विकासन्युज

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण तथा दलहरूबीच सहकार्यका विषयमा छलफल गर्न लामिछानेले बैठक बोलाएका हुन् । बैठकमा रास्वपा सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् । सर्वदलीय बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रिय सरोकारका विषय तथा दलहरूबीच सहकार्य र साझा समझदारी निर्माणका विषयमा छलफल हुने बताइएको छ।

७ निर्माण कम्पनीलाई सरकारी ठेक्कामा प्रतिबन्ध

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । कार्यालयको भदौ १० गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ ।  कार्यालयका अनुसार जगन्नाथ गाउँपालिकाको सिफारिसमा नेपालगन्जस्थित रमादेवी चौधरीको न्यू जेएमबी अर्डर एण्ड सप्लायर्स, राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखानाको सिफारिसमा काठमाडौं महानगर-१५ स्थित टंक प्रसाद धमलाको स्वयम्भु सप्लायर्स, मन्थली नगरपालिकाको सिफारिसमा रामेछापस्थित रत्न बहादुर नेवारको रत्न बिएस कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखिएको हो । जयपृथ्वी नगरपालिकाको सिफारिसमा कैलालीको धनगढीस्थित विक्रम बहादुर बुढाको बाल्दा पेट्रोकेमिकल प्रालि, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सिफारिसमा गैरिधारा काठमाडौंस्थित उमेश कुमार अग्रवालको बायोमेड इन्टरनेशनल प्रालि, बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा चौदण्डीगढी-१० उदयपुरस्थित रबिन बस्नेत र मनोज बस्नेतको निश्मान इन्टरनेशनल प्रालि र शिखर नगरपालिकाको सिफारिसमा गोकर्णेश्वर-८, काठमाडौंस्थित रवि प्रकाश सिंहको जेडिएमआर बिल्डर्स प्रालिलाई कालोसूचीमा राखिएको हो ।  कार्यालयका अनुसार सबै निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

बाढीग्रस्त क्षेत्रमा १० हेलिकोप्टर परिचालन, २० वटा तयारी अवस्थामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् । ती हेलिकोप्टरलाई आज बिहान ६:३० बजेदेखि नै आवश्यक परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो । यस्तै, बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन गरिएको छ । यससँगै उद्धारका लागि आवश्यक परे तत्काल परिचालन गर्न सकिने हेलिकोप्टरको संख्या ३० पुगेको छ ।  प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिनेछ । प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने जनाइएको छ ।

कृषि विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले भदौ ११ गते सञ्चालन हुने भनिएका सम्पूर्ण परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण परीक्षा स्थगित गरिएको रजिस्ट्रार प्रा.डा. सुविर सिंहले जानकारी दिए ।  स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ । यसैबीच, भदौ १० गते नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय क्षति र जनधनको विनाशप्रति कृषि तथा वन विज्ञान विश्वविद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

बाढी अपडेट: १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा हालसम्म १६२ वटा शव फेला परेका छन् । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ वटा शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २०, त्रिशूली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १ र ग्रिन सिटी अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको छ । यस्तै, आज बिहान ५ बजेसम्म बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको जनाएको छ । 

बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । आइएफआरसीले नेपाल रेडक्रसका स्वयंसेवक तथा आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा सक्रिय भई तत्काल खोज, उद्धार तथा राहत वितरणमा जुटिसकेको जनाएको छ । महासङ्घले विपद् प्रतिकार्यलाई निरन्तरता दिनसमेत आग्रह गरेको छ । आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ गर्दै प्रभावितलाई तत्काल मानवीय सहायता पु¥याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए । सामाजिक सञ्जालमार्फत महासचिव चापागाईंले आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार समुदायका लागि थप सहयोग परिचालन गर्न तयार रहेको बताएका छन्। उनले मानवीय सहायता निरन्तर जारी रहनेसमेत उल्लेख गरेका छन् । चापागाईंका अनुसार रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय छन् र प्रारम्भिक राहत तथा सहयोग उपलब्ध गराउन जुटिरहेका छन् ।  उनले बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएको र भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

ठूलो मात्रामा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग बन्द, दिउँसोसम्म सञ्चालनमा आउने

काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ । सडक विभागका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो हटाउने काम तीव्र गतिमा भइरहेको छ । विशेष अवस्था नआए आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार मुग्लिनदेखि गल्छीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक सञ्चालनयोग्य छ । बैरेनीदेखि गल्छीसम्मको करिब १३ किलोमिटर सडकका विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा लेदो थुपारेको छ ।  सडकमा थुप्रिएको लेदो हटाउन गएरातिदेखि १५ वटा उपकरण परिचालन गरिएको छ । गएराति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिएको थियो । आज बिहानैदेखि ती उपकरणमार्फत सडकमा थुप्रिएको लेदो हटाउने काम पुनः तीव्र पारिएको छ । बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको हो ।

आज बिहानैदेखि हेलिकप्टरबाट उद्धार, प्रभावित क्षेत्रमा राहत पठाइँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेको उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने शिविरमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयकाका अनुसार गम्भीर घाइतेलाई तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्थाअनुसार प्राथमिकताका आधारमा वर्गीकरण गरी उद्धार तथा उपचारको व्यवस्था मिलाइनेछ । यसैगरी, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।