सीजी ब्रुअरीको नयाँ बियर ‘ठमेल’ बजारमा, मूल्य २३० रुपैयाँ
काठमाडौं । सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ । यसबाट बियरमा फूल तथा सिट्रसको सुगन्ध आउने र तीतोपन कम रहने कम्पनीको दाबी छ । कम्पनीले ‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा बजारमा ल्याएको जनाएको छ । बियरको नाम र प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले ठमेलको वातावरण, ऊर्जा र अनुभवलाई बियरमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको बताए । ‘ठमेल’ ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ । कम्पनीका अनुसार ६५० मिलिलिटरको मूल्य ४५० रुपैयाँ र ३३० मिलिलिटरको मूल्य २३० रुपैयाँ तोकिएको छ । हाल यो बियर काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा र धरानका चयनित बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा देशभर बजार विस्तार गर्ने योजना कम्पनीको छ ।
ट्रम्प-नेतान्याहू सत्तामा हुन्जेल हर्मुज स्ट्रेट नखोल्ने इरानको दावी
काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहुन्जेल आफ्नो देशले हर्मुज स्ट्रेट खोल्ने कुनै सोंच नरहेको बताएका छन् । इरानी समाचार एजेन्सीहरूले बिहीबार (हिजो) प्रकाशित गरेको उनको भनाइमा जोल्कदरले भनेका छन्, ‘इरानले आक्रामक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको छ ।’ उनका अनुसार डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सत्ताबाट नहटाइएसम्म हर्मुज स्ट्रेट खोलिने छैन । उनले यसलाई इरानको प्रतिशोधात्मक कारबाहीको पहिलो चरण भएको बताएका छन् । बीबीसी पर्सियनका अनुसार एकातिर डोनाल्ड ट्रम्प इरानसँगको युद्ध वा वार्ताबारे पटक–पटक र कहिलेकाहीँ परस्पर विरोधाभासी अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतर्फ इरानभित्र अमेरिकासँगको सैन्य टकराव जारी राख्ने वा वार्ताको बाटो अपनाउने भन्ने विषयमा मतभेद गहिरिँदै गएको छ । इरानका केही शीर्ष राजनीतिक नेताहरूले अमेरिकासँग इस्लामाबाद सम्झौता कार्यान्वयन गर्न र त्यसलाई युद्ध अन्त्य गर्ने एउटा सर्तका रूपमा स्वीकार गर्न अपिल गरिरहेका छन् । त्यस्ता नेताहरूमा राष्ट्रपति मसुद पेजेस्कियान र संसद् अध्यक्ष मोहम्मद बाकेर गालिबाफ पनि छन् । तर, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का सैनिक तथा कमान्डरसहितका कट्टरपन्थी समूहले भने युद्ध जारी राख्नु र हर्मुज स्ट्रेट बन्द गर्नु अमेरिका तथा इजरायलको सामना गर्ने बढी प्रभावकारी रणनीति भएको बताइरहेका छन् । यसैबीच, बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र इरानका दक्षिणी बन्दरगाहमा जारी नौसैनिक नाकाबन्दीका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय मुद्राको तुलनामा इरानी रियालको अवमूल्यनले मानिसहरूको आर्थिक समस्या झन् बढाएको छ ।
राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार २८ दिनका लागि ३० अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । बोलकबोल असोज २ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत हुने राष्ट्र बैंकले जनाएको छ । यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी असोज ३० गते गरिनेछ । बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ । राष्ट्र बैंकले निक्षेप संकलनका लागि प्राप्त बोलमध्ये सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गर्नेछ । समान ब्याजदरमा परेको बोल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ । स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै खातामा जम्मा गरिनेछ । भुक्तानीको दिन साँवा र निर्धारित ब्याजसहित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । राष्ट्र बैंकका अनुसार यस्तो निक्षेप रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न पाइनेछ । निक्षेप संकलन गरिएको रकम भुक्तानी मितिभन्दा अगाडि फिर्ता वा समयअगावै भुक्तानी गर्न सकिने छैन । राष्ट्र बैंकले बोलकबोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिलाई रहने जनाएको छ ।
१५ वर्षदेखि रुग्ण कमला पुल, अब दुई महिनाभित्र सञ्चालनमा ल्याइने
काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वाधार विकास मन्त्रालयले रुग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो । ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो । नदीमा भाँचिएको दशौँ नम्बरको पिलर उठाउने काम सम्पन्न भएको छ भने सब स्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुनेछ । धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुन माटो भर्ने काम सम्पन्न गरिनेछ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ। यसैगरी, पुलको लोड परीक्षणसमेत सम्पन्न भईसकेको छ । अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २०६८ सालमा पप्पु लुम्बिनी जेभीले पुल निर्माणको ठेक्का लिएको थियो । २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो । सरकारले आयोजनामा भइरहेको ढिलाइको मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ । नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । डिजाइन स्वीकृत गरी आह्वान गरिएको टेन्डरमा जेभीसहित १९ वटा कम्पनीले सहभागिता जनाएका छन् । आगामी हप्ता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने मन्त्रालयको तयारी छ ।
एक सातापछि गोकर्णेश्वरमा शव व्यवस्थापन सुरु
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा राखिएको शव एक सातापछि प्रहरीले पुनः शव व्यवस्थापन गर्न थालेको छ । शिक्षण अस्पतालको शव गृहमा राखिएको ५५ वटा शव गोकर्णेश्वरमा शव व्यवस्थापन गर्न थालिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । ' शव व्यवस्थापन गर्ने ठाउँको खोजी भइरहेको छ। शव व्यवस्थापनका लागि नयाँ ठाउँ नभेटिएपछि पुनः गोकर्णेश्वरमा लगेर व्यवस्थापन गर्न थालिएको हो,' उनले भने । अस्पतालको शव गृहमा अहिले थप शव आएका छैनन् । शव गृहमा राखिएका पुरानै शवलाई व्यवस्थापन गर्न लागिएको अस्पतालको शव गृह परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए । एक साताअघि रसुवाको भोंटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव जंगलमा राख्ने ठाउँ अभाव भएको थियो । गोकर्णेश्वरको जंगलमा राख्दै आएका शवहरू ठाउँ अभाव हुँदा व्यवस्थापन गर्न नसकिएकाले अस्पतालमा राख्नु परिरहेको नेपाल प्रहरीले जनाएको थियो । अस्पतालमा राखिएको शवबाट दुर्गन्ध फैलिइरहेको छ । शव व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको थियो । ठाउँ नभेटिएपछि पुनः गोकर्णेश्वरमा लगेर राखिएको हो । त्रिवि शिक्षण अस्पतालमा राखिएको २ सय ३१ वटा शव व्यवस्थापन भइसकेको एसपी सिंहले जानकारी दिए । अस्पतालमा रसुवा, नुवाकोट र धादिङबाट २ सय ९८ वटा शव आएको छ । अस्पतालमा हाल ५५ वटा शव रहेको उनले बताए । उनका अनुसार मृतकका आफन्तले २५ वटा शव पहिचान गरेर लगिसकेका छन् । अस्पतालमा पछिल्लो केही दिनयता शव आउन छाडेको उनले जानकारी दिए । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण शुक्रबार ११ बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ ।
अधिवेशन प्रक्रिया अघि नबढाएको भन्दै कांग्रेसका चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया अघि बढाउन असहयोग गरेको भन्दै चार जिल्लाका जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ । पार्टीले उनीहरूको स्थानमा नयाँ नेतालाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी परिवर्तन गरिएको हो । जिम्मेवारी खोसिएका चारैजना सभापति पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्छन् । कांग्रेसले कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । त्यस्तै, मुगुका सभापति ऐनबहादुर शाहीको स्थानमा हरिजंग शाहीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई दिइएको छ भने बागलुङका सभापति जित शेरचनको स्थानमा तारानाथ पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ । पार्टीले १५औं महाधिवेशनअन्तर्गतका अधिवेशन प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला नेतृत्वलाई निर्देशन दिँदै आएको थियो। तर तोकिएको प्रक्रियामा अघि नबढेपछि जिल्ला नेतृत्व परिवर्तन गरिएको कांग्रेसको भनाइ छ । जिम्मेवारी खोसिएका जिल्ला सभापतिहरू पूर्वसभापति देउवानिकट रहेकाले पछिल्लो निर्णयलाई कांग्रेसभित्र संस्थापन र पूर्वसंस्थापन पक्षबीचको विवादसँग जोडेर हेरिएको छ । यद्यपि, पार्टी कार्यालयले भने निर्णयको आधारका रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण नभएको विषयलाई उल्लेख गरेको छ । चार जिल्लामा नयाँ कार्यवाहक सभापति तोकिएसँगै अब ती जिल्लामा रोकिएको अधिवेशन प्रक्रिया अघि बढाउने जिम्मेवारी उनीहरूलाई दिइएको छ । यस निर्णयले कांग्रेसको १५औं महाधिवेशनको तयारीसँगै पार्टीभित्रको आन्तरिक शक्ति संघर्षसमेत थप स्पष्ट रूपमा सतहमा ल्याएको छ ।
यात्री पी२ को मूल्य सार्वजनिक, ३ लाख २९ हजार ९ सयबाट सुरु
काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ विद्युतीय स्कुटर यात्री पी२ को मूल्य सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् । नेपालका विभिन्न भौगोलिक अवस्था र सडकलाई ध्यानमा राखेर विकास गरिएको पी२ शहरी यात्राका साथै उकालो, घुम्ती सडक, दैनिक ट्राफिक र लामो दूरीको यात्राका लागि समेत डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्कुटरमा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ, जसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । यसमा एक्टिभली कुल्ड हाई–पावर कन्ट्रोलर, उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पांग्रा प्रयोग गरिएको छ । सुरक्षाका लागि डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ । पी२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार तीनवटा ब्याट्री विकल्पमध्ये छनोट गर्न सक्नेछन् । ३.० किलोवाट घण्टाको ब्याट्रीले वास्तविक शहरी अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट घण्टाको ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट घण्टाको ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । थप रेन्ज आवश्यक पर्ने ग्राहकका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज लिन सकिनेछ । ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको छ । स्कुटरमा अनबोर्ड चार्जर जडान गरिएको छ। ब्याट्रीको क्षमताअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । पी२ ले फास्ट चार्जिङसमेत समर्थन गर्ने र उपयुक्त चार्जिङ अवस्थामा करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । शहरबाहिर यात्रा गर्ने ग्राहकलाई सहज बनाउन कम्पनीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ । पी२ मा ७ इन्चको टचस्क्रिन डिस्प्ले राखिएको छ । यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा रहेको कम्पनीले जनाएको छ । डिस्प्लेमार्फत नेभिगेसन तथा आवश्यक राइडिङसम्बन्धी जानकारी हेर्न सकिनेछ । मोबाइल एपमार्फत लाइभ स्कुटर ट्र्याकिङ, वास्तविक समयको चार्जिङ अवस्था, रुट योजना तथा सर्भिस बुकिङ गर्न सकिनेछ । प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबीबिना स्कुटर सञ्चालन गर्न सकिने सुविधा पनि दिइएको छ । पी२ एद्दमा विभिन्न राइडिङ मोड, स्मार्ट चार्जिङ मोड, बहुस्तरीय रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड र क्रुज कन्ट्रोलजस्ता सुविधा पनि छन् । सुरक्षाका लागि एलईडी हेडलाम्प, रिजेनेरेटिभ ब्रेकिङसँगै सक्रिय हुने टेललाइट, एन्टी–थेफ्ट सूचना र मोटर लकजस्ता सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्राहकले अनलाइन कन्फिगुरेटरमार्फत स्कुटरको रङ, ब्याट्री क्षमता, आराम तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गरी आफूअनुकूलको स्कुटर तयार गर्न सक्नेछन् । काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यहाँ ग्राहकले स्कुटर प्रत्यक्ष हेर्न, परीक्षण गर्न तथा बुकिङ गर्न सक्नेछन् । कम्पनीका अनुसार ३.७ र ५.२ किलोवाट घण्टा ब्याट्री भएका भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुनेछ भने अन्य भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु गर्ने तयारी छ । पी२ सिप्रदी यात्रीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम भएको कम्पनीले जनाएको छ । यसमा सवारी इन्जिनियरिङ, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा समेटिएको कम्पनीको भनाइ छ ।
बिहान खाली पेट धनियाँको पानी पिउँदा शरीरमा के हुन्छ ?
काठमाडौं । बिहान खाली पेट धनियाँको पानी पिउने चलन पछिल्लो समय बढेको छ । धनियाँको पानीले पाचन सुधार्ने, पेटको समस्या कम गर्ने र शरीरमा पानीको सन्तुलन कायम राख्न सहयोग गर्ने दाबी गरिन्छ । तर यो कुनै रोगको उपचारको विकल्प भने होइन । धनियाँ लामो समयदेखि नेपाली तथा दक्षिण एसियाली खानामा प्रयोग हुँदै आएको मसला हो । धनियाँमा लिनालुल, फ्लाभोनोइड र विभिन्न खनिज पदार्थ पाइन्छन् । यी तत्त्वका कारण धनियाँमा केही स्वास्थ्यसम्बन्धी फाइदा हुन सक्ने अध्ययनहरूले देखाएका छन् । धनियाँको पानीले पेट फुल्ने, ग्यास तथा अपचजस्ता सामान्य समस्या कम गर्न सहयोग गर्न सक्ने विज्ञहरू बताउँछन् । धनियाँमा पाइने लिनालुलले पाचन प्रणालीका मांसपेशीलाई आराम दिन सहयोग गर्न सक्ने भएकाले पेटलाई सहज बनाउन मद्दत पुग्न सक्छ । धनियाँलाई परम्परागत रूपमा शरीरलाई शीतलता दिने खाद्य पदार्थका रूपमा प्रयोग गरिन्छ । त्यसैले पेटमा जलन वा अमिलोपना हुने व्यक्तिले धनियाँको पानी सेवन गर्दा केही राहत महसुस गर्न सक्छन् । तर लगातार पेट पोल्ने वा अमिलोपना भइरहेमा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । केही अध्ययनमा धनियाँका तत्वले रक्तचिनी नियन्त्रणसँग सम्बन्धित प्रभाव देखाएको पाइएको छ । तर घरमा बनाइने सामान्य धनियाँको पानीले मधुमेह नियन्त्रण गर्छ भन्ने पर्याप्त प्रमाण छैन । मधुमेहको औषधी सेवन गरिरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना औषधिको सट्टा धनियाँको पानी प्रयोग गर्नु हुँदैन । कसरी बनाउने धनियाँको पानी ? राति एक गिलास अर्थात् करिब २५० मिलिलिटर पानीमा एक ठूलो चम्चा साबुत धनियाँको बीउ भिजाउन सकिन्छ। धनियाँलाई पानीमा हाल्नुअघि हल्का कुट्दा बीउको बाहिरी भाग फुट्छ र पानीमा यसको स्वाद तथा केही तत्व राम्रोसँग मिसिन सक्छ। भोलिपल्ट बिहान धनियाँसहितको पानीलाई २–३ मिनेट हल्का तताएर छान्न सकिन्छ। त्यसपछि मनतातो अवस्थामा खाली पेट पिउन सकिन्छ। तर धनियाँको पानीलाई ‘डिटक्स’ गरेर शरीरका सबै विषाक्त पदार्थ निकाल्ने वा तौल घटाउने निश्चित उपायका रूपमा लिनु हुँदैन । सन्तुलित आहार, पर्याप्त पानी, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्रा स्वास्थ्यका लागि बढी महत्त्वपूर्ण हुन्छन् । कुनै दीर्घरोग भएका वा नियमित औषधि सेवन गरिरहेका व्यक्तिले धनियाँको पानीलाई नियमित रूपमा प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।