काठमाडौं । ‘गाह्रो छ । कर्जाको माग आइरहेको भए पनि दिन सकिरहेका छैनौँ । निक्षेप ७ खर्ब रुपैयाँभन्दा बढी छ, कर्जा साढे ३ खर्ब रुपैयाँ मात्रै छ । सीडी रेसियो ४८ प्रतिशतमा झरिसक्यो । तरलता पर्याप्त भए पनि पुँजी कोषको अभावले लगानी गर्ने ठाउँ नै छैन । सरकारले एक अर्ब रुपैयाँ हाल्छु भनेको छ । त्यसका लागि प्रयास गरिरहेका छौँ,’ राष्ट्रिय वाणिज्य बैंकका एक उच्च व्यवस्थापकले बैंकको पछिल्लो अवस्थाबारे सुनाउँदै भने ।
बैंकमा निक्षेपको कमी छैन, कर्जाको माग पनि आइरहेको छ । तर, पर्याप्त तरलता हुँदाहुँदै पनि बैंकले मागअनुसार कर्जा दिन सकिरहेको छैन । कारण हो- पुँजी कोषको अभाव ।
बैंकमा निक्षेप बढेपछि कर्जा लगानी गर्ने क्षमता पनि बढ्छ । तर, अहिलेको अवस्था त्यसको ठीक उल्टो देखिएको छ । बैंकहरूमा निक्षेप थपिँदै गएको छ, कर्जा विस्तार सुस्त छ । केही बैंकका लागि निक्षेप व्यवस्थापन नै चुनौती बन्न थालेको छ भने अर्कोतर्फ पुँजी कोषको सीमितताले लगानी विस्तारमा अवरोध सिर्जना गरेको छ ।
नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न बैंकहरूबाट निक्षेप खिचिरहेको छ । तर, राष्ट्र बैंकले निक्षेप खिचिरहँदा पनि बैंकहरूको समस्या सहज भएको छैन ।
बैंकमा निक्षेप आउने क्रम जारी छ । निक्षेपकर्तालाई ब्याज दिनुपर्ने तर त्यही रकम राष्ट्र बैंकमा तुलनात्मक रूपमा कम प्रतिफलमा राख्नुपर्ने अवस्था छ । त्यो पनि छोटो अवधिका लागि मात्रै ।
राष्ट्रिय वाणिज्य बैंकका ती व्यवस्थापकका अनुसार निक्षेपको लागत र त्यसबाट प्राप्त हुने प्रतिफलबीचको अन्तरले पनि बैंकहरूलाई दबाबमा पारेको छ । तर, मुख्य समस्या भने पुँजी कोषको अभाव हो । पर्याप्त निक्षेप र कर्जाको माग हुँदाहुँदै पनि पुँजी कोषले साथ नदिँदा बैंकहरू थप लगानी गर्न सकिरहेका छैनन् ।
७७ खर्ब निक्षेप, कर्जा ५४ खर्ब मात्रै
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म बैंकहरूको कुल निक्षेप ७७ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा लगानी भने ५४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७०.२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न सक्ने व्यवस्था गरेको छ । यस हिसाबले समग्र बैंकिङ प्रणालीमा कर्जा विस्तारको प्रयाप्त ठाउँ देखिन्छ ।
तर, कुनै बैंकसँग पर्याप्त निक्षेप भए पनि पुँजी कोषको सीमितताका कारण थप कर्जा दिन नसक्ने अवस्थामा छन् ।
१४ बैंकको पुँजी पर्याप्तता अनुपात घट्यो
चालु आवको असोजसम्म १४ वटाको पुँजी पर्याप्तता अनुपात घटेको छ । गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा ६ बैंकको मात्रै यस्तो अनुपात बढेको हो ।
पुँजी पर्याप्तता अनुपात सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०१ प्रतिशत छ । गत वर्षको असोजमा १८.६० प्रतिशत थियो । नेपाल बैंकको अनुपात पनि १३.०२ प्रतिशतबाट बढेर १३.६४ प्रतिशत पुगेको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको १२.२१ प्रतिशतबाट १२.२९ प्रतिशत, एनएमबि बैंकको १२.०७ प्रतिशतबाट १२.५३ प्रतिशत, कुमारी बैंकको १२.५४ प्रतिशतबाट १२.६७ प्रतिशत र प्राइम बैंकको १२.१७ प्रतिशतबाट १२.४२ प्रतिशत पुगेको छ ।
अन्य १४ बैंकको अनुपात भने घटेको छ । एनआईसी एसिया बैंकको पुँजी पर्याप्तता अनुपात ११.१२ प्रतिशतमा झरेको छ । गत वर्षको असोजमा यस्तो अनुपात १४.०३ प्रतिशत थियो ।
प्रभु बैंकको १३.६० प्रतिशतबाट ११.८३ प्रतिशत, ग्लोबल आइएमई बैंकको १२.९८ प्रतिशतबाट ११.३२ प्रतिशत र नबिल बैंकको १२.६७ प्रतिशतबाट ११.६७ प्रतिशतमा झरेको छ ।
यसैगरी, एनआईएमबि बैंकको अनुपात १३.४८ प्रतिशतबाट १२.१७ प्रतिशत, कृषि विकास बैंकको १३.६३ प्रतिशतबाट १२.५५ प्रतिशत, सानिमा बैंकको १२.७६ प्रतिशतबाट १२.३७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२.४९ प्रतिशतबाट ११.९६ प्रतिशत र माछापुच्छ्रे बैंकको १२.१७ प्रतिशतबाट ११.७६ प्रतिशतमा झरेको छ ।
नेपाल एसबिआई बैंकको १४.३२ प्रतिशतबाट १३.६२ प्रतिशत, एभरेष्ट बैंकको १२.७७ प्रतिशतबाट ११.७८ प्रतिशत, हिमालयन बैंकको १२.२९ प्रतिशतबाट ११.१९ प्रतिशत र सिटिजन्स बैंकको १२.३१ प्रतिशतबाट १२.०८ प्रतिशतमा झरेको छ ।
साथै, पुँजी पर्याप्तता अनुपातसँगै बैंकहरूको टायर-१ क्यापिटल रेसियोमा पनि दबाब देखिएको छ । २० बैंकमध्ये १२ वटाको टायर-१ पुँजी अनुपात घटेको छ भने ८ बैंकको बढेको छ ।
टायर-१ पुँजी अनुपात सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १७.६१ प्रतिशत छ । गत वर्षको असोजमा १६.५८ प्रतिशत रहेको थियो ।
नेपाल बैंकको टायर-१ क्यापिटल रेसियो १०.१० प्रतिशतबाट बढेर ११.२३ प्रतिशत पुगेको छ । त्यस्तै, सिद्धार्थ बैंकको ९.६७ प्रतिशतबाट १०.१६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ९.२२ प्रतिशतबाट ९.३० प्रतिशत, सानिमा बैंकको ९.५१ प्रतिशतबाट ९.७० प्रतिशत, माछापुच्छ्रे बैंकको ८.७३ प्रतिशतबाट ९.२२ प्रतिशत, एनएमबि बैंकको ९.०१ प्रतिशतबाट ९.७४ प्रतिशत र कुमारी बैंकको ८.५४ प्रतिशतबाट ९.१५ प्रतिशत पुगेको छ । सिटिजन्स बैंकको ८.५३ प्रतिशतबाट बढेर ८.८३ प्रतिशत पुगेको छ ।
एनआईसी एसिया बैंकको टायर-१ पुँजी अनुपात सबैभन्दा धेरै घटेको छ । गत वर्षको असोजमा ९.०३ प्रतिशत रहेको अनुपात चालु वर्षको असोजमा ६.२७ प्रतिशतमा झरेको छ ।
यस्तै, प्रभु बैंकको टायर-१ अनुपात ९.८६ प्रतिशतबाट ८.१८ प्रतिशत, एनआईएमबि बैंकको १०.५५ प्रतिशतबाट ९.२४ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.४१ प्रतिशतबाट ९.३५ प्रतिशत र नबिल बैंकको ९.५५ प्रतिशतबाट ९.१० प्रतिशतमा झरेको छ ।
त्यस्तै, एभरेष्ट बैंकको १०.०७ प्रतिशतबाट ९.४५ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.५८ प्रतिशतबाट ९.३३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.९० प्रतिशतबाट ९.१९ प्रतिशत, प्राइम बैंकको १०.१८ प्रतिशतबाट ९.५० प्रतिशत र हिमालयन बैंकको ८.६८ प्रतिशतबाट ८.०३ प्रतिशतमा झरेको छ ।
