प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न विदुरतर्फ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन् । प्रधानमन्त्री र मन्त्रीको टोली बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेको हो ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सक्रिय छन् ।

बाढीपछि प्रधानमन्त्रीले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने, बेपत्ताको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने र अवरुद्ध सडक तथा अन्य पूर्वाधार सञ्चालनमा ल्याउने विषयमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ ।

समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर र आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, उद्धार, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन् ।

टोलीले प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई थप तीव्रता दिन र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अघि बढाउन आवश्यक निर्देशन दिने बताइएको छ ।

Share News