विकासन्युज

तिहारलगत्तै सरकारको प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिने दाहालको चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।  उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए ।  उनले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरुलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए ।  उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको जानकारी दिए । संयोजक दाहालले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए ।  उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरुको एजेडाप्रति आकर्षण बढ्दै गएको दाबीसमेत गरे । सरकारले नागिरकको पक्षमा काम गर्न नसकेको संयोवक दाहालको आरोप छ । 

पोखरामा जीडब्ल्यूएमको नयाँ शोरुम, ओरा ५ र जोलियन म्याक्स ईभी सार्वजनिक

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) नेपालको आधिकारिक डिलर रेज मोटर्स प्रालिले पोखराको उत्तमचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुम उद्घाटनसँगै कम्पनीले ओरा ५ र हाभल जोलियन म्याक्स ईभी पनि पोखरा बजारमा सार्वजनिक गरेको छ । नयाँ शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, स्थानीय प्रतिनिधि, अटोमोबाइल व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । कम्पनीका अनुसार ओरा ५ मा ५८.३ किलोवाट-घण्टाको ब्याट्री रहेको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार एक पटकको चार्जमा ४३५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ । गाडीमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित विभिन्न सुरक्षा र स्मार्ट प्रविधिका सुविधा पनि उपलब्ध छन् । त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट-घण्टाको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, एडीएएस र भीटूएल सुविधा पनि छन् । उत्तमचोकस्थित नयाँ शोरुमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ‘थ्री–एस’ सेवा एकै स्थानबाट पाउने कम्पनीले जनाएको छ । शोरुममा जीडब्ल्यूएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शनमा राखिने र ईभीका लागि आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराइनेछ । रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जीडब्ल्यूएम ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै बिक्रीसँगै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने बताए । भीजी इम्पेक्सका महाप्रबन्धक (बिक्री तथा सञ्चालन) अधिरकुमार श्रेष्ठले पोखरालाई जीडब्ल्यूएमको विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा लिइएको बताए । उनका अनुसार नयाँ शोरुममार्फत पोखरा र आसपासका जिल्लाका ग्राहकले जीडब्ल्यूएमका गाडी र सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । कम्पनीले नयाँ शोरुम सञ्चालनसँगै ओरा ५ र हाभल जोलियन म्याक्स ईभीको बुकिङ र टेस्ट ड्राइभ पनि खुला गरेको जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले ३ सय ८१ अस्पताललाई दियो डेढ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक ३ सय ८१ स्वास्थ्य संस्थाहरूलाई रु. १ अर्ब ४५ करोडभन्दा बढी रकम भुक्तानी गरेको छ । बोर्डले असोज २ गते सेवा प्रदायक स्वास्थ्य संस्थालाई पठाएको पत्रअनुसार जेठ महिनासम्मको दाबी रकममध्ये सूचना प्रविधि शाखाबाट रुजु भई स्वीकृत भएका दाबीको भुक्तानी प्रक्रिया अघि बढाइएको हो । स्वीकृत दाबी रकममध्ये केही स्वास्थ्य संस्थाको रकम बाँकी रहेको, केही संस्थाको बैंक खाता नम्बर उपलब्ध नभएको तथा दुईवटा संस्थाको रकम रोक्का रहेको थियो ।  ती रकमसमेत व्यवस्थापन गरी भुक्तानी गरिएको पत्रमा उल्लेख छ । यसअघि रुजु भइसकेर पनि भुक्तानी हुन बाँकी रहेको रकमलाई समेत समेटेर भुक्तानी गरिएको बोर्डले जनाएको छ । स्वीकृत दाबी रकमको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरी बाँकी रकम सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको खातामा पठाउने व्यवस्था गरिएको छ । बोर्डले २०८३/०६/०१ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेटबाट निकासा भएको रकमबाट सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी गर्ने जनाएको छ।  स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पतालहरूले बीमितलाई उपचार सेवा उपलब्ध गराएपछि त्यसबापतको रकम बोर्डमा दाबी पेस गर्छन् ।  दाबी रुजु तथा स्वीकृत भएपछि मात्र अस्पतालले शोधभर्ना पाउने भएकाले दाबी व्यवस्थापन र भुक्तानीको समय स्वास्थ्य संस्थाका लागि महत्त्वपूर्ण हुने गरेको छ । बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सम्बन्धित भुक्तानीबारे जानकारी गराउँदै दाबी भुक्तानीसम्बन्धी विवरण अद्यावधिक राख्नसमेत अनुरोधसमेत गरेको छ ।

‘जलवायुजन्य विपदबाट प्रभावित किसानलाई कृषि बीमामा ८० प्रतिशतसम्म अनुदान’

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा हुने क्षतिको राहत व्यवस्थापन प्रदेश सरकारमार्फत गरिँदै आएको बताएकी छन् ।  शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले जलवायु परिवर्तन, बाढीपहिरो, खडेरी, असिना, अतिवृष्टिलगायतका विपद्बाट प्रभावित किसानको संरक्षण, शिघ्र राहत तथा क्षतिपूर्ति र कृषि बीमाको पहुँच विस्तारका लागि सरकारले गरेको नीति, कार्यक्रम र बजेटबारे प्रश्न गरेकी थिइन् । जवाफ दिँदै मन्त्री चौधरीले कृषि क्षेत्रमा भएको क्षतिको व्यवस्थापनका लागि प्रदेशस्थित कृषि हेर्ने मन्त्रालयहरूले कार्यविधि बनाएर बजेट व्यवस्थापन तथा राहत प्रदान गर्दै आएको बताइन् । ठूला विपद्का घटनामा प्रदेशमा स्रोतको अभाव भए संघीय मन्त्रालयबाट शसर्त अनुदानमार्फत थप रकम पठाउने व्यवस्था रहेको उनले जानकारी दिइन् । उनका अनुसार आगलागी, हुरीबतास, जंगली जनावर, बाढी, खडेरी, असिनालगायत किसानको नियन्त्रणभन्दा बाहिरका जोखिम न्यूनीकरण गर्न सरकारले बाली, पशुपंक्षी तथा मत्स्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार कृषि तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था रहेको मन्त्री चौधरीले बताइन्। अन्य अनुदानहरू भने क्रमशः घटाउँदै लैजाने नीति रहेको उनको भनाइ छ ।  मन्त्री चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म संघीय सरकारबाट सञ्चालन हुँदै आएको कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा कार्यक्रमअन्तर्गतको प्रिमियम अनुदान र क्षतिको दाबीसम्बन्धी रकम समयमै उपलब्ध गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि कार्यक्रम प्रदेशस्थित कृषि हेर्ने मन्त्रालयमार्फत सञ्चालन हुने गरी सशर्त अनुदानको व्यवस्था गरिएको छ ।  उनले २०८३ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार कृषि, पशुपंक्षी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि स्वीकृत भइसकेको र भदौ १ गतेदेखि लागू भएको जानकारी दिइन् ।  बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन वास्तविक समय (रियल टाइम) मा आधारित ‘एग्रिकल्चर एन्ड लाइभस्टक इन्स्योरेन्स सिस्टम’ सञ्चालनमा रहेको पनि उनले बताइन् । मन्त्री चौधरीले संघीय सरकारले किसानलाई प्रत्यक्ष रूपमा राहत वा क्षतिपूर्ति उपलब्ध नगराउने स्पष्ट पारिन् । उनका अनुसार राहत तथा क्षतिपूर्तिका लागि आवश्यक रकम प्रदेश र स्थानीय तहको संयन्त्रमार्फत उपलब्ध गराउने व्यवस्था छ ।  अचानक ठूलो विपद् आइपरेमा जोखिमको मूल्याङ्कन गरी सम्बन्धित प्रदेशमार्फत स्रोत पठाउने गरिएको उनले बताइन् ।  बाँदर आतंक नियन्त्रणबारे मन्त्री चौधरीले वन्यजन्तु–मानव द्वन्द्व न्युनिकरणका लागि गठन गरिएको अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिइन् ।  प्रतिवेदनका सिफारिसका आधारमा बाँदर आतंक बढी देखिएका २० जिल्लामा नमूना कार्यक्रम सञ्चालन गरी समस्या न्यूनीकरण गर्ने तयारी भइरहेको पनि उनले बताइन् ।

१९६ कम्पनीको सेयर मूल्य बढ्यो, ६ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  शुक्रबार ३४५ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै लक्ष्मी सनराइज बैंकको २७ करोड, ग्लोबल आइएमई बैंकको २३ करोड, लिबर्टी इनर्जीको २२ करोड र सिद्धार्थ बैंकको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   आज स्नो रिभरको सेयर मूल्य १३.६६ प्रतिशतले बढेको छ । नेप्सेमा अधिकांश उपसूचक हरियाली भएका छन् । बैंकिङ, जलविद्युत, जीवन बीमा, माइक्रोफाइनान्सलगायतका समूहमा वृद्धि हुँदा फाइनान्स र अन्य समूह भने घटेका छन् । आज बैंकिङ उपसूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेर १,५११.१६ बिन्दुमा पुगेको छ । जीवन बीमा समूह १.५२ प्रतिशतले बढ्दै ११,९४८.६१ बिन्दुमा पुगेको छ । यस्तै, जलविद्युत समूह ०.८५ प्रतिशत, ट्रेडिङ समूह ०.८५ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४८ प्रतिशत, विकास बैंक ०.४० प्रतिशत, होटल तथा पर्यटन ०.३३ प्रतिशत, म्युचुअल फन्ड ०.१९ प्रतिशत र लगानी समूह ०.१० प्रतिशत ले बढेका छन् । यता, फाइनान्स समूह ०.०२ प्रतिशतले घटेर २,२६७.५३ बिन्दुमा झरेको छ । अन्य समूह पनि ०.११ प्रतिशतले घट्दै १,८३५.६५ बिन्दुमा कायम भएको छ । 

काठमाडौंमा १ केजी सुनसहित भारतीय पक्राउ

काठमाडौँ । काठमाडौँको भेडासिंहमा १ केजी ४ सय ग्राम अवैध सुनसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतीय नागरिक माणिक दास एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका हुन् । कार्यालयका अनुसार उक्त सुन अवैध रहेको जनाएको छ । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाले हर्मुजमा सेना तैनाथ नगर्ने

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले शुक्रबार आफ्नो देशले हर्मुज जलडमरूमध्यमा सेना तैनाथ नगर्ने बताएका छन् । दक्षिण कोरियाले होर्मुज जलडमरूमध्यमा सैन्य बल तैनाथ गर्न सक्ने सम्भावनालाई लिएर पछिल्ला केही सातादेखि देशभर विरोध प्रदर्शन भइरहेका छन् । बीबीसीको फारसी सेवाका अनुसार राष्ट्रपति लीले भने, ‘म यो कुरा स्पष्ट पार्न चाहन्छु कि हामी कुनै पनि प्रकारको सैन्य तैनाथी गर्ने छैनौं । हामी कुनै पनि युद्धमा भाग लिने छैनौं र त्यसमा संलग्न पनि हुने छैनौं ।’ राष्ट्रपति लीले दक्षिण कोरियाले आफ्ना व्यावसायिक पानीजहाज र तेल ढुवानी मार्गको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताए । दुई साताअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दक्षिण कोरियालाई चेतावनी दिँदै भनेका थिए, ‘फारसको खाडी र होर्मुज जलडमरूमध्यमा अन्य पक्षको कुनै पनि परिचालन सहभागिता वा सैन्य उपस्थिति आक्रमणकारीलाई प्रत्यक्ष समर्थन गर्नुबराबर हुनेछ र त्यसको परिणाम भोग्नुपर्नेछ ।’

सीजी ब्रुअरीको नयाँ बियर ‘ठमेल’ बजारमा, मूल्य २३० रुपैयाँ

काठमाडौं । सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ । यसबाट बियरमा फूल तथा सिट्रसको सुगन्ध आउने र तीतोपन कम रहने कम्पनीको दाबी छ । कम्पनीले ‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा बजारमा ल्याएको जनाएको छ । बियरको नाम र प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले ठमेलको वातावरण, ऊर्जा र अनुभवलाई बियरमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको बताए । ‘ठमेल’ ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ । कम्पनीका अनुसार ६५० मिलिलिटरको मूल्य ४५० रुपैयाँ र ३३० मिलिलिटरको मूल्य २३० रुपैयाँ तोकिएको छ । हाल यो बियर काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा र धरानका चयनित बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा देशभर बजार विस्तार गर्ने योजना कम्पनीको छ ।