काठमाडौं । पोखरा महानगरपालिका-१७ ले ११ महिनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६२२ राजश्व सङ्कलन गरेको छ । महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरेको हो ।
घर नक्सा दस्तुर र अन्य सिफारिसबाट रू एक करोड ७१ लाख ६८ हजार २४५, र भूमि करबाट ५८ लाख ९० हजार रूपैयाँ प्राप्त भएको वडाध्यक्ष तीर्थ अधिकारीले आयोजित कार्यक्रममा जानकारी दिएका छन् ।
स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिले जिम्मेवारी लिएको दोस्रो वार्षिकोत्सवका अवसरमा वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा अधिकारीले एक वर्षमा दर्ता पत्र सङ्ख्या ४९१, चलानी भएका पत्र छ हजार ९३, व्यवसाय नयाँ दर्ता २३९ र २८ निवेदन नवीकरण गरेको बताएका छन् ।
त्यसैगरी, उक्त कार्यक्रममा वडाध्यक्ष प्रदेश, महानगर र वडास्तरीयसहित विभिन्न १४ शीर्षकमा २३ करोड ८२ लाख चार हजार ७४० रुपैयाँ बराबरको विकास निर्माणका कार्य भइरहेको जानकारी दिएका हुन् ।
नेकपा संयन्त्र सदस्य सुभाष ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवीराज आचार्य, कार्यपालिका सदस्य राधिका योगी, वडाका सचिव सुभाष पौडेललगायतले वडाको विकास निर्माणका बारेमा चर्चा गर्नुभएको सो कार्यक्रममा सहभागी स्थानीयवासीले वडामा कर तिर्ने व्यवस्थासँगै ढल तथा खानेपानीको व्यवस्थापन, सडकलगायत विकास निर्माणमा गुणस्तरीयता एवम् पारदर्शिताको आवश्यकता समेत औँल्याएका छन् । रासस