चाडपर्वमा साइबर अपराधीको निशानामा बैंकिङ र ग्राहक, कसरी जोगिने ?

काठमाडौं । नेपालमा चाडपर्व नजिकिदै जाँदा विद्युतीय भुक्तानी तथा अनलाइन कारोबारमा उल्लेख्य वृद्धि हुने गरेको छ । कारोबारको चाप बढेसँगै साइबर अपराधीहरूले पनि यही अवसरको फाइदा उठाएर बैंकिङ प्रणाली, वित्तीय संस्था तथा सर्वसाधारणका व्यक्तिगत खातालाई निशाना बनाउन सक्ने जोखिम बढ्छ ।

यसै जोखिमलाई मध्यनजर गर्दै सूचना सुरक्षा प्रतिक्रिया टोली नेपाल (एनपीसर्ट) ले साइबर सेक्युरिटी एडभाइजरी-२०२६ जारी गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र आम उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

एनपीसर्टद्वारा जारी साइबर सेक्युरिटी एडभाइजरअनुसार चाडपर्वका समयमा वित्तीय प्रणाली तथा व्यक्तिगत खातालाई लक्षित गरी फिसिङ, र्यान्समवेयर, र सूचना बन्धक बनाउने आक्रमण तथा सेवा अवरुद्ध पार्ने साइबर आक्रमणको जोखिम बढ्न सक्छ । 

साइबर सेक्युरिटी एडभाइजरीमा बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक तथा विद्युतीय वित्तीय सेवा प्रदायकलाई पाँचवटा सुरक्षा उपाय अपनाउन सुझाव दिइएको छ ।

चौबीसै घण्टा सुरक्षा निगरानी: अनलाइन कारोबार तथा संस्थागत प्रणालीमा हुन सक्ने शङ्कास्पद गतिविधि तत्काल पहिचान गर्न चौबीसै घण्टा सुरक्षा निगरानी केन्द्र सक्रिय राख्नुपर्नेछ । यसबाट सम्भावित साइबर आक्रमण समयमै पहिचान गरी आवश्यक प्रतिकार्य गर्न सकिन्छ । 

फिसिङ र इमेल फिल्टरिङ: चाडपर्वका छुट, विशेष प्रस्ताव, उपहार तथा चिठ्ठाको प्रलोभन देखाएर पठाइने नक्कली विद्युतीय पत्र र सन्देशलाई संस्थागत प्रणालीमा प्रवेश गर्न नदिन प्रभावकारी छनोट तथा नियन्त्रण प्रणाली लागू गर्नुपर्नेछ ।

सिस्टम र एप अपडेट: सर्भर, भर्चुअल निजी सञ्जाल (भिपिएन) तथा मोबाइल बैंकिङ अनुप्रयोगमा देखिएका सुरक्षा कमजोरी हटाउन समयमै सुरक्षा अद्यावधिक गर्नुपर्नेछ । साथै, अनुप्रयोग सञ्चालनकै क्रममा सम्भावित जोखिम पहिचान तथा नियन्त्रण गर्ने आत्मसुरक्षा प्रविधि पनि प्रयोग गर्नुपर्नेछ ।

सुरक्षित तथ्याङ्क भण्डारण: वितरित सेवा अवरोध आक्रमणबाट अनलाइन सेवा सुरक्षित राख्न इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी आवश्यक प्रतिरक्षा प्रणाली सक्रिय गर्नुपर्नेछ । साथै, महत्त्वपूर्ण तथ्याङ्कको सुरक्षित तथा मुख्य सञ्जालबाट अलग राखिएको प्रतिलिपि तयार गर्नुपर्नेछ ।

कारोबार निगरानी: अस्वाभाविक, शङ्कास्पद तथा ठूलो रकमका कारोबारलाई स्वचालित रूपमा निगरानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ । शङ्कास्पद गतिविधि देखिएमा तत्काल आवश्यक अनुसन्धान गरी सम्बन्धित खाता वा कारोबार रोक्ने व्यवस्था गर्नुपर्नेछ ।

साइबर सेक्युरिटी एडभाइजरीले चाडपर्वका समयमा वित्तीय ठगीबाट जोगिन सर्वसाधारणलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

झुटा प्रस्ताव, उपहार र चिठ्ठाको प्रलोभनमा नपर्नुहोस्: सामाजिक सञ्जाल, छोटा सन्देश वा ह्वाट्सएपमार्फत आउने नगद फिर्ता, उपहार तथा चिठ्ठा परेको भन्दै पठाइएका शङ्कास्पद सन्देश र लिङ्कमा विश्वास नगर्ने । आधिकारिक स्रोतबाट पुष्टि नगरी त्यस्ता लिङ्क नखोल्नुहोस् र व्यक्तिगत विवरण उपलब्ध नगराउने ।

एकपटक प्रयोग हुने सङ्केत, गोप्य सङ्केत नम्बर सुरक्षित राख्नुहोस्: कुनै पनि बैंक वा विद्युतीय भुक्तानी सेवाले फोन वा सन्देशमार्फत एकपटक प्रयोग हुने सङ्केत, व्यक्तिगत गोप्य सङ्केत नम्बर वा कूटशब्द माग्दैनन् । त्यसैले यस्ता विवरण कसैलाई पनि उपलब्ध नगराउने। आफूलाई बैंक कर्मचारी बताउने अपरिचित व्यक्तिले मागेमा समेत त्यस्ता विवरण नदिने।

सार्वजनिक निःशुल्क इन्टरनेट प्रयोग गरेर बैंकिङ कारोबार नगर्नुहोस्: बसपार्क, क्याफे तथा अन्य सार्वजनिक स्थानमा उपलब्ध खुला ताररहित इन्टरनेट सञ्जाल प्रयोग गरी मोबाइल बैंकिङ वा अनलाइन भुक्तानी नगर्ने । वित्तीय कारोबारका लागि सुरक्षित तथा विश्वासिलो इन्टरनेट सञ्जाल प्रयोग गर्ने ।

यदि तपाईं शङ्कास्पद अनलाइन गतिविधि, नक्कली सन्देश वा बैंकिङ ठगीको सिकार हुनुभयो भने ढिलाइ नगरी सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्छ । आवश्यकताअनुसार आफ्नो खाता, भुक्तानी सेवा वा सम्बन्धित कारोबार तत्काल रोक्न अनुरोध गर्ने । त्यसपछि घटनासम्बन्धी प्रमाण, सन्देश, कारोबार विवरण तथा अन्य आवश्यक जानकारी सुरक्षित राखी नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउने ।

Share News