विकासन्युज

चीन–रुस सम्बन्ध ‘बहुमूल्य’ : सी

काठमाडौं । विश्वव्यापी अस्थिरता र द्वन्द्वले अन्तर्राष्ट्रिय परिदृश्य थप जटिल बनाइरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन–रुस सम्बन्धलाई ‘विशेष रूपमा बहुमूल्य’ भन्दै यसको रणनीतिक महत्त्व अझ बढेको बताएका छन् । विशेषगरी इरानमा जारी युद्ध र त्यसले सिर्जना गरेको अनिश्चितताबीच दुई देशबीचको स्थिर सहकार्यलाई उनले महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका हुन् ।      बेइजिङमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भएको भेटमा राष्ट्रपति सीले चीन–रुस मैत्री सन्धिको जीवन्तता र यसको उदाहरणीय महत्त्व वर्तमान अन्तर्राष्ट्रिय अवस्थाले अझ स्पष्ट बनाएको उल्लेख गरे । उनले परिवर्तन, तनाव र अराजकताले भरिएको विश्व परिवेशमा दुई देशबीचको स्थिरता र पारस्परिक विश्वास अत्यन्तै आवश्यक रहेको धारणा राखे ।      उनले रणनीतिक सञ्चारलाई अझ मजबुत बनाउन र कूटनीतिक समन्वयलाई सुदृढ पार्न दुवै पक्षलाई आह्वान गर्दै आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएका सहमतिहरूलाई दुवै देशका विदेश मन्त्रालयले पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । साथै, बेइजिङ र मस्कोबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ उचाइमा पुर्‍याउँदै स्थिर र सुदृढ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।      इरानमा जारी युद्ध कति लामो समयसम्म चल्नेछ भन्ने अन्योल कायम रहेको अवस्थामा राष्ट्रपति सीले चीन–रुस सम्बन्धको सान्दर्भिकता अझ बढेको उल्लेख गरे । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स बिजनेस नेटवर्कसँगको अन्तर्वार्तामा युद्ध ‘समाप्तिको नजिक’ पुगेको बताउनुभएको क्लिप सार्वजनिक भएको छ । यद्यपि, युद्ध सुरु भएदेखि ट्रम्पले बारम्बार विजयको दाबी गरे पनि स्थलस्थित वास्तविकता अझै जटिल रहेको विश्लेषण गरिएको छ ।      विशेषगरी सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि चीन र रुसबीचको सम्बन्ध उल्लेखनीय रूपमा गहिरिएको छ । युक्रेन युद्धप्रति ट्रम्पको फरक दृष्टिकोणले केही कूटनीतिक उतारचढाव ल्याए पनि दुई देशबीचको आधारभूत साझेदारीमा ठूलो परिवर्तन आएको देखिँदैन ।      गत सेप्टेम्बरमा पुटिन चीन भ्रमणमा आउँदा राष्ट्रपति सीले उनलाई ‘पुरानो मित्र’ भन्दै स्वागत गरेका थिए भने पुटिनले पनि सीलाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गरेका थिए, जसले दुई नेताबीचको व्यक्तिगत तथा राजनीतिक निकटता झल्काउँछ ।      रुसी विदेशमन्त्री लाभरोभ चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि मङ्गलबार बेइजिङ आइपुगेका हुन् । यस भ्रमणलाई दुई देशबीचको समन्वय थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । रासस   

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

काठमाडौं । भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ । राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हाल्नुभएका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुगेका थिए । त्यहीँ बिहारका राज्यपाल सैयद अता हसनैनले उहाँलाई मुख्यमन्त्री पदको शपथ दिलाएका हुन् ।      नितिश कुमारको राजीनामापछि चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बनेका छन् । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले ऐतिहासिक जित दर्ता गरेपछि उनले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । यसले राज्य राजनीतिमा लामो समयसम्म उनको प्रभाव देखाएको थियो ।      तर अब ५७ वर्षीय सम्राट चौधरीले उनको स्थान लिँदै बिहारको नेतृत्व सम्हालेका छन् । उनको उदयलाई केवल सत्ता परिवर्तनका रूपमा मात्र नभई बिहारको राजनीतिक युग परिवर्तनका रूपमा पनि हेरिएको छ, जहाँ नितिश कुमारको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो ।      सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ । राजनीतिमा प्रारम्भिक प्रवेश उनले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट गरेका थियो भने पछि सन् २०१८ मा उनी भाजपा प्रवेश गरेका हुन् । सन् २०२३ मा उनलाई भाजपा प्रदेश अध्यक्ष बनाइएको थियो र सन् २०२४ मा उनले बिहारको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।      सन् १९६८ मा जन्मिएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका हुन् । उनका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट छ पटक विधायक निर्वाचित भएका थिए भने आमा पार्वती देवीले सन् १९९८ मा तत्कालीन समता पार्टीबाट सोही क्षेत्र जितेका थिए ।      पहिले नितिश कुमारका कट्टर आलोचक रहेका चौधरी सन् २०२४ मा भाजपा–जेडीयु गठबन्धन पुनः बनेपछि राजनीतिक रूपमा नयाँ भूमिकामा देखिएका थिए । सन् २०२२ मा उनले सार्वजनिक रूपमा नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र आफ्नो प्रतीकात्मक ‘मुरेथा’ (पगडी) उतार्ने बताएका थिए, जसले उनको आक्रामक राजनीतिक शैली झल्काउँथ्यो ।      आजको शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै चौधरीको नेतृत्वमा बिहार विकास, सुशासन र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका थिए ।      सम्राट चौधरीको नेतृत्वलाई ओबीसी समुदाय, विशेषगरी कोइरी/कुशवाहा समूहबीच पार्टीको समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि विश्लेषण गरिएको छ । रासस   

गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन हुँदै, एमाले र कांग्रेसबाट चार/चार जना नयाँ मन्त्री सिफारिस

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आफ्नो मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।  मुख्यमन्त्री पाण्डेको मन्त्रिपरिषदमा नेकपा एमालेबाट चारजना र नेपाली कांग्रेसबाट चार जना नयाँ मन्त्री सिफारिस भएका हुन् । आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले जानकारी दिए ।  पुनर्गठनका लागी एमालेले गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको रूपमा सिफारिस गरेको जनाएको छ । यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्रीका रूपमा सिफारिस भएका हुन् । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट पनि चारजना नयाँ मन्त्री सिफारीस भएका छन् । दीप शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्रीको रूपमा सिफारिस भएको कांग्रेस प्रदेश संसदीय दलका एक नेताले जानकारी दिए । नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिने कार्यक्रम रहेको छ ।

हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।  मंगलबार (हिजो)  हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको विभागले जनाएको हो  । विभागका अनुसार अनुसन्धानका लागि आवश्यक कागजात संकलन गरिएको छ । त्यस्तै, विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा पनि प्रहरीले छापा हानेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीमा छुट, बाइ वन गेट वन अफर सार्वजनिक

काठमाडौं । एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा एनसेल प्रयोगकर्ताले देशभरका हिमालयन जाभा कफी आउटलेटमा विशेष छुट पाउने भएका छन् । नयाँ वर्ष २०८३ देखि सुरु भएको अफरअन्तर्गत ग्राहकले प्रिमियम कफी, पेय पदार्थ तथा खानेकुरामा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हालै सम्पन्न साझेदारी सम्झौताअनुसार ४९९ रुपैयाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने ग्राहकले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । साथै तेस्रो कप कफी खरिदमा ३० प्रतिशत छुट उपलब्ध हुनेछ । त्यसैगरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै प्रकारका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक चलाइरहेका वा रेन्टल प्लानमा सक्रिय रहेका अन्य सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले हिमालयन जाभासँगको सहकार्यले ग्राहकलाई व्यस्त दैनिकीबीच एकअर्कासँग जोडिन र खुसी साटासाट गर्न थप अवसर प्रदान गर्ने बताए । हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले एनसेलसँगको साझेदारीमार्फत नेपालभरका कफी प्रेमीलाई रोमाञ्चक अफर उपलब्ध गराउन पाउँदा उत्साहित रहेको बताए । यो अफर उपयोग गर्न ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेस’ भित्र गएर ‘हिमालयन जाभा कफी’ चयन गरी आफ्नो योग्यता हेर्न सक्नेछन् । अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्नेछ भने स्क्रिनसट मान्य हुने छैन । कम्पनीका अनुसार प्याक सक्रिय रहेको अवधिभर ग्राहकले यो अफर पटक–पटक उपयोग गर्न सक्नेछन् ।

मन्त्रिपरिषद् बैठक अपरान्ह ४:३० बजे तय

काठमाडाैं । सरकारका प्रवक्ताले आज मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले आज वैशाख २ गते बुधबार अपरान्ह ४:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने जानकारी गराएका हुन्। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा आर्थिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकले सरकारका नीति तथा कार्यक्रमसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू लिन सक्ने सम्भावना रहेको छ। साथै, देशको वर्तमान परिस्थितिसँग सम्बन्धित विषयहरूमा आवश्यक निर्णय र निर्देशन पनि जारी हुन सक्ने बताइएको छ। सरकारले नियमित रूपमा मन्त्रिपरिषद् बैठकमार्फत नीतिगत निर्णयहरू गर्दै आएको छ।

सञ्चार मन्त्रालयमा ‘उही दिन वा भोलिपल्टसम्ममा काम टुंग्याउने’ कार्यशैली लागू

काठमाडौं ।  दैनिक कार्यसम्पादनमा देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सेवा प्रवाहलाई तीव्र र प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ कार्यनीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रालय र यसअन्तर्गतका सबै निकायका कर्मचारीहरूका लागि लागू गरिएको उक्त व्यवस्थाअनुसार अब कुनै पनि फाइल वा काम कर्मचारीको डेस्क वा प्रणालीमा पुगेपछि सकेसम्म सोही दिनभित्र र नभए भोलिपल्टभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीले कर्मचारीलाई आफ्नो जिम्मेवारी छिटो, पूर्ण र गुणस्तरीय रूपमा पूरा गर्न उत्प्रेरित गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको बताए । नयाँ नियमअनुसार निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकिने अवस्था आएमा सम्बन्धित कर्मचारीले तुरुन्तै आफ्नो माथिल्लो तहलाई जानकारी गराउनुपर्नेछ । साथै, कुनै पनि पत्र वा निर्णय प्रक्रिया सुरु गर्ने कर्मचारीले त्यसको अन्त्यसम्म अनुगमन गर्ने र प्रगतिको विवरण राख्ने दायित्व पनि लिनुपर्नेछ । यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै कर्मचारीसँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइने र त्यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस कदमले कर्मचारीमा अनुशासन कायम गर्नुका साथै कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसबाट सेवाग्राहीले छिटो, सहज र प्रभावकारी सेवा पाउने विश्वास लिइएको छ । मन्त्रालयले यस अभ्यासलाई मातहतका सबै निकायमा विस्तार गर्दै दीर्घकालीन कार्यसंस्कृतिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । साथै, स्रोतसाधनको मितव्ययी तथा प्रभावकारी उपयोग गर्न पनि मातहतका कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

रास्वपाले आह्वान ग‍र्यो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक बिहीबार (भाेलि) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा मध्यान्ह सवा १२ बजे बस्न लागेको हो । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  त्यसैगरी अन्य विषयमा पनि छलफल हुने जनाइएको छ ।