काठमाडौं । चीनमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन सहजीकरण गर्ने भएको छ ।
बुधबार रसुवामा आएको बाढीका कारण स्वदेश फर्कन समस्यामा परेका नेपालीलाई दूतावासले सहजीकरण गर्ने भएको हो ।
चीनबाट केरुङ नाका हुँदै नेपाल फर्कने गरेका नेपालीलाई दूतावासले सहजीकरण गर्ने जनाएको हो । बाढीका कारण केरुङ हुँदै स्वदेश फर्कने बाटो अवरुद्ध भएकाले दूतावासले समन्वय गर्ने भएको हो ।
'भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण नेपाल चीन सीमा क्षेत्र अवरुद्ध भई चीनमा अलपत्र पर्नुभएका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरण गरिनेछ,' दूतावासले भनेको छ ।
दूतावासले स्वदेश फर्कन चाहने नेपालीलाई विभिन्न व्यक्ति तथा नम्बरमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।
बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।
