भोटेकोशी बाढी : हालसम्म १ हजार ४०३ जनाको शव भेटियो
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३५ वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिहरूलाई राखिएको छ ।
गुडविल फाइनान्सको सञ्चालकमा अमित स्थापित नियुक्त
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको सञ्चालकमा अमित स्थापित नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउँदै भदौ ३० गते बसेको सञ्चालक समितिको ४६४औँ बैठकले स्थापितलाई सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको जनाएको हो । काठमाडौं महानगरपालिका–२४, मखनटोल निवासी ४७ वर्षीय अमित स्थापित लाई प्रचलित कानुनबमोजिम तोकिएको अवधिका लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । गुडविल फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो ।
आमालाई ६ महिना र बुवालाई ४२ दिन सुत्केरी बिदा दिने सरकारको तयारी
काठमाडौं । सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गर्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार गरेको छ । बदलिँदो जीवनशैली तथा कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको अवस्थामा अभिभावकलाई नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउने वातावरण बनाउन विधेयक अघि बढाइएको हो । विधेयक अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछिन् भने बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउनेछन् । यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वका क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा अघि सारिएको छ । विधेयकको अवधारणाअनुसार बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चाको पालनपोषण र हेरचाह आमाको मात्र जिम्मेवारी नभई दुवै अभिभावकको साझा जिम्मेवारी हो । परिवारमा नवजात शिशुको हेरचाह र अभिभावकत्वमा बुबाको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बुबाका लागि समेत लामो अवधिको तलबसहितको बिदा प्रस्ताव गरिएको हो ।
नाडेप लघुवित्तको सञ्चालकमा चुई चुई नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रमान चुई चुई नियुक्त भएका छन् । संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार लुम्बिनी विकास बैंकको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका भेषराज गौतमको स्थानमा दीपेन्द्रमान चुई चुई नियुक्त भएका हुन् । संस्थाका अनुसार चुईले भदौ ३० गतेदेखि लुम्बिनी विकास बैंकको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा जिम्मेवारी सम्हालेका छन् ।
नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मीनबहादुर बोहरा नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मिनबहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको ४०५औँ बैठकले गरेको निर्णयअनुसार बोहराको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भएको हो । यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका केशवकुमार पौडेलले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै दिएको राजीनामा सञ्चालक समितिले असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेपछि रिक्त पदमा बोहरालाई नियुक्त गरिएको हो । नवनियुक्त सीईओ बोहरासँग लघुवित्त तथा बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले कालिका लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन् । त्यस्तै, बोहराले नेरुडे मिर्मिरे लघुवित्तमै नायब कार्यकारी प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवका रूपमा काम गरेको अनुभव छ । ग्रामीण विकास बैंक (नेपाल ग्रामीण बैंक) मा शाखा प्रबन्धक तथा अनुगमन तथा मूल्यांकन विभागमा समेत उनले जिम्मेवारी सम्हालेका थिए। उनको व्यावसायिक यात्रा ग्रामीण विकास बैंकबाट सुरु भएको हो । बोहरा सीईओको जिम्मेवारीमा प्रवेश गर्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय सुधार र व्यवसाय विस्तारको महत्वपूर्ण चरणमा रहेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाको कुल सम्पत्ति २० अर्ब ९५ करोड ९४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा १९ अर्ब ३२ करोड २४ लाख रुपैयाँ र निक्षेप ७ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ रहेको छ । सो अवधिमा संस्थाले २३ करोड ५९ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । संस्थाको निष्क्रिय कर्जा १९.८६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । नयाँ नेतृत्वका लागि कर्जा गुणस्तर सुधार, कर्जा असुली, जोखिम व्यवस्थापन, पूँजी तथा वित्तीय स्थायित्व र सञ्चालन दक्षता बढाउने विषय प्रमुख चुनौतीका रूपमा देखिएका छन् । संस्थाले नयाँ नेतृत्वसँगै संस्थागत सुशासन, कर्जा असुली, जोखिम व्यवस्थापन, व्यवसायिक दक्षता, डिजिटल सेवा तथा दीगो वित्तीय स्थायित्वमा थप सुधार हुने अपेक्षा गरेको छ ।
एभरेस्ट, कुमारी, स्ट्यान्डर्ड र नबिलले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने गरी चार वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनाका लागि ०.०४ प्रतिशत बिन्दुले घटेर ४.०९ प्रतिशतमा झरेको छ । भदौ महिनामा यस्तो औसत ब्याजदर ४.१३ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०१ प्रतिशत बिन्दुले घटेर ३.०७ प्रतिशतमा कायम भएको छ । भदौ महिनामा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.०८ प्रतिशत थियो । असोज महिनाका लागि चार बैंकले ब्याजदर घटाएका छन् भने १६ वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकमा एभरेस्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक रहेका छन् । यस्तै, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एसिया बैंकले असोजका लागि ब्याजदर यथावत् राखेका छन् ।
भारतमा खुद्रा मुद्रास्फीति अगस्टमा बढेर ४.८२ प्रतिशत
काठमाडौं । भारतमा खुद्रा मुद्रास्फीति अगस्ट महिनामा बढेर ४.८२ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाएको छ । सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति जुलाईको ४.४५ प्रतिशतबाट बढेर अगस्टमा ४.८२ प्रतिशत पुगेको हो । त्यस्तै, खाद्य मुद्रास्फीति पनि बढेको छ । अगस्टमा खाद्य मुद्रास्फीति ५.९५ प्रतिशत पुगेको छ, जुन जुलाईमा ५.५२ प्रतिशत थियो । यसरी अगस्टमा भारतको समग्र खुद्रा मुद्रास्फीति र खाद्य मुद्रास्फीति दुवै अघिल्लो महिनाको तुलनामा बढेका छन् ।
प्रभु स्टक मार्केटले ५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा रिजर्भ कोषबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २३ गते अपराह्न ४ बजे काठमाडौंको बुद्धनगरस्थित कार्यालयमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पेस हुनेछ । त्यसैगरी, सञ्चालक समितिको रिक्त स्थानमा गरिएको सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिको संख्या परिवर्तन गर्ने तथा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।