सेयर बजारमा ३०५ कम्पनी सूचीकृत, पुँजीकरण ४५ खर्ब ४७ अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको सेयर बजार सूचक र बजार पुँजीकरण दुवै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तको तुलनामा २०८३ साउन मसान्तमा नेप्से सूचकाङ्क र बजार पुँजीकरण घटेको हो । राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तमा २ हजार ७८८.३७ अंक रहेको नेप्से सूचकाङ्क २०८३ साउन मसान्तमा घटेर २ हजार ६४३.८४ अंकमा झरेको छ । त्यस्तै, २०८३ साउन मसान्तमा धितोपत्र बजारको कुल बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ। २०८२ साउन मसान्तमा बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । कुल गार्हस्थ्य उत्पादनको तुलनामा पनि बजार पुँजीकरणको अनुपात घटेको छ । २०८२ साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.१० प्रतिशत रहेकोमा २०८३ साउन मसान्तमा घटेर ६८.९० प्रतिशतमा आएको राष्ट्र बैंकले जनाएको छ । सूचीकृत कम्पनीको संख्या बढ्यो यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या भने बढेको छ । २०८३ साउन मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या ३०५ पुगेको छ । २०८२ साउनमा यस्तो संख्या २७४ रहेको थियो । सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । त्यस्तै, १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् । बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५०.९ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १८.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.५ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक संस्थाको ४ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहका कम्पनीको ८.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८३ साउन मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब ५९ करोड कित्ता शेयरको चुक्ता मूल्य ९४ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा ६ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ४ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर गरी कुल ६ अर्ब ९० करोड रुपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका छन् ।
रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी, बैठकले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ पनि संशोधन गर्ने निर्णय पनि भएको छ । १३ देशमा राजदूत सिफारिस (सूचीसहित)
धरौटी बुझाउन नसक्दा किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ कारागार चलान
काठमाडौं । किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौं उनीसँग धरौटी मागेपछि बुझाउन नसक्दा कारागार चलान भएका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले अदालतले मागे बमोजिम धरौटी बुझाउन नसक्दा कारागार चलान भएका हुन् । उनका अनुसार २२ लाख धरौटी माग गरेको थियो । केहीदिन अघिमात्र उनलाई प्रहरीले सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्केपछि हनुमान थानबाट पक्राउ गरेको थियो । उनीविरुद्ध काठमाडौं र भक्तपुर विभिन्न प्रहरी प्रभाग तथा वृत्तमा बैंकिङ कसुरसहित ठगीको मुद्दामा प्रहरीले अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेल दुवै महँगिए
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम र सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारेल ६७.३० अमेरिकी डलर रहेको थियो । २०८३ साउन मसान्तमा उक्त मूल्य ३६.७ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.०२ अमेरिकी डलर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि उल्लेख्य बढेको छ । २०८२ साउन मसान्तमा प्रतिऔंस ३ हजार ३३५.५० अमेरिकी डलर रहेको सुनको मूल्य २०८३ साउन मसान्तमा ३१.६ प्रतिशतले बढेर ४ हजार ३९०.७० अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । जसअनुसार एक वर्षको अवधिमा कच्चा पेट्रोलियमको मूल्य ३६.७ प्रतिशत र सुनको मूल्य ३१.६ प्रतिशतले बढेको हो ।
साउनमा भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको थियो । अमेरिकी डलरमा भने साउनमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ । राष्ट्र बैंकका अनुसार साउनमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । यसैगरी, साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४६६ रहेको थियो । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेर २७ हजार ७४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
विदेश जान एक महिनामै ४२ हजार ६९३ जनाले लिए श्रमस्वीकृति
काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात साउनमा वैदेशिक रोजगारीका लागि ४२ हजार ६९३ जनाले श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउनसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार संस्थागत तथा व्यक्तिगत गरी सो संख्याले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् । अघिल्लो आवको तुलनामा चालु आवको साउनमा श्रम स्वीकृति लिनेको संख्या घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४४६ थियो । त्यस्तै एक महिनामा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आवको सोही अवधिमा यो संख्या २३ हजार ६४४ थियो ।
महँगीको दर बढेर ५.९६ प्रतिशत पुग्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार गत वर्षको सोही महिनामा मुद्रास्फीति १.६८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको मूल्य ४.८० प्रतिशतले बढेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य १३.१७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । क्षेत्रगत रूपमा हेर्दा साउनमा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्य सूचकाङ्क ६.१८ प्रतिशत र सहरी क्षेत्रको ५.८८ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ६.९४ प्रतिशत रहेको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत रहेको छ । यस्तै, काठमाडौं उपत्यकामा ४.८१ प्रतिशत, तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत र हिमाली क्षेत्रमा ५.१० प्रतिशत मुद्रास्फीति रहेको छ । यसैगरी, साउनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा थोक मुद्रास्फीति २.३७ प्रतिशत थियो । समीक्षा अवधिमा उपभोग्य वस्तुको थोक मुद्रास्फीति ०.०५ प्रतिशतले ऋणात्मक रहेको छ । मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १३.६२ प्रतिशत र पुँजीगत वस्तुको ६.४५ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्य ४.८९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ साउनमा नेपालको उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ भने सन् २०२६ अगस्टमा भारतको उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।
विदेशी विनिमय सञ्चिति ३९ खर्ब पुग्यो, २१.८ महिनाको आयात धान्ने
काठमाडौं । विदेशी विनिमय सञ्चिति ३९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क साउन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भएर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । राष्ट्र बैंकका अनुसार असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोडबाट २.१ प्रतिशतले वृद्धि भई साउन मसान्तमा २५ अर्ब ८४ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति पनि १.३ प्रतिशतले बढेको छ । असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको सञ्चिति साउन मसान्तमा बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०.९ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति साउन मसान्तमा बढेर ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । २०८३ साउन मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.८ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ । त्यस्तै, विद्यमान सञ्चितिले १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५९.८ प्रतिशत, १५७ प्रतिशत र ४४.५ प्रतिशत रहेको छ । असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए। यसअनुसार एक महिनाको अवधिमा विदेशी विनिमय सञ्चितिको जीडीपीसँगको अनुपात ०.७ प्रतिशत बिन्दुले र विस्तृत मुद्राप्रदायसँगको अनुपात ०.७ प्रतिशत बिन्दुले बढेको छ भने कुल आयातसँगको अनुपात ६.४ प्रतिशत बिन्दुले घटेको छ ।