एक महिनामै निजी क्षेत्रमा २३ अर्ब ५८ करोड कर्जा प्रवाह
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा जाने कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकको कर्जा बढ्यो, विकास बैंकको घट्यो २०८३ साउन मसान्तमा निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.३ प्रतिशत रहेको छ । व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ०.१ प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा भने ०.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । घरजग्गा धितोमा ६३ प्रतिशत कर्जा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६३ प्रतिशत घरजग्गा धितो सुरक्षणमा रहेको छ । त्यस्तै, चालु सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५.३ प्रतिशत कर्जा रहेको छ । २०८२ साउन मसान्तमा घरजग्गा धितो सुरक्षणमा रहेको कर्जाको हिस्सा ६४.४ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा रहेको कर्जाको हिस्सा १४.८ प्रतिशत थियो । कुन क्षेत्रमा कर्जा बढ्यो, कुनमा घट्यो? साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमध्ये खनिज क्षेत्रमा ३.७ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मतमा ३ प्रतिशत र निर्माण क्षेत्रमा २.१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सेवा उद्योग क्षेत्रमा १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १.२ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मतमा ०.८ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ०.३ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.३ प्रतिशतले कर्जा बढेको छ । अर्कोतर्फ, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा कर्जा ५.१ प्रतिशतले घटेको छ । कृषि क्षेत्रमा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.६ प्रतिशतले कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ । आवधिक कर्जा बढ्दा विपन्न वर्गको कर्जा घट्यो समीक्षा अवधिमा आवधिक कर्जा १.५ प्रतिशतले बढेको छ । ट्रस्ट रिसिट (आयात) कर्जा १ प्रतिशत, रियल स्टेट कर्जा व्यक्तिगत आवासीय घर कर्जासमेत ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ । यता विपन्न वर्ग कर्जा ७.३ प्रतिशत, अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
साउनमा सरकारको खर्च ४१ अर्ब, राजस्व ९२ अर्ब उठ्यो
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल सरकारले ४१ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । सो अवधिमा सरकारले ९२ अर्ब २३ करोड रुपैयाँ राजस्व परिचालन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार साउनमा सरकारको कुल खर्चमध्ये चालु खर्च २१ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, पुँजीगत खर्च १ अर्ब ३३ करोड र वित्तीय व्यवस्था खर्च १९ अर्ब १५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन ९२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कर राजस्वबाट ८५ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्वबाट ७ अर्ब ३ करोड रुपैयाँ उठेको छ । सरकारले परिचालन गरेको कुल राजस्वमा अप्रत्यक्ष करको हिस्सा सबैभन्दा बढी ६८.१ प्रतिशत रहेको छ । प्रत्यक्ष करको हिस्सा २३.३ प्रतिशत, गैरकर राजस्वको ७.५ प्रतिशत र अन्य प्राप्तिको हिस्सा १ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल राजस्वमा अप्रत्यक्ष कर र प्रत्यक्ष करको हिस्सा घटेको छ भने गैरकर राजस्व र अन्य प्राप्तिको हिस्सा बढेको छ । २०८३ साउन मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश छ । २०८३ असार मसान्तमा यस्तो नगद मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ करोड ४० लाख रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले सो अवधिमा ६ अर्ब ५५ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमध्ये संघीय सरकारबाट वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटमार्फत ३ अर्ब ८३ करोड रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, प्रदेश सरकारको आन्तरिक स्रोतबाट राजस्व तथा अन्य प्राप्तिबापत १ अर्ब ९५ करोड रुपैयाँ परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट करिब ५ लाखसहित बिचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट एक जना बिचौलिया पक्राउ परेका छन् । उनी ४ लाख ८० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका ६ का अजय थापा रहेका छन्। उनले लागूऔषध मुद्दामा थुनामा रहेका बिमल घलेलाई छुटाइदिने भन्दै उक्त रकम लिएका थिए। बिमललाई थुनछेक बसहका लागि शुक्रबार इजसालसमक्ष पेश गरिएको थियो। उनलाई छुटाइदिने भन्दै रकम लिएको अवस्था थापा जिल्ला अदालतको परिसरबाट पक्राउ परेका हुन्। उनीसँगै पैसा लिएर आउने नुवाकोटको विदुर नगरपालिका ९ का हरिराम गिरी पनि पक्राउ परेका छन्।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीघार्युकमार श्रेष्ठ नियुक्त
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । श्रेष्ठ यसअघि प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । त्यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए । श्रेष्ठले प्राधिकरणमा लामो समयदेखि प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय १३ देशमा राजदूत सिफारिस (सूचीसहित)
चालु खाता ९४ अर्ब र शोधनान्तर ९० अर्ब बचतमा
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा थियो। चालु खाता बचत अघिल्लो वर्षको तुलनामा बढेको छ । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोड डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, साउनमा १ अर्ब १ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६९ करोड रुपैयाँ रहेको थियो । यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा भने अघिल्लो वर्षको सोही अवधिमा ६४ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५९ करोड डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सेयर बजारमा ३०५ कम्पनी सूचीकृत, पुँजीकरण ४५ खर्ब ४७ अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको सेयर बजार सूचक र बजार पुँजीकरण दुवै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तको तुलनामा २०८३ साउन मसान्तमा नेप्से सूचकाङ्क र बजार पुँजीकरण घटेको हो । राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तमा २ हजार ७८८.३७ अंक रहेको नेप्से सूचकाङ्क २०८३ साउन मसान्तमा घटेर २ हजार ६४३.८४ अंकमा झरेको छ । त्यस्तै, २०८३ साउन मसान्तमा धितोपत्र बजारको कुल बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ। २०८२ साउन मसान्तमा बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । कुल गार्हस्थ्य उत्पादनको तुलनामा पनि बजार पुँजीकरणको अनुपात घटेको छ । २०८२ साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.१० प्रतिशत रहेकोमा २०८३ साउन मसान्तमा घटेर ६८.९० प्रतिशतमा आएको राष्ट्र बैंकले जनाएको छ । सूचीकृत कम्पनीको संख्या बढ्यो यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या भने बढेको छ । २०८३ साउन मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या ३०५ पुगेको छ । २०८२ साउनमा यस्तो संख्या २७४ रहेको थियो । सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । त्यस्तै, १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् । बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५०.९ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १८.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.५ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक संस्थाको ४ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहका कम्पनीको ८.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८३ साउन मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब ५९ करोड कित्ता शेयरको चुक्ता मूल्य ९४ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा ६ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ४ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर गरी कुल ६ अर्ब ९० करोड रुपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका छन् ।
रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी, बैठकले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ पनि संशोधन गर्ने निर्णय पनि भएको छ । १३ देशमा राजदूत सिफारिस (सूचीसहित)
धरौटी बुझाउन नसक्दा किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ कारागार चलान
काठमाडौं । किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौं उनीसँग धरौटी मागेपछि बुझाउन नसक्दा कारागार चलान भएका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले अदालतले मागे बमोजिम धरौटी बुझाउन नसक्दा कारागार चलान भएका हुन् । उनका अनुसार २२ लाख धरौटी माग गरेको थियो । केहीदिन अघिमात्र उनलाई प्रहरीले सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्केपछि हनुमान थानबाट पक्राउ गरेको थियो । उनीविरुद्ध काठमाडौं र भक्तपुर विभिन्न प्रहरी प्रभाग तथा वृत्तमा बैंकिङ कसुरसहित ठगीको मुद्दामा प्रहरीले अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो ।