प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न विदुरतर्फ प्रस्थान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन् । प्रधानमन्त्री र मन्त्रीको टोली बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेको हो । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सक्रिय छन् । बाढीपछि प्रधानमन्त्रीले उच्चस्तरीय बैठक बोलाएर उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने, बेपत्ताको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने र अवरुद्ध सडक तथा अन्य पूर्वाधार सञ्चालनमा ल्याउने विषयमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा विदुर र आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, उद्धार, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन् । टोलीले प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई थप तीव्रता दिन र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण अघि बढाउन आवश्यक निर्देशन दिने बताइएको छ ।
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, ५ सय वटा सोलार पावर बैंक पठाउँदै
काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ । बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् । ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा बिहीबार ५ सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई पाँच सय सय सोलार पावर बैंक हस्तान्तरण गर्दैछ । ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले भने, ‘रसुवामा हाम्रो सवस्टेसन उडेकाले तत्कालै विद्युत सुचारु गर्न सकिने अवस्था छैन । त्यसैले वैकल्पिकरुपमा वत्ती बाल्न मिल्ने र मोबाइल चार्ज मिल्ने गरी सोलार पावर बैंक विपद् राष्ट्रिय परिषदमा पठाउँदैछौं । परिषदमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी छ,’ उनले भने । मन्त्रालयकाअनुसार त्रिशुलीस्थित २२० के.भी. ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ भने ६ वटा प्रसारण लाइन अवरुद्ध छ । जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री श्रेष्ठले आपूर्ति प्रणालीमा परेको चापको पनि जानकारी लिँदैछन् । यसका लागि बिहीबार मन्त्री श्रेष्ठले स्युचारटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर – एलडिसी) को निरीक्षण गर्दैछन् । ‘बाढीपछिको विद्युत आपूर्तिको अवस्था के छ, बाढीले समग्र देशको वत्तीमा कहाँ कहाँ असर पर्यो, कहाँ के अवस्था छ भनेर जानकारी लिन मन्त्रीज्यू आज स्चयुटाचारस्थित एलडिसी जाँदै हुनुहुन्छ,’ महर्जनले भने । यसबाहेक ऊर्जा मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सवस्टेशन र सञ्चालनको प्रयास गरिरहेको छ । गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको छ । सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ्ग गर्दै मर्मत गरेर लाइन सुचारु गर्ने प्रयास भैरहेको छ । अवरुद्ध भएको विद्युतका कारण प्रणालीलाई सुचारु राख्न विद्युत प्रणाली सञ्चालन विभागलाई निर्देशन गरिएको छ । यसैगरी आवश्यक परेमा भिमफेदीमा रहेको जेनेरेटर पठाउन तयारी अवस्थामा राखिएको छ ।
सर्वदलीय समितिमार्फत उद्धारदेखि पुनःस्थापनासम्मको काम अघि बढाउन प्रस्ताव
काठमाडौं । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहत, उद्धारदेखि पुनःस्थापनासम्मका कामलाई समन्वय गर्न सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका हुन् । बैठकमा लामिछानेले यस्तो समितिले सरकारलाई आवश्यक निर्णय लिन सहज हुने धारणा राखेका छन्। ‘राहत, उद्धारदेखि पुनःस्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,’ उनले बैठकमा भने। बाढीपहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति भएको तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव बैठकमा आएको हो । सिंहदरबारमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा विपद्पछिको उद्धार, राहत, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुनःस्थापनालगायत विषयमा छलफल भइरहेको छ ।
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार
काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीपछि नेपाली सेनाले बिहीबार बिहान हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक छन् । विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याउने तयारी गरिएको सेनाले जनाएको छ । यसैगरी, रसुवाको हाकुस्थित एक जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा भने उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरिएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको सेनाले जनाएको छ । भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेसहित विभिन्न क्षेत्रमा ठूलो क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्।
रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी
काठमाडौं । रसुवासहित आसपासका जिल्लामा आएको विनाशकारी बाढीमा परेर घाइते भई काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना उपचारपछि डिस्चार्ज भएका छन् । बिहीबार बिहानसम्म विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ९ जना घर फर्किएका हुन् भने ३३ जनाको उपचार जारी रहेको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार उद्धार गरी काठमाडौं ल्याइएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । छाउनीस्थित सैनिक अस्पतालमा एक जना, वीर अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा ९ जना, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा १९ जना, नर्भिक अस्पतालमा तीन जना तथा मनमोहन मेमोरियल अस्पताल, स्वयम्भूमा एक जनाको उपचार भइरहेको जनाइएको छ । तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवासँगै नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रबाट घाइतेहरूको उद्धार गरी काठमाडौँ ल्याएर विभिन्न अस्पतालमा उपचारको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको सचिवालयले घाइतेहरूको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी भइरहेको र आवश्यक उपचार तथा व्यवस्थापनका लागि सम्बन्धित निकायहरू समन्वयमा रहेको जनाएको छ ।
२ अर्ब ३३ करोड घाटामा हिमालयन रिइन्स्योरेन्स
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ३३ करोड ६२ लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । जबकि कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ३९ करोड ३ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्क आर्जन ५.६९ प्रतिशत घटेर ६ अर्ब १ करोड ५६ लाख ३४ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड ८७ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ५८ करोड ८५ लाख ९० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ६७ करोड २८ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समीक्षा वर्षमा कम्पनीले ७ अर्ब ५७ लाख ९६ हजार रुपैयाँ कुल आम्दानी गरेर १० अर्ब ४४ करोड ८६ लाख २४ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ७३ करोड ४ लाख ५४ हजार रुपैयाँ कुल आम्दानी गरेर ५ अर्ब ७७ करोड ४० लाख १ हजार रुपैयाँ कुल खर्च गरेको थियो । १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख ६ हजार रुपैयाँ, विशेष जगेडा कोषमा १ अर्ब ४३ करोड ५ लाख ४४ हजार रुपैयाँ, महाविपत्तिक कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ८२ करोड ७६ लाख ५४ हजार रुपैयाँ रहेको सञ्चित नाफा गत वर्ष ३ अर्ब २८ करोड ६ लाख २८ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १२.७९ रुपैयाँ रहेकोमा गत वर्ष २१.५० रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.५८ रुपैयाँ रहेको छ ।
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको १ करोड सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र देशका विभिन्न स्थानमा गएको बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइनेछ । विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत पुग्ने र सरकारको उद्धार तथा पुनर्स्थापनाको अभियानमा साथ दिने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । विज्ञप्तिमा ज्यानको जोखिम मोलेर उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मान व्यक्त गरिएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत राष्ट्र संकटमा पर्दा नागरिक र समुदायको साथमा उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ । प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक क्षति तथा अवस्थाको स्थलगत मूल्याङ्कन सुरु भएको छ । माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको वस्तुस्थिति अवलोकन, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ बिहानैदेखि फिल्डमा खटिएका छन् । उनको नेतृत्वमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवम् प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालित छ। भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने कार्य भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटको खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ।नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति सुचारु गर्न सकिने सम्भावना देखिएको छ। सोहीअनुसार चपली–देवीघाट ६६ के.भी. लाइन र बालाजु–त्रिशूली ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्न प्राविधिक टोलीले फिल्डमा आवश्यक तयारी तथा काम तीव्र पारेको छ। नेपाल विद्युत् प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपायको प्रयोग गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास जारी राखेको छ।