खर्च ५८.५५ प्रतिशत, वडाको प्रगति विभागभन्दा झन्डै दोब्बर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ५८.५५ प्रतिशत खर्च गरेको छ। महानगरको वार्षिक समीक्षाअनुसार केन्द्रीय विभागहरूको औसत वित्तीय प्रगति ३८.३४ प्रतिशत हुँदा ३२ वटा वडाको औसत खर्च ६३.९१ प्रतिशत पुगेको छ । महानगरको योजना अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षमा महानगरले २५ अर्ब २६ करोड २६ लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १४ अर्ब ७९ करोड २० लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । महानगरका अनुसार चालुतर्फ ७३.७१ प्रतिशत अर्थात् ७ अर्ब १२ करोड ७८ लाख रुपैयाँ र पुँजीगततर्फ ४९.०८ प्रतिशत अर्थात् ७ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्षमा ५०.२९ प्रतिशत मात्रै खर्च भएकोमा यस वर्ष खर्च गर्ने क्षमता करिब ८ प्रतिशतले बढेको हो । कार्यवाहक प्रमुख सुनिता डंगोलले विगतको तुलनामा खर्च तथा कार्यसम्पादनमा सुधार आएको भन्दै आगामी दिनमा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने काममा जोड दिनुपर्ने बताइन् । उनले कार्यक्रमलाई नागरिकसँग प्रत्यक्ष जोड्न र खरिद प्रक्रिया असोजभित्रै सम्पन्न गर्न निर्देशन दिइन् । ‘नागरिकलाई कागजपत्र होइन, भाषण होइन, फिल्डमा देखिने काम चाहिएको छ,’ उनले भनिन्, ‘अब काममा गियर चेञ्ज गरेर जनताले महसुस गर्ने काम गर्नुपर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महानगरको प्रगति सुधारोन्मुख भए पनि राजधानी सहरका लागि अझै पर्याप्त नभएको बताए । उनले नागरिकमैत्री फेसलेस, पेपरलेस र क्यासलेस शासन प्रणाली विस्तारमा जोड दिए । राजस्व संकलनमा पनि सुधार महानगरले आन्तरिक राजस्व संकलनमा पनि सुधार गरेको छ । चालु आर्थिक वर्षमा १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखिएकोमा ६ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ अर्थात् ६७.७८ प्रतिशत संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ९० करोड रुपैयाँ बढी हो । प्रमुख राजस्व शीर्षकमा सम्पत्ति कर ७०.१२ प्रतिशत, बहाल कर ६३.२२ प्रतिशत, नक्सापास दस्तुर ७८.६४ प्रतिशत र सिफारिस दस्तुर ८२.२३ प्रतिशत संकलन भएको छ । अनुदान र राजस्व बाँडफाँटसमेत जोड्दा महानगरको कुल आम्दानी १२ अर्ब ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । पूर्वाधारमा ५९.९५ प्रतिशत खर्च क्षेत्रगत रूपमा पूर्वाधार विकासमा ११ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५९.९५ प्रतिशत वित्तीय प्रगति भएको छ । यसको भौतिक प्रगति भने ९१ प्रतिशत पुगेको छ । सामाजिक विकासतर्फ ६ अर्ब २० करोड रुपैयाँ बजेटमध्ये ५५.८ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा सबैभन्दा बढी ९०.८८ प्रतिशत वित्तीय प्रगति भएको छ । आर्थिक विकासतर्फ ३०.९४ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३१.४३ प्रतिशत वित्तीय प्रगति भएको छ । सार्वजनिक निर्माण विभागले १९१ योजनाका लागि विनियोजित ५ अर्ब ६५ करोड ६२ लाख रुपैयाँमध्ये ३ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । विभागले ९८ वटा योजना सम्पन्न गरेको छ । यस अवधिमा ५७ किलोमिटर सडक कालोपत्र, १३ किलोमिटर सडक ढलान, ७ किलोमिटर ढल निर्माण तथा ३६ किलोमिटर पैदलमार्ग निर्माण तथा मर्मत गरिएको छ । ७ किलोमिटर रिटेनिङ वालसमेत निर्माण गरिएको महानगरले जनाएको छ । शिक्षा विभागमा विनियोजित ३ अर्ब ७ करोड रुपैयाँमध्ये ६६.२ प्रतिशत खर्च भएको छ । शिक्षक दरबन्दी मिलान, आईसीटीमैत्री विद्यालय निर्माण तथा ‘पुस्तक रहित शुक्रबार’ जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । सम्पदा तथा पर्यटनतर्फ २ अर्ब ६४ करोड रुपैयाँ बजेट रहेकोमा ४१.१२ प्रतिशत खर्च भएको छ । यसअन्तर्गत १२ वटा मन्दिर, २४ वटा फल्चा तथा पाटी र १० वटा सामुदायिक भवन संरक्षण गरिएको छ । डिजिटल सेवामा पनि विस्तार महानगरले डिजिटल प्रशासनतर्फ पनि प्रगति गरेको जनाएको छ । एकल सेवा केन्द्रमा १६ हजार ७४२ वटा बाह्य निवेदन दर्ता गरी प्रक्रिया अघि बढाइएको छ । घटना दर्तामा ९ हजार २८० वटा विवरण प्रविष्ट भएका छन् । गुनासो व्यवस्थापन प्रणालीमा प्राप्त ८ हजार ९२५ गुनासोमध्ये ९३ प्रतिशत सम्बोधन गरिएको महानगरले जनाएको छ । सहकारी क्षेत्रमा पनि नियमित अनुगमनलाई प्राथमिकता दिइएको छ । महानगरभित्र रहेका १ हजार ९१२ सहकारीमध्ये केही सहकारीका १० हजार २३४ बचतकर्ताले ८ अर्ब १९ करोड रुपैयाँ बराबरको बचत फिर्ता माग गरेपछि समस्या समाधानका लागि सहजीकरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा ५६.४१ प्रतिशत वित्तीय र ७८.९४ प्रतिशत भौतिक प्रगति भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत ओपीडी, खोप, पोषण, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, ल्याब, फिजियोथेरापी, एक्स–रे तथा आयुर्वेदलगायत सेवा प्रदान गरिएको छ । वडाको खर्च विभागभन्दा धेरै महानगरको समीक्षा प्रतिवेदनको अर्को उल्लेख्य पक्ष वडागत खर्च हो । ३२ वटा वडाको औसत खर्च ६३.९१ प्रतिशत पुगेको छ, जुन केन्द्रीय विभागहरूको औसत ३८.३४ प्रतिशतभन्दा झन्डै दोब्बर हो । महानगरले सबै वडाका लागि ४ अर्ब ५६ करोड ५५ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । भूगोल र जनसंख्याका आधारमा वडालाई तीन वर्गमा विभाजन गरी ठूला १५ वडालाई प्रतिवडा १७ करोड ५४ लाख ८२ हजार, ११ मझौला वडालाई प्रतिवडा १२ करोड ९८ लाख २२ हजार र ६ साना वडालाई प्रतिवडा ८ करोड ४२ लाख ७ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । बेरुजु र कम खर्च चुनौती महानगरले बेरुजु फर्छ्याैट, कानुनी प्रबन्धको प्रभावकारी कार्यान्वयन र जनशक्ति व्यवस्थापनलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । हालसम्म देखिएको ८ अर्ब ११ करोड रुपैयाँ बेरुजुमध्ये ५७.१७ प्रतिशतको मात्रै सम्परीक्षण भएको छ । त्यस्तै, ८७ वटा बजेट शीर्षकमा शून्य वा न्यून खर्च भएको पाइएको छ । यस्ता कार्यक्रम कार्यान्वयन हुन नसक्नुका कारण पहिचान गरी सुधार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । सार्वजनिक खरिदतर्फ लागत अनुमानभन्दा २५.६० प्रतिशत कम मूल्यमा निर्माण, सेवा तथा परामर्श खरिद गरिएको महानगरले जनाएको छ । ५ अर्ब ८७ करोड २१ लाख ५० हजार रुपैयाँ लागत अनुमान रहेका २८० वटा योजनाको मूल्याङ्कन गर्दा ४ अर्ब ३६ करोड ९० लाख ६० हजार रुपैयाँमा सेवा प्राप्त भएको हो । महानगरले आगामी दिनमा संगठन सुदृढीकरण, डिजिटल सेवाको विस्तार, राजस्व संकलनमा प्रभावकारिता, नियमित कर परीक्षण, पूर्वाधारको गुणस्तर तथा समावेशी र पहुँचयुक्त सहरी विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सुन तोलामा १२०० र चाँदी १० रुपैयाँले सस्तियो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको थियो ।
बीमा दाबीका लागि फोटो, भिडियो र कागजात सुरक्षित राख्न सर्भेयर संघको आग्रह
काठमाडौं । नेपाल बीमा सर्भेयर संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका बीमितहरूलाई आवश्यक प्रमाणहरु सुरक्षित राख्न आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै दाबीका लागि आवश्यक फोटो, भिडियो, बिल तथा अन्य प्रमाणहरू सुरक्षित राख्न आग्रह गरेको हो । संघले अचनाक भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवालगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको प्रति दुःख व्यक्त गरेको छ । बाढीका कारण निजी तथा सार्वजनिक सम्पत्ति, भवन, उद्योग व्यवसाय, सवारी साधन, निर्माणाधीन जलविद्युत् आयोजना, मेसिनरी तथा उपकरण लगायतका विभिन्न बीमित सम्पत्तिमा ठूलो क्षति पुगेको छ । संघले निर्जीवन बीमा कम्पनीहरूलाई बाढीजन्य दाबी दर्ता, सर्भेयर नियुक्ति र दाबी फर्छयौट प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउन आग्रह गरिएको छ । त्यस्तै बाढीबाट पीडित बीमित संघसंस्थाले पनि यथाशीघ्र बीमा कम्पनीमा जानकारी दिन संघको अनुरोध छ । संघले सम्पूर्ण सदस्य सर्भेयरहरूलाई प्रभावित क्षेत्रको सर्भे कार्यलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष, व्यावसायिक र शीघ्र रूपमा क्षति मूल्याङ्कन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
नेरुडे मिर्मिरे लघुवित्तका सीईओ केशव पौडेलको राजीनामा स्वीकृत
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकुमार पौडेलको राजीनामा स्वीकृत भएको छ । संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको भदौ १० गते बसेको ४०३औं बैठकले पौडेलको राजीनामा असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । पौडेलले घरायसी कारण देखाउँदै भदौ ५ गते प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए। लघुवित्तले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवश्यक प्रक्रिया प्रचलित नियामकीय व्यवस्था तथा संस्थाको नियमावली र विनियमावलीअनुसार अगाडि बढाइने जनाएको छ । संस्थाले उक्त निर्णय नियामकीय जानकारी तथा अभिलेख प्रयोजनका लागि सार्वजनिक गरेको जनाएको छ ।
नेपाली दूतावासले चीनमा अलपत्र परेकालाई स्वदेश फर्कने सहजीकरण गर्ने
काठमाडौं । चीनमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन सहजीकरण गर्ने भएको छ । बुधबार रसुवामा आएको बाढीका कारण स्वदेश फर्कन समस्यामा परेका नेपालीलाई दूतावासले सहजीकरण गर्ने भएको हो । चीनबाट केरुङ नाका हुँदै नेपाल फर्कने गरेका नेपालीलाई दूतावासले सहजीकरण गर्ने जनाएको हो । बाढीका कारण केरुङ हुँदै स्वदेश फर्कने बाटो अवरुद्ध भएकाले दूतावासले समन्वय गर्ने भएको हो । 'भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण नेपाल चीन सीमा क्षेत्र अवरुद्ध भई चीनमा अलपत्र पर्नुभएका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरण गरिनेछ,' दूतावासले भनेको छ । दूतावासले स्वदेश फर्कन चाहने नेपालीलाई विभिन्न व्यक्ति तथा नम्बरमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमाद चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको छ । त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङस्थित सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत् आपूर्ति गर्न कठिनाइ भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् सेवा यथाशीघ्र नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोटतर्फ परिचालन गरेको छ । टोलीले प्रभावित विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरी काम तीव्र बनाउन निर्देशन दिनुभएको थियो । मन्त्री श्रेष्ठको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ । टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणालगायतका अधिकारी सहभागी छन् । प्राधिकरणले बाढीबाट क्षति पुगेका विद्युत् संरचनाको अवस्था निरन्तर मूल्याङ्कन गर्दै सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट आपूर्ति सञ्चालन गर्ने तथा क्षतिग्रस्त संरचनाको मर्मत गरी नियमित विद्युत् सेवा पुनःस्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न विदुरतर्फ प्रस्थान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन् । प्रधानमन्त्री र मन्त्रीको टोली बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेको हो । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सक्रिय छन् । बाढीपछि प्रधानमन्त्रीले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने, बेपत्ताको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने र अवरुद्ध सडक तथा अन्य पूर्वाधार सञ्चालनमा ल्याउने विषयमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर र आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, उद्धार, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन् । टोलीले प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई थप तीव्रता दिन र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अघि बढाउन आवश्यक निर्देशन दिने बताइएको छ ।
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, ५ सय वटा सोलार पावर बैंक पठाउँदै
काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ । बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा बिहीबार ५ सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई पाँच सय सय सोलार पावर बैंक हस्तान्तरण गर्दैछ । ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले भने, ‘रसुवामा हाम्रो सवस्टेसन उडेकाले तत्कालै विद्युत सुचारु गर्न सकिने अवस्था छैन । त्यसैले वैकल्पिकरुपमा वत्ती बाल्न मिल्ने र मोबाइल चार्ज मिल्ने गरी सोलार पावर बैंक विपद् राष्ट्रिय परिषदमा पठाउँदैछौं । परिषदमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी छ,’ उनले भने । मन्त्रालयकाअनुसार त्रिशुलीस्थित २२० के.भी. ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ भने ६ वटा प्रसारण लाइन अवरुद्ध छ । जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री श्रेष्ठले आपूर्ति प्रणालीमा परेको चापको पनि जानकारी लिँदैछन् । यसका लागि बिहीबार मन्त्री श्रेष्ठले स्युचारटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर – एलडिसी) को निरीक्षण गर्दैछन् । ‘बाढीपछिको विद्युत आपूर्तिको अवस्था के छ, बाढीले समग्र देशको वत्तीमा कहाँ कहाँ असर पर्यो, कहाँ के अवस्था छ भनेर जानकारी लिन मन्त्रीज्यू आज स्चयुटाचारस्थित एलडिसी जाँदै हुनुहुन्छ,’ महर्जनले भने । यसबाहेक ऊर्जा मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सवस्टेशन र सञ्चालनको प्रयास गरिरहेको छ । गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको छ । सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ्ग गर्दै मर्मत गरेर लाइन सुचारु गर्ने प्रयास भैरहेको छ । अवरुद्ध भएको विद्युतका कारण प्रणालीलाई सुचारु राख्न विद्युत प्रणाली सञ्चालन विभागलाई निर्देशन गरिएको छ । यसैगरी आवश्यक परेमा भिमफेदीमा रहेको जेनेरेटर पठाउन तयारी अवस्थामा राखिएको छ ।