काठमाडौं । गायिका विष्णु माझीको ‘घरबार’ यस वर्ष युट्युबमा सर्वाधिक हेरिएको तीज गीत बनेको छ । सार्वजनिक भएको १३औँ दिनमै ‘घरबार’ले १ करोड १८ लाखभन्दा बढी भ्युज पाएर एलिना चौहानको ‘नौरती फुली’लाई पछि पारेको हो ।
यो समाचार तयार पार्दासम्म ‘घरबार’ले युट्युबमा १ करोड १८ लाख भ्युज पार गरेको छ । केही समयअघिसम्म सर्वाधिक हेरिएको तीज गीतको शीर्ष स्थानमा रहेको ‘नौरती फुली’को भ्युज भने १ करोड १७ लाख ४२ हजार पुगेको छ ।
‘घरबार’ विष्णु माझीको चर्चित तीज गीति एल्बम ‘पुतलीको भट्टी–२२’ मा समावेश गीत हो । गीतमा विवाहित महिलाले भोग्नुपरेका पीडा, वेदना र पारिवारिक जीवनका भावनालाई प्रस्तुत गरिएको छ । माझीको विशिष्ट स्वर र गीतको भावनात्मक प्रस्तुतिले यसलाई दर्शकमाझ लोकप्रिय बनाएको देखिन्छ ।
‘घरबार’मा विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा सुन्दरमणि अधिकारीसँगै ललिता पौडेलले अभिनय गरेका छन् । भिडियोको निर्देशन सुन्दरमणि अधिकारीले गरेका हुन् भने कोरियोग्राफी मौसम हिमालीको छ ।
यस वर्षको तीजका लागि साउन १ गते सार्वजनिक गरिएको एलिना चौहानको ‘नौरती फुली’ले लामो समयसम्म युट्युब भ्युजमा अग्रता कायम गरेको थियो । तीजको अघिल्लो दिन १ करोड भ्युज पार गर्दै ‘नौरती फुली’ यस वर्ष करोड क्लबमा प्रवेश गर्ने पहिलो तीज गीत बनेको थियो ।
तर, सार्वजनिक भएको छोटो समयमै तीव्र गतिमा भ्युज बटुलेपछि ‘घरबार’ले ‘नौरती फुली’लाई उछिनेको हो । यससँगै विष्णु माझीको गीतले यस वर्षको सर्वाधिक हेरिएको तीज गीतको रेकर्ड आफ्नो नाममा बनाएको छ ।