक समयको कारोबार तथा अनुगमन, प्रविधिमैत्री प्रणाली र पारदर्शी बजार सञ्चालनमा जोड दिइएको बोर्डले जनाएको छ । प्रारम्भमा नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र जोखिम कम भएका सीमित धितोपत्रमा मात्रै इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव गरिएको छ । परीक्षण चरणको अनुभवपछि यसको दायरा विस्तार गरिने उल्लेख छ । बोर्डले पहिलो चरणमा ‘बाइ फर्स्ट, सेल लेटर’ प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि मात्रै ‘सेल फर्स्ट, बाइ लेटर’ प्रणाली लागू गर्ने योजना छ । इन्ट्राडे कारोबार सुरु गर्नुअघि कानुनी व्यवस्था, ब्रोकर कार्यविधि, जोखिम व्यवस्थापन, निगरानी प्रणाली र प्रविधिगत पूर्वाधार तयार गरी परीक्षण र पाइलटमार्फत चरणबद्ध रूपमा कार्यान्वयन गरिने बोर्डले जनाएको छ । अवधारणापत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिले तयार गरेको हो ।
इन्द्रजात्राको बिदामा पनि वीर अस्पतालका सबै सेवा नियमित सञ्चालन हुने
काठमाडौं । इन्द्रजात्राको अवसरमा असोज ९ गते शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि वीर अस्पतालका सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सूचना जारी गर्दै बिदाका दिन पनि अस्पतालका सम्पूर्ण सेवा यथावत् सञ्चालन हुने जनाएको हो । अस्पतालले सेवाग्राही तथा सरोकारवालालाई सोही अनुसार जानकारी लिन अनुरोध गरेको छ ।
नेसनल मेडिकल कलेजद्वारा आवासीय चिकित्सकलाई छात्रावास खाली गर्न निर्देशन
काठमाडौं । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर (पीजी) तहका आवासीय चिकित्सक (रेजिडेन्ट) हरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गरेको छ । कलेज प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई दिइँदै आएको कक्षा, वार्ड तथा इमर्जेन्सी ड्युटी र प्रशिक्षणसम्बन्धी कामहरू रोकिएको जनाएको छ । हालको संस्थागत तथा शैक्षिक परिस्थितिलाई कारण देखाउँदै कलेजले ती चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) समक्ष औपचारिक अनुरोध गरिसकिएको जानकारी दिएको छ । यसैगरी कलेजले प्रथम वर्षका पीजी रेजिडेन्टहरूलाई सूचना जारी भएको १२ घण्टाभित्र कलेजले उपलब्ध गराएको छात्रावास, क्वाटर वा अन्य आवास खाली गर्न निर्देशन दिएको छ । आवासीय चिकित्सकहरूले तोकिएको समयभित्र कलेजको सम्पत्ति बुझाई आफ्नो व्यक्तिगत सामानसहित परिसर छाड्नुपर्ने सूचनामा उल्लेख छ । कलेजका प्रधानाचार्य र होस्टेल सुपरिन्टेन्डेन्टद्वारा जारी सूचनामा यो निर्णय अर्को सूचना नआएसम्म लागू रहने र सम्बन्धित सबैलाई यसको पालना गर्न भनिएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक सकियो
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार (आज) बसेको बैठक सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । बैठकमा पार्टीको सांगठनिक संरचना, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठकसमेत बसेको छ । बैठकका निर्णय र छलफलका विषयमा पार्टीले औपचारिक रूपमा जानकारी गराउने तयारी गरेको छ ।
पछिल्लो २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै वर्षा मापन
काठमाडौं । पछिल्लो २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा देशभरकै सबैभन्दा धेरै वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बल्ड्याङगढीमा १६१ मिलिमिटर वर्षा भएको हो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बल्ड्याङगढीमा भने अन्य स्थानको तुलनामा उल्लेख्य रूपमा बढी वर्षा मापन भएको हो । वर्षाका कारण पहाडी तथा तराईका केही क्षेत्रमा आगामी ३ दिन बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।
१५औं महाधिवेशनमा कांग्रेसको मूल नारा ः ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’
काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको छ । पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले संगठनको ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै समयअनुकूल परिवर्तन र पार्टी सुदृढीकरणलाई जोड दिने सन्देशसहित उक्त नारा अघि सारेको हो । महाधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचना थप सुदृढ बनाउने, नेतृत्व चयन गर्ने तथा आगामी राजनीतिक दिशाबारे छलफल गर्ने कांग्रेसको तयारी छ । महाधिवेशनको नाराले एकातर्फ पार्टीको परम्परागत राजनीतिक विरासतको निरन्तरता र अर्कोतर्फ संगठन तथा कार्यशैलीमा परिवर्तनको आवश्यकतालाई जोड दिएको छ । कांग्रेसले ‘समुन्नत नेपाल’ निर्माणका लागि पार्टीलाई सबल बनाउने विषयलाई पनि महाधिवेशनको प्रमुख राजनीतिक सन्देशका रूपमा अघि सारेको छ । महाधिवेशनमा नेतृत्व, संगठन, नीति तथा समसामयिक राजनीतिक विषयमा बहस हुने अपेक्षा गरिएको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेको छ । स्थानीय तहदेखि प्रतिनिधि छनोट हुँदै केन्द्रीय नेतृत्व चयनको प्रक्रिया महाधिवेशनसम्म पुग्नेछ । पार्टीभित्र नेतृत्व र संगठन सञ्चालनको शैलीलाई लिएर बहस भइरहेका बेला सार्वजनिक गरिएको नाराले परम्परा र परिवर्तनबीचको सन्तुलनलाई महाधिवेशनको राजनीतिक सन्देश बनाउन खोजेको देखिन्छ । महाधिवेशनले तय गर्ने नेतृत्व र नीतिले आगामी दिनमा कांग्रेसको संगठनात्मक तथा राजनीतिक दिशालाई प्रभावित गर्नेछ ।
ज्याला पाउने लोभमा विमानस्थलबाट १०४ ग्राम सुनसहित दुई नेपाली पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०४. २५ ग्राम सुनसहित दुई जना नेपाली पक्राउ परेका छन् । बुधबार ३१ वर्षीय अनिल राय र ३३ वर्षीय अनिस अन्सारी पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार राय कतारबाट नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्केका थिए । सुनका गरगहना अवैध रूपमा नेपाल भित्र्याउने तथा संकलन गरी लैजाने कार्यमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्। रायले अन्य व्यक्तिको आग्रहमा ज्यालाको प्रलोभनमा परेर सुनका सिक्री भन्सार छलेर नेपाल ल्याएका थिए । विमानस्थलबाट बाहिर जान लाग्दा उनलाई नियन्त्रणमा लिइएको सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए । यसैगरी, अन्सारी अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रमा बाह्य मुलुकबाट आएका यात्रुले भन्सार छलेर ल्याएको ७९.५९ ग्राम सुनसहित पक्राउ परेका हुन् । उनलाई प्रहरीले सुनका गरगहना संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई गरगहनासहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले उल्लेख गरेको छ ।