भाइटीकामा के दिने उपहार ? यी बन्न सक्छन् उपयुक्त विकल्प

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भइसकेको छ । आज तिहारको चौथो दिन गाईँको पूजा गरी मनाईँर्दछ । तिहारमा आफन्त, साथीभाइ तथा नजिकका व्यक्तिलाई उपहार दिने चलन छ । विशेषगरी तिहार दिदी बहिनी र दाजु भाइबीचको आत्मियताको पर्व हो ।

धार्मिकरुपमा दाजुभाइको दीर्घ जीवनका लागि दिदीबहिनीले पूजाअर्चना गर्ने पर्व तिहारको टीका यसपटक बुधबार परेको छ । सप्तरंग दाजुभाइ र दिदीबहिनीलाई लगाउने प्रचलन रहेको छ । टिका पछि दिदीबहिनीले दाजुभाइ र दाजु भाइले दिदीबहिनीलाई दक्षिणा(पैसा) र उपहारहरु दिने गरिन्छ । मरमसला, सेलरोटी, मिठाइसहितका परिकारसँग सँगै उपहार एक अर्कालाई दिएर खुसी साट्ने गरिन्छ ।

तिहारमा दिदी बहिनी वा दाजु भाइलाई के ‘गिफ्ट’ दिने सोचिरहनु भएको छ भने यहाँ त्यस्ता केही उपहारबारे चर्चा गरिएको छ । उपहार दिनेभएसँगै त्यस्ता चिजले दैनिक जीवनमा पनि काम दिन सक्यो भने त्यसले फाइदा पुग्छ ।

राम्रो उपहार दिन हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ भन्ने छैन । थोरै बजेटमै आकर्षक, उपयोगी र सम्झनलायक उपहार दिन सकिन्छ । घर सजावटका सामग्रीदेखि व्यक्तिगत सम्झनासँग जोडिएका उपहारसम्म धेरै विकल्प छन् ।

गरगहना तथा फेसन ज्वेलरी

दिदीबहिनीलाई उपहार दिनका लागि गरगहना पनि राम्रो विकल्प हो । बजेटअनुसार सुनको औँठी, सिक्री वा अन्य गहना उपहार दिन सकिन्छ । बजेट कम छ वा तपाईं विद्यार्थी हुनुहुन्छ भने दिदीबहिनीको रुचिअनुसार फेसन ज्वेलरी पनि दिन सक्नुहुन्छ झुम्का, हार तथा अन्य आकर्षक गहनाले दिदीबहिनीलाई खुसी बनाउन सक्छ ।
हेयर स्टाइलिङका सामग्री

दिदीबहिनीलाई उपयोगी उपहार दिन चाहनुहुन्छ भने हेयर स्टाइलिङका सामग्री छनोट गर्न सकिन्छ । हेयर ड्रायर, हेयर स्ट्रेटनर, स्ट्रेटनर कम्ब, हेयर रोलर वा हट एयर ब्रस उपहारका विकल्प हुन सक्छन्। यस्ता सामग्री व्यक्तिगत सजावटमा रुचि राख्ने दिदीबहिनीका लागि उपयोगी हुनुका साथै लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

मेकअप तथा स्किन केयर किट

मेकअप र सौन्दर्य सामग्रीमा रुचि राख्ने दिदीबहिनीका लागि मेकअप किट राम्रो उपहार हुन सक्छ । आफ्नो बजेटअनुसार राम्रो ब्रान्डका मेकअप सामग्री, स्किन केयर प्रोडक्ट, क्रिम तथा अन्य सौन्दर्य सामग्री समावेश भएको सेट दिन सकिन्छ । तर सामग्री छनोट गर्दा दिदीबहिनीको छालाको प्रकार र व्यक्तिगत रुचिलाई ध्यान दिनुपर्छ ।

ग्याजेट्स

प्रविधि तथा नयाँ ग्याजेट्समा रुचि राख्ने उपहार दिन सकिन्छ । यस्ता उपहारले दाजुभाईलाइ खुसी बनाउनुका साथै दैनिक कामकाजलाई पनि सहज बनाउन सक्छन् । दाजुभाइका लागि इलेक्ट्रोनिक सामग्री पनि राम्रो उपहार हुन सक्छ । बजेटअनुसार मोबाइल फोन, वायरलेस इयरफोन, ब्लुटुथ स्पिकर वा अन्य उपयोगी ग्याजेट्स हुन सक्छ ।

स्मार्टवाच उपहार दिन सक्नुहुन्छ । यो आकर्षक देखिनुका साथै दैनिक जीवनमा उपयोगी हुने उपहार पनि हो । स्मार्टवाचबाट समय हेर्नुका साथै फोनमा आएका सूचना, कल तथा दैनिक गतिविधिबारे जानकारी लिन सकिन्छ । त्यसैले यो तिहारमा दाजुभाइलाई केही फरक र उपयोगी उपहार दिन चाहनुहुन्छ भने स्मार्टवाच राम्रो विकल्प हुन सक्छ ।

व्यक्तिगत तस्बिर राखिएको फोटो फ्रेम

दिदीबहिनीले दाजुभाईलाई वा दाजुभाईले दिदीबहिनीलाई व्यक्तिगत तस्बिर राखिएको फोटो फ्रेम राम्रो विकल्प हुन सक्छ । परिवारका सदस्यसँग खिचिएको सुन्दर तस्बिर राखेर उपहार दिन सकिन्छ । त्यस्तै, फ्रेममा नाम वा मायालु सन्देशसमेत लेखाउन सकिन्छ । यस्तो उपहारले भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्छ।

ड्राइफ्रुट्सको आकर्षक ह्याम्पर

तिहारमा दाजुभाईलाई ड्राइफ्रुट्सको आकर्षक ह्याम्पर दिन सकिन्छ । यसमा बदाम, काजु, पिस्ता, ओखर र किसमिस समावेश गर्न सकिन्छ । आकर्षक बाकस वा टोकरीमा प्याकिङ गरेर दिँदा उपहार थप विशेष देखिन्छ । तर उपहार दिने व्यक्तिको खानपानसम्बन्धी रुचि र कुनै खानेकुराबाट एलर्जी भए÷नभएको विषयमा पनि ध्यान दिनुपर्छ ।

इन्डोर प्लान्ट्स अर्थात् घरभित्र राख्न मिल्ने बिरुवा

यो विशेषगरी दाजुभाईले दिदीबहिनीलाई दिन सकिन्छ । दिदीबहिनीहरु यस्तोमा बढी रुची हुने भएकाले पनि यो उपहार उपयुक्त विकल्प बन्न सक्छ । पछिल्लो समय उपहारका रूपमा बिरुवा दिने चलन पनि लोकप्रिय हुँदै गएको छ । तिहारमा भाइटिकामा मनी प्लान्ट, लक्की बाँस, स्नेक प्लान्ट वा अन्य सजावटी बिरुवा उपहार दिन सकिन्छ । आकर्षक गमलामा राखिएको सानो बिरुवा घर तथा कार्यालय दुवै ठाउँमा सजाउन उपयोगी हुन्छ । 

Share News