काठमाडौं । बैंकिङ कसुर मुद्दामा मकवानपुरका दिक्षान्त बाँनिया पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारले उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा चलाएको थियो ।
उक्त मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी बाँनियालाई कात्तिक १६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउपछि उनलाई अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।