माधव नेपाल र मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

७६ करोड बिगो मागदाबी

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७६ करोड रुपैयाँ बिगो मागदाबीसहित उनीहरूविरुद्ध विशेष अदालतमा अभियोगपत्र पठाएको हो । 

अहिले अदालतमा मुद्दा दर्ताका लागि आवश्यक कागजात रुजु गर्ने काम भइरहेको छ ।

इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा र बिक्री गरिएको प्रकरणमा अख्तियारले उनीहरूलाई प्रतिवादी बनाएको हो ।

उक्त जग्गा सट्टापट्टा र बिक्री गर्न मन्त्रिपरिषदबाट निर्णय गराइएको विषयमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियारका अनुसार ९४ जना प्रतिवादीमध्ये ५३ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि विपक्षी बनाइएको छ । यस प्रकरणमा कुल ७६ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

अख्तियारका सहप्रवक्ता पर्वत गिरीले प्रतिवादीको संख्या धेरै भएकाले अभियोगपत्र र सम्बन्धित कागजात रुजु गर्ने काम भइरहेको बताए ।

उनका अनुसार मुद्दा औपचारिक रूपमा दर्ता भएपछि प्रतिवादीहरू, उनीहरूमाथि लगाइएका आरोप, बिगो दाबी र जग्गा जफत गर्न गरिएको मागबारे थप विवरण स्पष्ट हुनेछ ।

Share News