विकासन्युज

इपीएस भाषा परीक्षाको केन्द्र तोकियो (नामावलीसहित)

काठमाडौँ । रोजगार अनुमति प्रणाली(इपीएस) अन्तरगत सन् २०१९ को कोरियाली भाषा परीक्षाको लागि तोकिएका ३२ परीक्षा केन्द्रको नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जेठ २५ र २६ गते हुने परीक्षाको परीक्षा केन्द्र निधारण गरेको हो । ईपीएस शाखाका अनुुसार काठमाडौँमा २१, ललितपुरमा ७ र पोखरामा ४ केन्द्र तोकिएको छ । यी हुन् परीक्षा केन्द्र काठमाडौँ र ललितपुरमा जिल्लाका वाग्मती बोर्डिङ स्कूल सुकेधारा, द न्यू समिट स्कूल मैतिदेवी, आदर्श बिद्या मन्दिर मानभवन, लिटिल एन्जल स्कूल हात्तिवन, एलआरआई स्कूल कलंकी, एनकेसिंह मेमोरियल स्कूल मीनभवन, भीएस निकेलन मीनभवन, ल्याब्रोटरी उच्च मावि किर्तिपुर, नाइटिङ्गल स्कूल कुपण्डोल, मुनलाइट मावि कुमारीपाटी, लोयल्टी एकेडेमी मण्डीखाटार, काठमाडौँ मोडल कलेज बालकुमारी, गोल्डेनगेट कलेज बत्तीसपुतली, हिमालय कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, लिटिल एन्जल्स हात्तिवन, नोबेल एकेडेमी नयाँ बानेश्वर, पिनाकल एकेडेमी लगनखेल, टाइम्स इन्टरनेशनल डिल्लीबजार, ट्रिनिटी कलेज कालिकास्थान, युनिभर्सल कलेज शान्तिनगर, भीएस निकेतन तीनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कूल बौद्ध, रेडन कलेज समाखुसी, किस्ट कलेज कमलपोखरी र साउन बोस्टर्न स्टेट कलेज बसुन्धरा परीक्षा केन्द्र तोकिएका हुन् । त्यसैगरी, पोखराका पोखरा पब्लिक स्कूल चौथे, स्टेप बाई स्टेप सेकेण्डरी स्कूल मासवार, लिटिल स्टेप सेकेण्डरी स्कूल सिमल चौर र सिर्जना सेकेण्डरी स्कूल सिर्जनाचोकमा परीक्षा सञ्चालन हुनेछ । २ सत्रमा परीक्षा सञ्चालन एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ । भाषा परीक्षामा ९२ हजार सहभागी हुँदै सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारकाबीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । नतिजा असार १३ गते प्रकाशित गरिने भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ । ५८ हजार नेपाली कोरियामा हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५-२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधी

काठमाडौं । मोहम्मद सलाह प्रेरित लिभरपुलले च्यापियन्स लिगको उपाधी जितेको छ । आइतबार बिहान भएको उपाधी भिडन्तमा लिभरपुलले टोटनह्यामलाई २–० अन्तरले पराजित गरेर उपाधी चुमेको हो । खेल सुरु भएको २ मिनेटमै लिभरपुलले पेनाल्टी पायो र त्यसलाई सलाहले गोलमा परिणत गरे । खेलेको ८७ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । दबावमा खेलेको लिभरपुलले टोटनह्यामलाई गोल गर्ने अवसर भने दिएन् । इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगको टोटनह्याम भने खेलमा पकड जमाएर पनि पराजित हुने पुग्यो ।

प्रदेश २ को नीति तथा कार्यक्रम आज, ‘शिक्षा क्षेत्र प्राथमिकतामा’

धनुषा । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आइतबार ल्याउने तयारी गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराएका हुन् । चालू आर्थिक वर्षमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी आवमा समेत कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । गत वर्ष प्रदेश सरकारले ‘हरेक खेतमा पानी, हरेक हातमा काम’ नारा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको नीति आयोगका अध्यक्ष डा हरिवंश झाले जानकारी दिए । राष्ट्रिय सर्वेक्षणअनुसार प्रदेश २ मा नवजात शिशु मृत्यु दर ३० रहेको छ । देशभर उक्त दर २१ जना रहेको छ । प्रदेशमा शिशु मृत्यु दर ४३, पाँच वर्ष मुनीका बालबालिकाको मृत्यु दर ५२, छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा रक्तअल्पताको दर ५८ तथा १५ देखि ४९ वर्षका महिलामा रक्तअल्पताको दर ५९ रहेको छ । प्रदेश २ का ६५ प्रतिशत बालबालिकाले मात्र आधारभूत खोप पाएको पाइएको छ । स्वास्थ्य संस्थामा गई प्रसूति गराउनेको सङ्ख्या ४५ प्रतिशत रहेको पाइएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, एकतर्फीमात्रै सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

बाहिरी चक्रपथ आफैं बनाउने प्रदेश सरकारको घोषणा, गौरवको आयोजनामा राखेर उच्च प्राथमिकता

काठमाडौँ । तीन नं. प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरबको आयोजनाका रुपमा अघि बढाएको छ । ‘उपत्यका काँठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसैगरी केन्द्र सरकारले तीन जिल्ला जोडिने गरी ७२ किमि लामो बाहिरी चक्रपथ निर्माण अघि बढाएको छ । चालू आर्थिक वर्षमा ‘उपत्यका काँठ चक्रपथ’ को विस्तृत परियोजना प्रस्ताव निर्माण गर्न रु एक करोड २० लाख छुट्याइएको छ । यो चक्रपथ शङ्खरापुर नगरपालिकाको कार्कीगाउँ–कागेश्वरी मनोहरा नगरपालिकाको अधिकारी गाउँ–सातघट्टे–कटुवा–पुँवारगाउँ–फुयाँलगाउँ–गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल–नयाँपाटी–पण्डितगाउँ–बालुवा–जगडोल–बूढानीलकण्ठ नगरपालिकाको चुनिखेल–चपली–बूढानीलकण्ठ–टोखा–झोर–काभ्रेस्थली–जीतपुर–पाँचमाने भञ्ज्याङ–मुड्खु भञ्ज्याङ–रानीवन–भीमढुङ्गा–रामकोट नर्सरी–पुलडोल हुँदै स्युचाटार निस्कनेछ । यसैगरी, पुरानो नैकाप–दहचोक–थानकोट–मातातीर्थ–मच्छेगाउँ–कीर्तिपुर–बोसन–ललितपुरको खोकना–ललितघुम्ती–भक्तपुरको गुण्डु–सुडाल–तेलकोट भएर पुनःकाठमाडौँको पालुवारी–साँखु हुँदै कार्की गाउँमै जोडिने गरी अध्ययन गरिएको प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रारम्भिक अध्ययनअनुसार १३५ किमि काठ चक्रपथमध्ये शङ्खरापुर नगरपालिकाबाट कागेश्वरी मनोहरा नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिकासम्मको २५ किमिको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भएको उक्त मन्त्रालयका इञ्जिनियर पुण्यराम सुलुले जानकारी दिए । बाँकी ११० किमि बाटोका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि उनले बताए । उपत्यकाका डाँडा छुने गरी काठ क्षेत्रलाई समेटेर चक्रपथ निर्माण गर्ने योजना विसं २०४९ मा जिल्ला विकास समितिले नै अघि सारेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताए । “विसं २०४९ मा पहिलो जिल्ला परिषद्ले यो योजना अघि सारेको थियो । तात्कालिन जिविस सभापति चित्रबहादुर केसी, उपसभापति नारायण ढकाल र म साविकको आलापोट गाविस अध्यक्ष हुँदा नै यो चक्रपथको प्रस्ताव गरेका थियौँ, परिषद्ले पारित गरेपनि विविध कारणले यसको काम अघि बढ्न सकेको थिएन, प्रदेश सरकारले हाल यसलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाउन प्रस्ताव गरेअनुसार काम भइरहेको छ”, उनले भने । यो मार्गको निर्माणपछि उपत्यकाका डाँडामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पर्यटन व्यवसायी इन्द्र लामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलगायत क्षेत्रमा केबलकार निर्माण गर्न पनि काठ चक्रपथको पूर्वाधारले सहयोग पुग्ने बताए । काठ चक्रपथ निर्माणका लागि सडकको केन्द्रबिन्दुबाट दुवैतिर पाँच÷पाँच मिटर जग्गा लिइने गरी मापदण्ड तोकिएको छ । सरकारले जग्गाको मुआब्जा तिर्न नसक्ने भएकाले जग्गा दिन नचाहने धनीको ठाउँका सडक निर्माण रोकिनेछ । यस्तो अवस्थामा प्राविधिक रुपमा सम्भव भएसम्म अर्को स्थानबाट सडक लैजाने समेत तयारी गरिएको छ । काठ उपत्यका चक्रपथले राजधानीमै रहेरसमेत बत्तीमुनिको अँध्यारो बनेको डाँडाकाँडा क्षेत्रको विकासमा सहयोग पुर्याउने छ । यसले यहाँका जनताको जीवनस्तर उठाउन सहयोग गर्नेछ । डेढ दशक अघिदेखि नै चर्चामा रहेको बाहिरी चक्रपथ शुरु हुन नसकेका बेला काठ उपत्यका चक्रपथ शुरु गरेर ठूला योजना अलपत्र हुनसक्नेतर्फ कसैको ध्यान नगएको केही विश्लेषणको भनाइ छ । बूढानीलकण्ठ जगडोलवासी त्रिलोचन पौडेल भने केन्द्रीय सरकारले बाहिरी र प्रदेश सरकारले काठ उपत्यका चक्रपथलाई प्राथमिकताका साथ अघि बढाए राजधानीमा बढ्दै गएको जनसङ्ख्याको चापलाई व्यवस्थित गर्न सहयोग पुग्नेछ । बाहिरी चक्रपथ ७२ किमी लामोे हुने जनाइएको छ । यसअघि चीन सरकारको सहयोगमा निर्माण भएको २८ किमिको चक्रपथ बाहिर बस्ती बढेर शहर विकास भइसकेकाले बाहिरी र काठ उपत्यका चक्रपथ राजधानी शहरमा बसाइँसराई गर्नेहरूका लागि व्यवस्थापन गर्न दूरगामी सोच हुने प्रदेशसभा सदस्य फुयाँलको ठम्याइ छ । हाल नगरपालिका घोषणा गरिसकिएको काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भागका अधिकांश जग्गा खण्डीकरण भएर कतिपय ठाउँमा त धमाधम आवास निर्माण भइरहेको छ । देश सङ्घीयतामा गएपनि काठमाडौँ उपत्यकामै घरवास जोड्ने मानिसको चाहना अझै कम नभएको पाइन्छ ।

ठमेलमा चुनावी चटारो, सुधारका आधा दर्जन एजेण्डासहित प्रधान मैदानमा

काठमाडौं । ठमेल पर्यटन विकास परिषदमा चुनावीच चटारो सुरु भएको छ । यहि जेठ २५ गते हुने साधारण सभाले आगामी २ बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । ठमेलको सुधारका आधा दर्जन एजेण्डा बोकेर व्यवसायी अर्जुनलाल प्रधान चुनावी मैदानमा उत्रिएका छन् । ३० बर्षदेखि ठमेलमा व्यवसाय सञ्चालन गरिरहेका प्रधानको समुहमा गोपाल गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ, सहदेव धमला, बद्रि तिमिल्सना, पुण्यमान लगेजु लगायतका व्यवसायीहरुले पदाधिकारीको निर्वाचन लड्दैछन् । प्रधानले ठमेलमा व्यापाक सुधारका अवधारणा अघि सारेर निर्वाचनमा होमिएको बताए । ‘ठमेलको विरासत जोगाउने र यसलाई थप व्यवस्थित गर्ने निर्विकल्प पर्यटन गन्तव्य बनाउने योजनासहित हामी निर्वाचनमा होमिएका छौं’, अध्यक्षका प्रत्यासी प्रधानले भने । उनीहरुले ठमेलमा पार्किङ, सुरक्षा, अव्यवस्थित तार/पोल, होर्डिङ बोर्ड, ढल निकास, सडक तथा सरसफाई, सांस्कृतिक सम्पदाहरुको संरक्षण लगायतका एजेण्डा अघि सारेका छन् । त्यस्तै, माग्ने, सारङगी, फुटपाथमा समान बेच्ने, तेश्रो लिङगी लगायतका समस्या समाधान पनि आफ्नो एजेण्डामा रहेको प्रधान समुहबाट पदाधिकारीका उम्मेदवार महेशमान महर्जनले बताए । महर्जनलाई ठमेलमा स्थापित व्यवसायीका अलवा समाजसेवीका रुपमा समेत चिनिन्छ । उनीहरुले ठमेल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई जोड्ने डेडिकेटिड सडक तय गर्ने योजना पनि अघि सारेका छन् । ठमेललाई व्यवस्थित, आकर्षक र सुरक्षित पर्यटन गन्तव्यका रुपमा स्थापीत गराउने संकल्पसहित मतदाता भेटघाटमा लागेको पनि प्रधानले बताए । नयाँ नेतृत्व चयनका लागि ठेमल क्षेत्रका ७९३ व्यवसायी मतदाता रहेका छन् । आफ्नो समुहमा समाजसेवी पृष्ठभूमिका स्थापित व्यवसायीहरु रहेको प्रधानले दावी गरे ।

अनलाइन पत्रकार संघको अध्यक्षमा पुन: शिव सत्याल

काठमाडौं । अनलाइन पत्रकार संघको अध्यक्षमा शिवप्रसाद सत्याल पुनःचयन भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमत चयन गरको हो । संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन भएका छन् । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुरा डटकमका गोविन्द अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सेतोपाटी डटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू   

बेइजिङ । चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ । यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ । त्यस्तै पहिला थप छ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर छ प्रतिशत थपिएको छ । चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो । चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ । जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ । यसका लागि चीनले आवश्यक ठोस कदम छोटो समयमै सार्वजनिक गर्ने चीनले शुक्रबार नै बताएको थियो । “चीनले विचारविमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको बताउँदै आएको छ । तर अमेरिकाले पेलेर अघि बढ्न खोजेमा चीनले पनि बाध्य भै तदनुरूप कदम चाल्न पछि हट्ने छैन,” चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ताले भने ।