काठमाडौं । विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनमा ल्याउन बागमती प्रदेश सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिएको जनाएको छ ।
बाढीले मुख्य सडक तथा पुलमा क्षति पुर्याएपछि तीन जिल्लाका विभिन्न बस्तीको यातायात सम्पर्क प्रभावित भएको थियो ।
त्यसपछि प्रदेश सरकारले सडक खुलाउने, क्षतिग्रस्त पुल मर्मत गर्ने, वैकल्पिक पुल निर्माण गर्ने काम अघि बढाएको जनाएको छ ।
प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरतबहादुर केसीका अनुसार मुख्यमन्त्री किरण थापाको प्रत्यक्ष निगरानीमा प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापना गर्ने काम भइरहेको छ ।
प्रदेश सरकारले काठमाडौं–रसुवा जोड्ने टोखा–छहरे–चौघडा–बाहुनबेँसी–लाच्याङ सडक सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यस्तै, बाढीका कारण अवरुद्ध गल्छी–त्रिशूली सडक सफा गरी यातायात सञ्चालनमा ल्याइएको मन्त्री केसीले बताए ।
मुख्य सडक सञ्चालनमा आए पनि बाढीले पुल तथा अन्य संरचनामा क्षति पुर्याएपछि कतिपय क्षेत्रमा आवागमनको समस्या कायमै रहेको मन्त्री केसीले जानकारी दिए । त्यसलाई सम्बोधन गर्न प्रदेश सरकारले वैकल्पिक पुल निर्माणलाई प्राथमिकता दिएको छ ।
मन्त्री केसीका अनुसार श्रमथली–पाटीखर्क–पाँचाङ पुल प्रदेश सरकारको अग्रसरतामा निर्माण भइरहेको छ । त्यस्तै, सूर्यगढी गाउँपालिका–२ बाट नौकुण्ड गाउँपालिका जोड्ने ३२४ मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी अघि बढाइएको छ ।
फलाँखु खोलामा पनि बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाइएको छ । हेटौंडामा तयारी अवस्थामा रहेको बेलिब्रिजलाई प्रभावित क्षेत्रमा लैजाने तयारी गरिएको मन्त्री केसीले जानकारी दिए ।
बाढीपछि रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा फलाँखुमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइएको केसीले वताए ।
प्रदेश सरकारले बाढीबाट प्रभावित जोखिमपूर्ण आवागमनका साधनलाई समेत विस्थापन गर्ने योजना बनाएको छ ।
त्रिशूली, देविघाट र धुन्चेमा रहेका म्यानुअल तुइनलाई मोटरेबल संरचनामा रूपान्तरण गर्ने तयारी भइरहेको मन्त्री केसीले बताए ।
धादिङतर्फ पनि क्षतिग्रस्त संरचनाको मर्मतलाई अघि बढाइएको छ । घाटबेँसीमा रहेको झोलुङ्गे पुल मर्मत गर्नुका साथै गल्छीबाट जिल्ला सदरमुकाम धादिङबेँसी जाने पुल मर्मत गरी सदरमुकामलाई राजमार्गसँग जोड्ने काम गरिएको प्रदेश सरकारको भनाइ छ ।
बाढीले क्षति पुङयाएको पूर्वाधार पुनःनिर्माणमा सडक र पुलसँगै खानेपानीलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।
नुवाकोटको विदुर नगरपालिकामा बाढीपछि देखिएको खानेपानी समस्या समाधान गर्न त्रिशूली क्षेत्रमा भूमिगत पानी निकाल्ने तयारी गरिएको मन्त्री केसीले जानकारी दिए ।
मन्त्री केसीका अनुसार डिप बोरिङमार्फत भूमिगत पानी निकालेर खानेपानी आपूर्ति गर्ने योजना अघि बढाइएको छ ।
प्रदेश सरकारका अनुसार अहिलेको प्राथमिकता बाढीबाट अवरुद्ध भएको यातायात र आधारभूत सेवा पुनः सञ्चालनमा ल्याउनु हो । त्यसपछि क्षतिग्रस्त संरचनालाई स्थायी रूपमा पुनःनिर्माण गर्ने योजना अघि बढाइनेछ ।
भोटेकोशी बाढीबाट भएको क्षति पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ ।
संघीय सरकारले समेत बाढीबाट भएको समग्र क्षतिको पुननिर्माणका लागि ठूलो रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ ।
बाढीपछि राहत र उद्धारको चरण पार गर्दै प्रभावित क्षेत्रमा अब पुनःस्थापना र पुनर्निर्माणको चरण सुरु भएको मन्त्री केसीले बताए ।
बागमती प्रदेश सरकारले सडक, पुल, बेलिब्रिज, झोलुङ्गे पुल र खानेपानीका योजनामार्फत प्रभावित बस्तीलाई पुनः सहज यातायात र आधारभूत सेवासँग जोड्ने काम अघि बढाएको जनाएको छ ।