नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक इन्टरनेसनलले नुवाकोटको बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

गत भदौ १० गते आएको बाढीले बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति पुर्याएपछि स्थानीय सेवाग्राहीलाई सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले विदुर नगरपालिका–२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याइएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आज आयोजित एक कार्यक्रमबीच शाखाको उद्घाटन गरेका हुन् । बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा छ ।

शाखा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि ग्राहकलाई निरन्तर बैंकिङ सेवा उपलब्ध गराउन बट्टारमा नयाँ शाखा सञ्चालन गरिएको बताए । उनले कठिन परिस्थितिमा पनि शाखा सञ्चालनका लागि खटिएका कर्मचारीको प्रशंसा गरे । बाढीले शाखामा ठूलो क्षति पुर्याए पनि त्यहाँ कार्यरत कर्मचारी भने सुरक्षित रहन सफल भएका थिए ।

सुविधासम्पन्न बट्टार शाखामार्फत बैंकले ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सबै प्रकारका खुद्रा बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ । साथै, साना तथा कर्पोरेट व्यवसायीलाई वित्तीय पहुँचमा जोड्ने लक्ष्य पनि बैंकले राखेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्ने भएको छ । शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) परीक्षण र मधुमेह परीक्षणलगायत सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

बागमती प्रदेशमा सिटिजन्स बैंकका ५६ शाखा सञ्चालनमा छन् । बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड पनि सञ्चालनमा ल्याएको थियो । बैंकले सन् २०२४ र २०२५ मा ‘बैंक अफ द इयर’ अवार्डसमेत प्राप्त गरेको जनाएको छ । 

Share News