विकासन्युज

बजाजको नयाँ शोरुम अब मोरङको बिराटचोकमा

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम “मनकामना अटोमोबाईलस्” संचालन गरेको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले मोरङको बिराटचोकमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा अत्यन्तै खुशी लागको बताए ।

क्लियर टीभी र इन्टरनेट सेवामा सुबिसुले मूल्य घटायो, अब कति ?

काठमाडौँ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्ड कपको अबसरमा क्लियर टीभी तथा इन्टरनेट सेवाको नयाँ नयाँ मूल्य निर्धारण गरेको छ । विश्वको लोकप्रिय खेल क्रिकेट वल्र्ड कप २०१९लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मुल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरु माझ प्रस्तुत गरेको जनाएको छ । नेपाली दर्शकले अब मात्र रु. २५८ प्रति महिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एचडि च्यानलहरु हेर्न पाउने कम्पनीले जनाएको छ । साथै क्लियर टीभी(२४५ डिजिटल च्यानलहरु जसमा ५० एच.डि च्यानलहरु) र २५ एमबीपीएस इन्टरनेट सेवामात्र रु.१२१६ प्रति महिनामा प्राप्त गर्न सक्नेछन् । यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नु पर्ने तथा कम्पनीको केही सर्त तथा नियमहरु पालना गर्नु पर्ने जनाएको छ ।

कामना सेवाका ग्राहकलाई सिद्धबाबा, सिद्धार्थनगर र लुम्बिनी अस्पतालमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंक लि.ले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, सिद्घार्थनगर सिटी हस्पिटल प्रालि र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि.को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्धबाबाको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगरको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका छन् ।

राणाको निधनमा होटल संघको श्रद्धाञ्जली, ‘पर्यटन र होटल उद्योग क्षेत्रमा अपुरणीय क्षति’

काठमाडौँ । होटल संघ नेपालका संस्थापक अध्यक्ष प्रभाकर शमशेर जंगबहादुर राणाको ८४ वर्षको उमेरमा उपचारको क्रममा न्यूयोर्कमा निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । होटल संघ नेपालले शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै उनको निधनबाट पर्यटन तथा होटल उद्योग मात्र नभई मुलुकलाई नै अपुरणीय क्षति पुगेको भएको छ । यस दुःखद् घडीमा संघले स्वर्गीय राणाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । विसं. १९३५ मा जन्मिएका उनको एक छोरा र एक छोरी छन् । नेपालको अग्रणी सोल्टी होटलका संस्थापक स्व. राणा नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटलका प्रणेता हुन् । नेपालमा अन्तर्राष्ट्रिय चेन होटल भित्र्याई सफल रुपमा नेपाली होटललाई अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने श्रेयको हकदार पनि स्व. श्री राणा हुन् । नेपालको पर्यटन प्रवद्र्धनमा उनको अतुलनीय सेवा र योगदानको कदर गर्दै देश विदेशबाट उनलाई विभिन्न मान पदवी अलंकारबाट विभूषित गरिएको थियो । स्वर्गीय राणाले होटल संघ नेपालको स्थापना वर्ष १९६६ देखि १९७६ सम्म अध्यक्षको हैसियतमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यवसायिक क्रियाशिलता बढाउँदै देशमा होटल उद्योगको विकास र विस्तारमा उदाहरणीय योगदान पु¥याएको विज्ञप्तीमा उल्लेख छ ।

भीओआइपी सञ्चालन गर्ने अन्सारी पक्राउ, सीआईबी अनुसन्धान गर्दै

काठमाडौँ । दूर सञ्चार प्रणालीमा हानी हुने अन्तर्राष्ट्रिय कल बाइपास(भीओआइपी) सञ्चालन गर्ने भारत सोनौली घर भएका खुर्सेद अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सीआइबीको टोलीले रुपन्देही सिद्धार्थनगर स्थित मैनुद्दीन धुनियाको घरमा डेरा गरी बस्ने अन्सारीलाई भीओआइपी सञ्चालन गर्ने साधन सहित पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीको दूर सञ्चार ऐन २०५३ अन्तरगत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । अभियुक्त अन्सारीको साथबाट ल्यापटप, ल्यापटपको चार्जर, जेएससी लेखिएको एरियल, राउटर, एयरटेल फोरजी लेखिएको डिभाइस, टीपी लिंक लेखिएको सामाग्री, यूपीएस, चार्जर, तेह्र वटा सिमसहितको सोह्र वटा सिम लाग्ने पोट, सिम नभएको सोह्रवटा सिम लाग्ने पोट, केबल तार लगायतका सामाग्री बरामद भएको सीआईबीले जनाएको छ । नेपाली १३० र विदेशी ३७ जना पक्राउ सीबीआई टोलीले अबैध भीओआइपी सञ्चालन गरिएको १०८ स्थानबाट १३० जना नेपाली र ३७ जना विदेशीलाई पक्राउ गरी कारवाही गरेको जनाएको छ । पक्राउ परेकाहरु बिरुद्ध ११ अर्ब ९१ करोड, १ लाख १६ हजार १ सय ६३ रुपैयाँ ६५ पैसाको बिगो माग दाबी सहित अदालतमा मुद्दा दायर गरिएको सीआईबीले जनाएको छ ।

११ महिनामा २ करोड ३० लाख राजश्व संकलन

काठमाडौं । पोखरा महानगरपालिका-१७ ले ११ महिनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६२२ राजश्व सङ्कलन गरेको छ । महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरेको हो । घर नक्सा दस्तुर र अन्य सिफारिसबाट रू एक करोड ७१ लाख ६८ हजार २४५, र भूमि करबाट ५८ लाख ९० हजार रूपैयाँ प्राप्त भएको वडाध्यक्ष तीर्थ अधिकारीले आयोजित कार्यक्रममा जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिले जिम्मेवारी लिएको दोस्रो वार्षिकोत्सवका अवसरमा वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा अधिकारीले एक वर्षमा दर्ता पत्र सङ्ख्या ४९१, चलानी भएका पत्र छ हजार ९३, व्यवसाय नयाँ दर्ता २३९ र २८ निवेदन नवीकरण गरेको बताएका छन् । त्यसैगरी, उक्त कार्यक्रममा वडाध्यक्ष प्रदेश, महानगर र वडास्तरीयसहित विभिन्न १४ शीर्षकमा २३ करोड ८२ लाख चार हजार ७४० रुपैयाँ बराबरको विकास निर्माणका कार्य भइरहेको जानकारी दिएका हुन् । नेकपा संयन्त्र सदस्य सुभाष ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवीराज आचार्य, कार्यपालिका सदस्य राधिका योगी, वडाका सचिव सुभाष पौडेललगायतले वडाको विकास निर्माणका बारेमा चर्चा गर्नुभएको सो कार्यक्रममा सहभागी स्थानीयवासीले वडामा कर तिर्ने व्यवस्थासँगै ढल तथा खानेपानीको व्यवस्थापन, सडकलगायत विकास निर्माणमा गुणस्तरीयता एवम् पारदर्शिताको आवश्यकता समेत औँल्याएका छन् । रासस

सरकारले शेयरमा दुई खर्ब ३७ करोड खन्यायो, तीन संस्थान सरकारको प्राथमिकतामा

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूमा सेयर लगानी बढाएर दुई खर्ब ३७ अर्ब आठ लाख पुर्याएको छ । सरकारले सार्वजनिक संस्थानमा गरेको शेयर लगानीबाट गत आर्थिक वर्ष २०७४/७५ सम्म गरेको शेयर लगानीबाट सरकारले नौ अर्ब ८९ करोड लाभांश प्राप्त गरेको छ । यस वर्ष सरकारले प्राप्त गरेको लाभांश गएको आवको भन्दा २७.२८ प्रतिशतले बढी हो । नेपाल विद्युत प्राधिकरण, नेपाल नागरिक उडड्यान प्राधिकरण र जलविद्युत लगानी तथा विकास कम्पनीलाई प्राथमिकतामा राखेर शेयर लगानी गरेको छ । यी संस्थाबाट उच्चतम लाभ लिन सक्ने आकलन गरेर सरकारले सेयर लगानी गरेको हो । चुक्ता पुँजी एक खर्ब दुई अर्ब ४३ करोड ७६ लाख रहेको नेपाल विद्युत प्राधिकरणमा सरकारको पूर्ण सेयर लगानी रहेको छ । नेपाल नागरिक उडड्यान प्राधिकरणमा र अर्को पूर्ण शेयर स्वामित्व रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको १० अर्ब चुक्ता पुँजी रहेको छ । यी तीनै संस्थानमा पछिल्ला वर्षमा सरकारले सेयर लगानी थपेको हो । ३९ सार्वजनिक संस्थानमध्ये ३६ वटा संचालमा रहेका छन् । यी संस्थानमध्ये १८ वटा सार्वजनिक संस्थानमा सरकारको पूर्ण शेयर स्वामित्व रहेको अर्थ मन्त्रालय सार्वजनिक संस्थान महाशाखा प्रमुख तोयम रायाले बताए । ‘सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति सुधारोन्धमुख अवस्थामा रहेको छ,’ उनले भने ‘२६ संस्थान नाफामा रहेका छन् ।’ १० संस्थान घाटामा रहेका छन् । २४ वटा सार्वजनिक संस्थानले मात्रै लेखापरीक्षण गराएका छन् । वाँकी संस्थानले भने विगत लामो समयदेखि लेखापरीक्षण गराउन सकेका छैनन् । बढी नाफा आर्जन गर्ने संस्थानमा नेपाल दूरसंचार कम्पनी, नेपाल नागरिक उडड्यान प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम, कृषि विकास बैंक रहेका छन् । यी ५ संस्थानले गत आवमा ८३ अर्ब ६४ करोड ७७ लाख नाफा आर्जन गरेका छन् । कुल गार्हस्थ्य उत्पादनमा संस्थान संचालन आयको अनुपात १३ प्रतिशत अर्थात तीन खर्ब ९० अर्ब रहेको छ । राजस्वमा सार्वजनिक संस्थानको योगदान ९४ अर्ब ६ करोड रहेको छ । उक्त योगदान अघिल्लो आव २०७३/७४ कोभन्दा ५९.७३ प्रतिशतले बढी हो । सेतो हात्तीको रुपमा परिचित संस्थानहरूमध्ये नेपाल आयल निगमले गएको आवमा सबैभन्दा बढी ५४ अर्ब ३१ करोड राजस्व बुझाएको छ । नेपाल दूर संचार प्राधिकरणले२४ अर्ब २५ करोड राजस्व दाखिला गरेको सार्वजनिक संस्थान वार्षिक स्थिति समीक्षा २०७६ मा उल्लेख गरिएको छ ।

नेपाल बैंकले रत्नराज बज्राचार्य ताक्दा राष्ट्र बैंकले छेक्यो, अब के हाेला ?

काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत पदमा रत्नराज बज्राचार्यलाई भित्र्याउन चाहेको छ । यो बैंकमा गत तीन महिना अघिदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली छ । रत्नराज बज्राचार्य पनि जेठ १ गतेदेखि खाली भएका छन् । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सकेर नयाँ बैंकमा जाने सोचमा रहेका बज्राचार्यलाई नेपाल बैंकले भित्र्याउन चाहेको छ । बज्राचार्य पनि नेपाल बैंकमा जान इच्छुक देखिएका छन् । उनले यसअघि पनि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको उच्च व्यवस्थापनमा रहेर काम गरेका छन् । तर नेपाल बैंक र बज्राचार्य दुबैको चाहानामा नेपाल राष्ट्र बैंकको नियम बाधक बनेको छ । सेन्चुरी बैंकलाई धोका दिएर नविल बैंकमा सीईओ बन्ने अनिल केशरी साहको प्रयास रोक्न राष्ट्र बैंकले जारी गरेको कुलिङ पिरेडले नेपाल बैंक र बज्राचार्यलाई अप्ठ्यारो पारेको छ । अनिल शाहलाई लक्षित कुलिङ पिरेड सम्बन्धि नियमले शाहलाई नबिल बैंक जान रोक्न भने सकेन । शाहले ६ महिनाको लागि डेपुटी सीईओमा नियुक्ती स्वीकार गरे । र, कुलिङ पिरेड अवधि सकेपछि सीईओ भए । ‘कुलिङ पिरेड सम्बन्धि नियम कानुनमा छैन । राष्ट्र बैंकको निर्देशनबाट आएको हो । राष्ट्र बैंकले उक्त नियम फिर्ता लिए हामीलाई सजिलो हुन्थ्यो’ नेपाल बैंक सम्बद्ध स्रोतले भन्यो । हाल ३ वटा वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली छ । एकातिर सीईओ पद खाली हुनु, अर्कोतिर योग्य व्यक्तिले काम गर्ने मौका नपाउनु नयाँ समस्या हो । यो समस्यालाई संबोधन गर्दै राष्ट्र बैंकले कुलिङ पिरेड सम्बन्धि नियम फिर्ता लिनु पर्ने विचार बैंकिङ क्षेत्रमा उठिरहेको छ । यसअघि एनसीसी, ग्लोबल आईएमई र सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका बज्राचार्य नतिजामुखी सीईओको रुपमा परिचित छन् । व्यक्तिगत लोभलालच नभएको, खटेर काम गर्ने र जटिल अवस्थामा पनि नेतृत्व दिन सक्ने क्षमता भएका बज्राचार्यलाई सीईओमा भित्र्याउन सकेमा बैंकको सञ्चालन कार्यमा राजनीतिक हस्तक्षेप नछिर्ने, यूनियनका राजनीति पनि नियन्त्रित हुने नेपाल बैंक सञ्चालक समितिको विश्वास छ ।