दशैं–तिहार अफरमा सीएफमोटो २५० डुअल ईएफआईमा २० हजार छुट
काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले दशैं र तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैं भाइब, तिहार लाइट्स र सीएफमोटो राइड्स’ नामक अभियानअन्तर्गत सीएफमोटो २५० डुअल ईएफआई मोटरसाइकलमा नगद छुटदेखि फाइनान्स र वारेन्टीसम्मका सुविधा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार नगदमा सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ फ्ल्याट छुट पाउनेछन् । साथै, ४० प्रतिशत डाउन पेमेन्ट बाटै मोटरसाइकल खरिद गर्न सकिने फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ । यस अफरअन्तर्गत जुनसुकै ब्रान्डको पुरानो दुईपांग्रे सवारी साट्ने ग्राहकलाई अतिरिक्त मूल्याङ्कन (एक्स्ट्रा भ्यालुएसन) को सुविधा पनि दिइने कम्पनीले जनाएको छ । मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रिमियम ह्यान्डगार्ड र प्रमाणित फुल–फेस हेल्मेट निःशुल्क उपलब्ध गराइनेछ । कम्पनीले सीएफमोटो २५० डुअल ईएफआईमा ५ वर्षको इन्जिन वारेन्टी समेत दिने घोषणा गरेको छ । साथै, देशभर रहेका आधिकारिक सेवा केन्द्रमा सक्कली स्पेयर पार्ट्स र प्राविधिक सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ । ऋषि ट्रेड सेन्टरका अनुसार यो चाडपर्व अफर नेपालभर रहेका सबै आधिकारिक सीएफमोटो शोरुम र डिलर नेटवर्कमा सीमित अवधिका लागि लागू हुनेछ ।
विद्यार्थी भएर जापान पुगेका थापा जापानकै लागि राजदूतमा सिफारिस
काठमाडौं । सरकारले जापानका लागि नेपाली राजदूतमा जिज्ञानकुमार थापालाई सिफारिस गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहित १३ जनालाई विभिन्न राष्ट्रका लागि राजदूतमा सिफारिस गरेको हो । थापा ललितपुरको धापाखेलमा जन्मिएका हुन् । उनी सन् २००० मा उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका थिए । थापाले अन्तर्राष्ट्रिय सहयोगमा स्नातक तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर अध्ययन गरेका छन् । जापानमा लामो समय अध्ययन, अध्यापन, अनुसन्धान तथा पेशागत क्षेत्रमा सक्रिय छन् । थापाले जापानी प्रशासन, स्थानीय निकाय, शैक्षिक संस्था तथा जापानस्थित नेपाली समुदायसँग काम गरेको अनुभव हासिल गरेका छन् । नेपालका राष्ट्रपति, परराष्ट्रमन्त्री तथा अन्य उच्च सरकारी अधिकारीहरूको जापान भ्रमणका क्रममा समेत थापाले विभिन्न अवसरमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका थिए । नेपाल–जापानबीच भएका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रममा समेत थापा प्रत्यक्ष रूपमा संलग्न हुँदै आएका थिए । जापानी सञ्चारमाध्यममा समेत परिचित थापाले करिब एक दशक टोक्यो एमएक्स टीभीमा नेपाल–जापान सम्बन्ध तथा अन्तर्राष्ट्रिय विषयमा समाचार विश्लेषकका रूपमा काम गरेका थिए । उनले जापानको सार्वजनिक प्रसारक एनएचके लगायतका सञ्चारमाध्यममा नेपाल, जापान तथा अन्तर्राष्ट्रिय विषयमा आफ्ना धारणा प्रस्तुत गर्दै आएका छन् । थापासँग नेपाल र जापानका स्थानीय सरकार, विश्वविद्यालय, पर्यटन तथा सांस्कृतिक संस्थाबीच सम्बन्ध विस्तारमा समेत काम गरेको अनुभव रहेको उनीनिकटस्थ बताउँछन् । थापासँग जापानी समाजमा लामो समय काम गरेको अनुभव छ । उनी सरकारी तथा स्थानीय तहसम्मको सम्बन्ध, जापानी भाषामाथिको पकड र नेपाल–जापान सम्बन्धमा प्रत्यक्ष संलग्नताका कारण उनी जापानको राजनीतिक, प्रशासनिक तथा सामाजिक परिवेशसँग परिचित रहेका छन् । उनको नियुक्तिसँगै नेपाल–जापानबीचको आर्थिक, कूटनीतिक, पर्यटन, सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । जापानमा रहेका नेपाली नागरिकको हित तथा दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
नोभा क्राउन प्रिमियम आइसक्रिमको ब्रान्ड एम्बेसडरमा शिल्पा मास्के
काठमाडौं । फिसटेल डेरी प्रालि अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अभिनेत्री मास्के र नोभा क्राउनका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता भएको हो । सम्झौतासँगै मास्के नोभा क्राउनका विभिन्न ब्रान्ड प्रवद्र्धन तथा सञ्चार अभियानमा सहभागी हुने भएकी छन् । सम्झौतापछि ब्रान्ड सुपरभाइजर निरौलाले मास्केको प्रतिभा, व्यक्तित्व र युवा पुस्तामाझको लोकप्रियता नोभा क्राउनको ब्रान्ड पहिचानसँग मेल खाने बताए । उनका अनुसार मास्केसँगको सहकार्यले उपभोक्तासँग ब्रान्डको सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभिनेत्री मास्केले पनि नोभा क्राउनसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्य बोकेको ब्रान्डसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताइन् । कम्पनीका अनुसार ब्रान्ड एम्बेसडरका रूपमा मास्के नोभा क्राउनका विज्ञापन, डिजिटल सामग्री, सामाजिक सञ्जाल अभियान, प्रवद्र्धनात्मक कार्यक्रम तथा विभिन्न मार्केटिङ गतिविधिमा सहभागी हुनेछिन् । मास्केसँगको सहकार्यले विशेषगरी युवा तथा आधुनिक जीवनशैली अपनाउने उपभोक्तामाझ नोभा क्राउनको पहुँच विस्तार गर्न र प्रिमियम आइसक्रिम ब्रान्डका रूपमा आफ्नो पहिचान थप बलियो बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । फिसटेल डेरी प्रालि अन्तर्गतको नोभा क्राउन प्रिमियम आइसक्रिमले गुणस्तरीय उत्पादन तथा उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्यका साथ नेपाली बजारमा आफ्ना उत्पादन तथा ब्रान्ड गतिविधि विस्तार गर्दै आएको कम्पनीले जनाएको छ ।
जेनजी सांसदहरूसँग प्रधानमन्त्री शाहले के भने ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जेन–जी उमेर समूहका सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री साहले युवापुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालकाअनुसार प्रधानमन्त्रीले जेन–जी सांसदहरूले डिजिटलाइजेसन, ई–गभर्नेन्स, आर्टिफिसियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र जेन–जी सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताएका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले राजनीतिलाई मात्र पेशा नबनाई सांसदहरूले आफ्नो छुट्टै व्यवसाय वा पेशागत आधारसमेत निर्माण गर्नुपर्ने धारणा राखेको रास्वपाका सांसद केपी खनालले बताए । उनका अनुसार प्रधानमन्त्रीले जेनजी पुस्ताका सांसदसहित युवाहरूलाई उद्यमशीलतामा जोडिन र ‘साइड बिजनेस’ मार्फत आत्मनिर्भर बन्न प्रोत्साहित गरेका थिए । स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रबारे पनि छलफल भएको थियो । नेपालमा आईटी व्यवसाय दर्ता र सञ्चालनका लागि सहज वातावरण निर्माण गर्नुपर्ने विषय सांसदहरूले उठाएका थिए । प्रधानमन्त्रीले नेपालमै व्यवसाय दर्ता गर्ने वातावरण बनाउन सरकार तयार रहेको र समस्या आए सरकारसँग सुझाव तथा समन्वय गर्न आग्रह गरेको सांसद खनालले बताए । प्रधानमन्त्रीले जेन–जी पुस्ताका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । त्यसका लागि बैंकिङ कर्जा प्रक्रियालाई सहज बनाउने तथा नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको थियो । छलफलमा जेनजी आन्दोलनका क्रममा पक्राउ परेका, घाइते तथा मृत्यु भएका व्यक्तिका विषय पनि उठाइएको सांसदहरूले बताएका छन् । सांसद खनालका अनुसार आन्दोलनका क्रममा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालयअन्तर्गत अध्ययन समिति गठन भएको छ । समितिले मुद्दाहरूको वर्गीकरण गरी विद्यमान कानूनअनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढाउने विषयमा काम गरिरहेको उनले बताए । तर गम्भीर प्रकृतिका अपराध, हातहतियार, ज्यानसम्बन्धी कसुर तथा लुटपाटलगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाइ छ । उनका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढाउने बताइएको छ । सांसद खनालले प्रधानमन्त्रीले जेनजी उमेर समूहका सांसदहरूबाट आफ्नै पुस्ताका मुद्दालाई फरक ढंगले संसदमा प्रस्तुत गर्ने अपेक्षा राखेको बताए । उनका अनुसार अहिले विद्यालय तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी, विदेशमा रहेका युवा, खेलकुद र कला क्षेत्रमा रहेका युवालगायतका समूहका समस्या र अपेक्षालाई संसदको मूल एजेण्डा बनाउनुपर्ने प्रधानमन्त्री साहको भनाइ छ । अन्तरक्रियामा सहभागी सांसदहरूलाई प्रधानमन्त्रीले स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी दृष्टिकोण अपनाउन र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सांसदहरूलाई रचनात्मक आलोचना गर्न आग्रह प्रधानमन्त्रीले सरकारका कामकारबाहीबारे सांसदहरूले रचनात्मक आलोचना तथा सुझाव दिनुपर्ने बताएको सांसदहरूले जानकारी दिएका छन् । समस्या देखिए त्यसको समाधानका लागि सरकारसँग समन्वय गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका थिए । रास्वपाका सांसद बब्लु गुप्ताका अनुसार प्रधानमन्त्रीले संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा आफूले चासो राख्ने गरेको बताएका थिए । गुप्ताले सरकार सञ्चालनका क्रममा कमजोरी भए सच्याउँदै अघि बढ्ने प्रतिवद्धता आफूहरूले पनि व्यक्त गरेको बताए । अन्तरक्रियामा प्रधानमन्त्रीले जेन–जी पुस्ताका सांसदहरूलाई अभिभावकीय मार्गदर्शनका रूपमा आफ्नै पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्ने र आत्मनिर्भर बन्ने अभियानमा लाग्न आग्रह गरेका थिए । सहभागी सांसदहरूले पनि त्यसलाई सकारात्मक रूपमा लिँदै युवा पुस्ताका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
डा. अर्जुन सापकोटाविरुद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार डा. सापकोटाले सरकारी सेवामा रहँदा आफ्नो आयभन्दा धेरै सम्पत्ति जोडेको र त्यसको वैधानिक स्रोत पुष्टि गर्न नसकेको निष्कर्ष निकालेको छ । आयोगले डा. सापकोटाको २०५२ माघ २८ देखि २०८० जेठ ३० गतेसम्मको आय–व्यय विश्लेषण गरेको थियो । अनुसन्धानमा उनको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ रहेको देखिएको छ । तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन, सेयर, बीमा, विदेश भ्रमण, अध्ययन खर्च, सुन खरिद, बैंक मौज्दातलगायत शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको दाबी छ । यसरी आयभन्दा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बढी खर्च र लगानी भएको तथा त्यसको स्रोत पुष्टि गर्न नसकेको भन्दै अख्तियारले उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको हो । अख्तियारले डा. सापकोटामाथि बिगो बराबर जरिवाना, कैद र गैरकानुनी सम्पत्ति जफतको माग गरेको छ । साथै, सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएर झुट्टा विवरण पेश गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ । आयोगले डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई पनि प्रतिवादी बनाएको छ । अख्तियारका अनुसार श्रीमतीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको हो ।
वर्षाका कारण सूर्यगढी-मनेडाँडा सडक हिलाम्मे, बीच बाटोमै रोकियो राहत (तस्बिरसहित)
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ मनेडाँडा जाने सडक वर्षाका कारण हिलाम्मे हुँदा आवतजावतमा समस्या भएको छ । सडक बिग्रिएपछि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् । हाल मनेडाँडा पुग्ने मुख्य सडक यही भएकाले अन्य वैकल्पिक मार्ग नहुँदा स्थानीय तथा राहत सामग्री ओसारपसार गर्ने सवारीसाधनले थप समस्या भोग्नुपरेको छ । कालिकास्थानमा राखिएका होल्डिङ सेन्टरसम्म राहत सामग्री पुर्याउन सडकमार्ग नै प्रमुख माध्यम हो । सडकको अवस्थाले राहत वितरणमा समेत असर परेको राहत वितरण गरेर फर्किएका सुमन तामाङले जानकारी दिए । स्थानीयका अनुसार पानी पर्नासाथ सडक थप हिलाम्मे हुने गरेको छ । सडकमा सवारीसाधन फस्दा सम्बन्धित स्थानमा पुर्याउनुपर्ने राहत सामग्रीसमेत बाटोमै रोकिँदै आएको छ । चार पाङ्ग्रे सवारीसाधनलाई समेत आवतजावतमा समस्या रहेको सडकमा दुई पाङ्ग्रे सवारीसाधन चलाउन झन् कठिन रहेको स्थानीयको भनाइ छ । गत भदौ १० गते रसुवा क्षेत्रमा अकस्मात् आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लालाई सबैभन्दा धेरै प्रभावित बनाएको छ । उक्त क्षेत्रमा आएको बाढीले १ हजार ३ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा बढी सम्पर्कविहीन छन् । अहिले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरू भइरहेको छ । तर बाटोको अवस्थाको कारण सम्बन्धित ठाउँमा राहत पुग्न कठिनाइ हुँदै आएको छ ।
एक महिनामै बैंकको नाफा पौने ९ अर्ब, पुच्छारमा ज्वाइन्ट भेन्चर बैंक
काठमाडौं । २० वटा वाणिज्य बैंकले एक महिनामै पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा वाणिज्य बैंकहरूले ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । साउनमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ७३ करोड ४४ लाख रुपैयाँ र कुमारी बैंकले ५४ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ, प्राइम बैंकले ५२ करोड १८ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४९ करोड २१ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख रुपैयाँ र एनएमबि बैंकले ४७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । त्यस्तै, सिद्धार्थ बैंकले ४२ करोड ९४ लाख रुपैयाँ, कृषि विकास बैंकले ३८ करोड ८२ लाख रुपैयाँ, सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकले ३२ करोड ९३ लाख रुपैयाँ, नेपाल बैंकले ३० करोड ८६ लाख रुपैयाँ, हिमालयन बैंकले २७ करोड ३० लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सिटिजन्स बैंकले २५ करोड ९२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले २२ करोड १७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २० करोड ३८ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
१३ देशमा राजदूत सिफारिस (सूचीसहित)
काठमाडौं । सरकारले चीन, भारत र अमेरिकासहित १३ देशमा राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूतको नाम सिफारिस गरेको हो । कुन देशमा को ? १. भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे २. चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा ३. अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा ४. यूकेका लागि प्रस्तावित राजदूत पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा ५. जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा ६. इजरायलका लागि प्रस्तावित राजदूत रेशकुमार कर्ण ७. स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन ८. जर्मनीका लागि प्रस्तावित राजदूत शारू जोशी ९. ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणा १०. मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल ११. दक्षिण कोरियाका लागि प्रस्तावित राजदूतप्रा. डा. सङ्गम श्रेष्ठ १२. श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मंचल झा १३. साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार अब सरकारले राजदूतका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको रूपमा संसदीय सुनुवाइको लागि पठाउनेछ । संसदीय सुनुवाइ समितिले अनुमाेदन गरिसकेपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउँछ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने व्यवस्था छ ।