विकासन्युज

डा. अर्जुन सापकोटाविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार डा. सापकोटाले सरकारी सेवामा रहँदा आफ्नो आयभन्दा धेरै सम्पत्ति जोडेको र त्यसको वैधानिक स्रोत पुष्टि गर्न नसकेको निष्कर्ष निकालेको छ । आयोगले डा. सापकोटाको २०५२ माघ २८ देखि २०८० जेठ ३० गतेसम्मको आय–व्यय विश्लेषण गरेको थियो । अनुसन्धानमा उनको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ रहेको देखिएको छ । तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन, सेयर, बीमा, विदेश भ्रमण, अध्ययन खर्च, सुन खरिद, बैंक मौज्दातलगायत शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको दाबी छ । यसरी आयभन्दा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बढी खर्च र लगानी भएको तथा त्यसको स्रोत पुष्टि गर्न नसकेको भन्दै अख्तियारले उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो । अख्तियारले डा. सापकोटामाथि बिगो बराबर जरिवाना, कैद र गैरकानुनी सम्पत्ति जफतको माग गरेको छ । साथै, सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएर झुट्टा विवरण पेश गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ । आयोगले डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई पनि प्रतिवादी बनाएको छ । अख्तियारका अनुसार श्रीमतीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको हो ।

वर्षाका कारण सूर्यगढी-मनेडाँडा सडक हिलाम्मे, बीच बाटोमै रोकियो राहत (तस्बिरसहित)

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ मनेडाँडा जाने सडक वर्षाका कारण हिलाम्मे हुँदा आवतजावतमा समस्या भएको छ । सडक बिग्रिएपछि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् । हाल मनेडाँडा पुग्ने मुख्य सडक यही भएकाले अन्य वैकल्पिक मार्ग नहुँदा स्थानीय तथा राहत सामग्री ओसारपसार गर्ने सवारीसाधनले थप समस्या भोग्नुपरेको छ । कालिकास्थानमा राखिएका होल्डिङ सेन्टरसम्म राहत सामग्री पुर्‍याउन सडकमार्ग नै प्रमुख माध्यम हो । सडकको अवस्थाले राहत वितरणमा समेत असर परेको राहत वितरण गरेर फर्किएका सुमन तामाङले जानकारी दिए । स्थानीयका अनुसार पानी पर्नासाथ सडक थप हिलाम्मे हुने गरेको छ । सडकमा सवारीसाधन फस्दा सम्बन्धित स्थानमा पुर्‍याउनुपर्ने राहत सामग्रीसमेत बाटोमै रोकिँदै आएको छ । चार पाङ्ग्रे सवारीसाधनलाई समेत आवतजावतमा समस्या रहेको सडकमा दुई पाङ्ग्रे सवारीसाधन चलाउन झन् कठिन रहेको स्थानीयको भनाइ छ ।  गत भदौ १० गते रसुवा क्षेत्रमा अकस्मात् आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लालाई सबैभन्दा धेरै प्रभावित बनाएको छ । उक्त क्षेत्रमा आएको बाढीले १ हजार ३ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा बढी सम्पर्कविहीन छन् । अहिले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरू भइरहेको छ । तर बाटोको अवस्थाको कारण सम्बन्धित ठाउँमा राहत पुग्न कठिनाइ हुँदै आएको छ । 

एक महिनामै बैंकको नाफा पौने ९ अर्ब, पुच्छारमा ज्वाइन्ट भेन्चर बैंक

काठमाडौं । २० वटा वाणिज्य बैंकले एक महिनामै पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा वाणिज्य बैंकहरूले ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  साउनमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ७३ करोड ४४ लाख रुपैयाँ र कुमारी बैंकले ५४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।  राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ, प्राइम बैंकले ५२ करोड १८ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४९ करोड २१ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकले ४७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । त्यस्तै, सिद्धार्थ बैंकले ४२ करोड ९४ लाख रुपैयाँ, कृषि विकास बैंकले ३८ करोड ८२ लाख रुपैयाँ, सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकले ३२ करोड ९३ लाख रुपैयाँ, नेपाल बैंकले ३० करोड ८६ लाख रुपैयाँ, हिमालयन बैंकले २७ करोड ३० लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सिटिजन्स बैंकले २५ करोड ९२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले २२ करोड १७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड ३८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

१३ देशमा राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले चीन, भारत र अमेरिकासहित १३ देशमा राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूतको नाम सिफारिस गरेको हो । कुन देशमा को ?  १. भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे २. चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा ३. अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा ४. यूकेका लागि प्रस्तावित राजदूत पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा ५. जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा ६. इजरायलका लागि प्रस्तावित राजदूत रेशकुमार कर्ण ७. स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन ८. जर्मनीका लागि प्रस्तावित राजदूत शारू जोशी ९. ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणा १०. मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल ११. दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतप्रा. डा. सङ्गम श्रेष्ठ १२. श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मंचल झा १३. साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार अब सरकारले राजदूतका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको रूपमा संसदीय सुनुवाइको लागि पठाउनेछ ।  संसदीय सुनुवाइ समितिले अनुमाेदन गरिसकेपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउँछ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानमन्त्री शाह र गुटेरेसबीच न्युयोर्कमा भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनअन्तर्गतको उच्चस्तरीय सप्ताहमा सहभागी हुँदै असोज ८ गते महासभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ मा न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले प्रेस नोट जारी गरेर जनाएको छ । यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय सप्ताहअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन असोज ४ मै न्युयोर्क प्रस्थान गर्ने भएका छन् । परराष्ट्रमन्त्री खनालले न्युयोर्कमा विभिन्न मुलुकका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । ती भेटवार्तामा नेपालका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यन्जनकर, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुने मन्त्रालयले जनाएको छ ।

कांग्रेसको १५औं महाधिवेशनमा ६ प्रदेश र ७३ जिल्ला सभापति सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा हाल बहाल रहेका ७ प्रदेश सभापतिमध्ये ६ जना र ७७ जिल्ला सभापतिमध्ये ७३ जना सहभागी हुने भएका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले सुदूरपश्चिम प्रदेश सभापति तथा चार जिल्लाका सभापतिबाहेक सबै प्रदेश र जिल्ला सभापति महाधिवेशन प्रक्रियामा सहभागी हुने जानकारी दिए । उनका अनुसार महाधिवेशन प्रक्रियामा सहभागी नहुने जिल्ला सभापतिमा कञ्चनपुरका पदम बोगटी, मुगुका ऐनबहादुर शाही, डोटीका नरेन्द्रबहादुर सिंह र बागलुङका जित शेरचन रहेका छन् । उनीहरूले पार्टीले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहयोग नगरेको भन्दै सम्बन्धित जिल्लामा नेतृत्व परिवर्तन गरिएको कांग्रेस प्रवक्ता चालिसेले जानकारी दिए ।  कांग्रेसले यी जिल्लामा सभापतिको जिम्मेवारीसमेत परिवर्तन गरेको छ ।  निर्वाचित सभापतिहरूको स्थानमा कार्यवाहक सभापति तोकेर महाधिवेशनअन्तर्गतका संगठनात्मक गतिविधि अघि बढाउने तयारी गरिएको छ ।  यस्तै, अहिलेसम्म सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर महाधिवेशनमा भाग लिने नलिने पक्का नभएको चालिसेले बताए । प्रवक्ता चालिसेका अनुसार सुदूरपश्चिम प्रदेशबाहेक कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सभापति १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुनेछन् ।  त्यस्तै, ७७ जिल्लामध्ये चार जिलाबाहेकका ७३ जिल्ला सभापति महाधिवेशनमा सहभागी हुने चालिसेले जानकारी दिए । कांग्रेसले महाधिवेशनको तयारी अघि बढाइरहेका बेला प्रदेश तथा जिल्ला तहका नेतृत्वको सहभागितालाई महत्वपूर्ण मानिएको चालिसेले बताए ।  जिल्ला तहबाट हुने अधिवेशन, प्रतिनिधि छनोट र महाधिवेशन प्रतिनिधिको व्यवस्थापनमा जिल्ला सभापतिको भूमिका रहने भएकाले उनीहरूको सहभागिता महाधिवेशन प्रक्रियासँग प्रत्यक्ष जोडिएको चालिसेले जानकारी दिए । पार्टीभित्र महाधिवेशनको मिति, अधिवेशनका बाँकी प्रक्रिया र प्रतिनिधि छनोटलगायत विषयमा संस्थापन र इतर पक्षबीच मतभिन्नता रहँदै आएको छ । 

युवा सांसदलाई रोजगारी सिर्जनामा उदाहरण बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी पुस्ताका सांसदहरूलाई नवीन सोचका साथ आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न आग्रह गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार (आज) जेन्जी पुस्ताका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले यस्तो आग्रह गरेका हुन् । जनजीविकाका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुका साथै त्यसबाट एक कदम अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री शाहले स्थलगत अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिन, सूचना प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी व्यवहार अपनाउन तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिए । उनले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न पनि सांसदहरूलाई आग्रह गरे ।  दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै अरूका लागि समेत प्रेरणाको स्रोत बन्नुपर्ने उनको भनाइ थियो । अन्तरक्रियामा सहभागी जेन्जी पुस्ताका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका श्रमिकको विवरण बुझाउन निर्देशन

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको हक, हित र सुरक्षालाई ध्यानमा राख्दै वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त म्यानपावर संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ । विभागले श्रमिकको अवस्था सम्बन्धी नियमित विवरण तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा उपलब्ध गराउन म्यानपावर कम्पनीहरूलाई कडा निर्देशन दिएको हो ।  विभागका अनुसार इजाजतपत्र प्राप्त संस्थाहरूले प्रत्येक तीन–तीन महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको प्रगति विवरण बुझाउनुपर्ने साविककै व्यवस्था बमोजिम आगामी २०८३ असोज २१ गतेभित्र संस्था अनुगमन शाखामा उक्त विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । यसैगरी, म्यानपावर कम्पनीहरूले आफूले उडान गराएका श्रमिकहरूको नियमित अनुगमन गरी तीन चरणमा विवरण संकलन तथा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार श्रमिक विदेश गएको १५ दिनभित्र निज सुरक्षित रूपमा सम्बन्धित गन्तव्य मुलुकमा पुगे वा नपुगेको सुनिश्चित गरी विवरण तयार गर्नुपर्नेछ । त्यसैगरी, श्रमिकले वैदेशिक रोजगार सम्झौता बमोजिमको कार्य, तोकिएको तलब तथा अन्य सेवा–सुविधा पाए वा नपाएको विषयमा प्रत्यक्ष सम्पर्क गरी वास्तविक अवस्थाको प्रतिवेदन तयार गर्नुपर्नेछ । कम्पनीहरूले संकलन गरेको श्रमिकको अवस्था सम्बन्धी यो सम्पूर्ण विवरण उडान भएको २० दिनभित्र अनिवार्य रूपमा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखाको इमेल मार्फत पेस गरिसक्नुपर्नेछ । तोकिएको निर्देशन पालना नगर्ने वा श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थाहरूमाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कानुनी कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।