विकासन्युज

बाढीपहिरोमा नेपालतर्फ रहेका एक सय चिनियाँ नागरिक बेपत्ता

काठमाडौं । नेपालतर्फ गएको भीषण बाढीपहिरोमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बुधबार आएको प्राकृतिक विपत्तिका कारण नेपालमा रहेका आफ्ना नागरिक सम्पर्कविहीन भएको जानकारी दिएका हुन् । प्रवक्ता लिनका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले यस विषयमा नेपाली पक्षसँग समन्वय गर्दै विस्तृत विवरण संकलन तथा प्रमाणीकरण गरिरहेको छ । चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको रिकाजे सहरस्थित केरुङ (जिरोङ) नाका तथा आसपासका क्षेत्रमा गएको पहिरोबाट ठूलो मानवीय क्षति भएको बताइएको छ । लिनले दुवै देशका अधिकारीबीच खोजी तथा उद्धारका लागि निरन्तर सम्पर्क र समन्वय भइरहेको जानकारी दिँदै नेपालको आवश्यकताअनुसार आपत्कालीन सहयोग उपलब्ध गराउन चीन तयार रहेको बताए । चिनियाँ स्थानीय अधिकारीलाई उद्धृत गर्दै प्राप्त जानकारीअनुसार प्रभावित क्षेत्रमा हालसम्म २ सय ६० जना विदेशी नागरिक सम्पर्कविहीन छन् । यद्यपि, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण यकिन विवरण प्राप्त हुन नसकेको र प्रमाणीकरणको काम जारी रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । ‘सबैको जीवन महत्वपूर्ण छ’ भन्दै लिनले सम्बन्धित देशका दूतावासलाई समेत प्रभावित क्षेत्रमा रहेका नागरिकको पछिल्लो अवस्थाबारे जानकारी गराइरहेको बताए । यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले सुरक्षा सतर्कतासम्बन्धी सूचना जारी गरेको छ। दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन तथा थप प्राकृतिक जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। समस्यामा परेका नागरिकलाई दूतावाससँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

भारतको गण्डक नदीमा सातवटा शव फेला

काठमाडौं । बाढीका कारण बगेका सात जनाको शव सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशका महाराजगन्ज र कुशीनगरमा फेला परेका छन् ।  भारतीय अधिकारीहरूका अनुसार गण्डक (नारायणी) नदीमा तैरिरहेको अवस्थामा सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले पाँच महिला र दुई पुरुषका शव फेला पारेको हो ।  जसमध्ये महाराजगन्जमा तीन महिला र एक पुरुष गरी चार वटा तथा कुशीनगरमा दुई महिला र एक पुरुष गरी तीन वटा शव बरामद गरिएको छ ।  निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ता र कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माका अनुसार मोटरबोटको प्रयोग गरी नदीबाट निकालिएका ती शवहरू हाल पहिचानका लागि सदरमुकामका फ्रिजरमा सुरक्षित राखिएका छन् ।  शवहरू नेपालको माथिल्लो क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको बलियो सम्भावना रहेको बताउँदै भारतीय प्रशासनले पहिचानको प्रक्रिया अघि बढाउन नेपाली स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

नेशनल लघुवित्तकी स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडकी स्वतन्त्र सञ्चालक जमुना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन् । श्रेष्ठले आफ्नो स्वास्थ्य स्थिति तथा घरायसी जिम्मेवारीको कारण देखाउँदै गत साउन २२ गते सञ्चालक समिति समक्ष राजीनामा पेस गरेकी थिइन् । पेस गरिएको उक्त राजीनामालाई संस्थाको भदौ ११ गते बसेको २१० औँ सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।  

रसुवा हाइड्रोको सुरुङबाट दुई जनाको जीवित उद्धार, खोजी अभियान जारी

काठमाडौं । रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले शुक्रबार बिहानैदेखि अभियान तीव्र पारेको छ । नेपाली सेनाका अनुसार जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच सञ्चालन गरिएको उद्धार अभियानमा हालसम्म सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार गरिएको छ । सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन विवरण आइसकेको छैन । फसेकाहरूको खोजी तथा उद्धार कार्य भने निरन्तर जारी रहेको सेनाले जनाएको छ । अप्ठ्यारो र जोखिमयुक्त सुरुङभित्र उद्धार गर्न सेनाले विशेष तालिमप्राप्त उद्धार टोली र आवश्यक प्राविधिक उपकरण परिचालन गरेको छ । बाँकी फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्न उद्धार अभियानलाई निरन्तरता दिइएको सेनाले जनाएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ भने उद्धार तथा खोजी अभियान विभिन्न स्थानमा जारी छ ।

नेपाली सेनाद्वारा ७२४ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरबाट ७ सय २४ जनाको उद्धार गरेको छ । रसुवाको बाढीले अलपत्र परेका १ सय १ विदेशीसहित अन्य नेपालीलाई उद्धार गरेको हो । खोला किनारा, जंगल तथा विभिन्न ठाउँबाट २ सय जनालाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ । बाढीमा परेर घाइते भएका १ हजार १४५ जनालाई उपचार गरेको सेनाले जनाएको छ । त्यसैगरी, नेपाली सेनाले बाढीमा परेर हराएका खोजलाई निरन्तरता दिएको छ । घाइतेको उपचार, आश्रयस्थलको व्यवस्थापनलाई पनि निरन्तरता दिइरहेको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको छ । ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४६९ जनाको शव फेला परेको हो । बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

भदौ १३ देखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

काठमाडौं । सरकारले यही भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका विभिन्न विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित गरेको छ । बाढीका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गर्न औपचारिक निर्देशन दिएको हो ।  शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकारको प्रयोग गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिइएको छ ।  साथै, शुक्रबार सञ्चालित परीक्षामा परिस्थितिवश सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि समेत उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । यी हुन् विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयका ५ निर्देशन: नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन गर्दछौं ।  साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ ! । साथै, देहायबमोजिम आवश्यक व्यवस्था गर्न/गराउन अनुरोध गर्दछौंः १. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने । २. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने । ३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने । ४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने । ५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने । वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न/गराउन आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं । विपद्को यस कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनुहुन अनुरोध गर्दछौं । सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्री

' सरकार सामाजिक सञ्जालमा मात्रै देखियो '

काठमाडौं । विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको क्षेत्रमा उद्धार, राहत र खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै स्थानीय जनप्रतिनिधिले संघीय सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।  बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका सरकारको उपस्थिति पीडितले अनुभूति गर्न नसकेको स्थानीयले बताएका छन्। उतरगयाँ गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढीको सूचना जारी गर्न खटिएका चार जना कर्मचारी अझै बेपत्ता रहेको तथा सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचान भएपछि दाहसंस्कार गरिएको जानकारी दिएका छन्। उनले कार्यपालिका सदस्य ज्ञानु बिक तथा केही शिक्षकहरूसँग समेत सम्पर्क हुन नसकेको बताएका छन् । उनका अनुसार वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति पुगेको छ। भूकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी बसोबास गरिरहेका करिब ३०० घरपरिवार समेत बाढीको मारमा परेका छन्। उनले त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाका ठूलो संख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारहरू हराइरहेको जानकारी दिएका छन् । केही कामदार सुरुङभित्र फसेको आशंका उनले बताएका छन् । गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्किएका धेरै यात्रुहरूसँग पनि सम्पर्क हुन नसकेको अध्यक्ष अर्यालले बेपत्ता भएको बताएका छन् । आफन्तहरूले निरन्तर सम्पर्क गरी उद्धारका लागि हारगुहार गरिरहेको जनप्रतिनिधिको भनाइ छ। ‘बाढीपछि सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ भने विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल नेटवर्कसमेत प्रभावित भएको छ। मोबाइल बन्द भएपछि धेरै व्यक्तिसँग सम्पर्क हुन सकेको छैन,’ अर्यालले भने । टिमुरे र स्याफ्रुबेशी क्षेत्रमा ठूलो मानवीय क्षति पुगेको भए पनि मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अवस्था अझ भयावह रहेको उनको भनाइ छ। ठूलो संख्यामा परिवार घरबारविहीन भएका छन्। अर्यालले मरणासन्न अवस्थाका घाइतेलाई उद्धार गर्न प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायसँग समन्वय गरी हेलिकप्टरको प्रतिक्षा गर्दा पनि तत्काल सुनुवाइ नभएको गुनासो गरेका छन्। घाइतेलाई कालिकास्थान–जिवजिवे अस्पताल हुँदै करिब १० घण्टापछि धुञ्चे अस्पताल पुर्‍याउनु परेको उनले बताएका छन्। 'नदी किनारमा दर्जनौँ शव देखिएको र पहिचान भएका शवको समेत तत्काल व्यवस्थापन गर्न कठिनाइ भएको छ,' उनको भनाइ छ,' दाहसंस्कारका लागि फिल्डमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न नमिल्ने’ जवाफ दिन्छन् ।' बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता रहेको उनले बताएका छन् । कालिकास्थानमा रहेका इन्स्पेक्टरसहित पाँच–छ जना प्रहरी सीमित स्रोतसाधनका बीच खाना र पानीको समेत अभावमा खटिइरहेको उनले बताएका छन् । सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरी सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको सन्देश देखेको उल्लेख गर्दै अर्यालले भनेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ।' उनले आफूले सरकारको आलोचना राजनीतिक उद्देश्यले नभई पीडित जनताको वास्तविक अवस्था सार्वजनिक गर्न गरेको स्पष्ट पारेका छन्। ‘हामीले यस्तो आवाज उठाउन नपर्ने अवस्था सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ,’ अर्यालले गृहमन्त्रीको सचिवालयबाट आएको फोनमा दिएको जवाफ उद्धृत गर्दै बताएका छन्। उनका अनुसार गृहमन्त्रीको सचिवालयबाट ‘नकारात्मक प्रचार नगर्न र राजनीति नगर्न’ आग्रह गरिएको थियो। आफूले भुइँमा बसेर काम गरिरहेको जनप्रतिनिधिको हैसियतले वास्तविकता बोल्नुपर्ने बाध्यता रहेको उनले बताएका छन्। आफ्नो पार्टीभित्रका सीमित नेताबाहेक अन्य नेतृत्वले समेत प्रत्यक्ष रूपमा खोजखबर नगरेको अर्यालको गुनासो छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेको तथा सुरेन्द्र पाण्डेलगायत विभिन्न नेता र सहयोद्धाले सम्पर्क गरी चिन्ता व्यक्त गरेको उनले बताएका छन्। सामाजिक सञ्जालमा मात्र सीमित हुने बैठक र सन्देशले पीडितको पीडा झनै बढाउन सक्ने भन्दै अर्यालले परिणाममुखी काम गर्न आग्रह गरेका छन्। ‘परिणामविहीन सामाजिक सञ्जाल रंग्याउने काम नगरौँ। के गर्न सकिन्छ, मैदानमै जनताले अनुभूति गर्नेगरी गरौँ,’ उनले भनेका छन्। उनका अनुसार प्रभावित क्षेत्रका करिब ३५० जनालाई नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा आश्रय दिइएको छ। कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायत सहयोग प्राप्त भएको र उपलब्ध खाद्यान्नले थप करिब तीन दिन धान्ने अनुमान छ। पीडितहरू विद्यालयका कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन्। केही मनकारी स्थानीयले आफ्नै घरमा आश्रय दिएर प्रभावित परिवारलाई सहयोग गरिरहेका छन्। नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाको अवस्था संवेदनशील भए पनि आवश्यक सहयोग गर्न नसकिएको उनले बताए । नदी किनारमा रहेका दर्जनौं शव सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिन थालेको र यसबाट संक्रमण तथा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुने जोखिम बढेको अर्यालले बताएका छन्। बिरामीको संख्या पनि बढ्दो क्रममा रहेकाले तत्काल उद्धार र उपचारको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन्  । पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै व्यक्ति फसेको सूचना आएको छ। त्यहाँ खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव रहेकाले तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनले माग गरेका छन् । त्रिशूली नदी वारिपारि फसेर परिवारबाट अलग भएका सदस्यलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराउनुपर्ने आवश्यकता पनि उनले औल्याएका छन् । सहयोगी संघसंस्थाले राहत उपलब्ध गराउने इच्छा व्यक्त गरिरहेकाले राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउन आवश्यक सहजीकरण गरिदिन सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन् ।  उनले घरबारविहीन, बेपत्ता, अभिभावकविहीन बालबालिका तथा ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलन भइरहेको बताए । प्रमुख जिल्ला अधिकारीसँग अघिल्लो साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारदेखि सुरु हुने जानकारी प्राप्त भएको उनले बताएका छन्।  स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी राज्यको नजरबाट ओझेलमा परेको महसुस गरेका क्षेत्रमा उद्धार, राहत र अन्य अत्यावश्यक काम प्रभावकारी रूपमा सुरु हुने विश्वास उनले व्यक्त गरेका छन्। ‘आफन्त गुमाएका र घरबारविहीन जनताले अब राज्यको उपस्थिति प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउनुपर्छ,’ अर्यालले दुःख व्यक्त गर्दै भनेका छन् । रसुवामा बुधबार ९ बजे आएको बाढीले रसुवा,  नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्‍याएको छ।

राहत लिएर प्रभावित क्षेत्रमा नजान अपिल, सिडियो कार्यालयसँग समन्वय गर्न आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण र उद्धार कार्यलाई थप व्यवस्थित बनाउन वालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था र सरोकारवालासँग समन्वय गरेर मात्रै राहत परिचालन गर्न आग्रह गरेको छ । सचिवालयले विपद्को कठिन घडीमा पीडितलाई सहयोग गर्न नागरिक र सामाजिक संस्थाले देखाएको सद्भाव तथा सक्रियताको प्रशंसा गर्दै पूर्वसमन्वयबिनै व्यक्तिगत रूपमा राहत लिएर प्रभावित क्षेत्रमा जाने क्रम बढेको जनाएको छ । सचिवालयका अनुसार साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्यधिक ट्राफिक जाम भएको छ । त्यसका कारण एम्बुलेन्स, सरकारी उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न कठिन भएको उल्लेख गरिएको छ । जोखिमयुक्त भूगोल र विषम परिस्थितिमा आवश्यक तयारीबिनै प्रभावित क्षेत्रमा पुग्दा राहत लिएर जाने व्यक्तिको सुरक्षासमेत जोखिममा पर्ने सचिवालयको भनाइ छ । त्यसैले उद्धार तथा राहत कार्यलाई थप भद्रगोल हुन नदिन र वास्तविक पीडितसम्म छिटो राहत पुर्‍याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा नजान आग्रह गरिएको छ । राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अबदेखि अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग पूर्वसमन्वय गरेर मात्रै राहत सामग्री हस्तान्तरण वा परिचालन गर्नुपर्ने सचिवालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई एकीकृत रूपमा सम्बन्धित स्थानसम्म पुर्‍याउने व्यवस्था मिलाउने पनि सचिवालयले स्पष्ट पारेको छ । सद्भाव र सहयोगको भावनालाई राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा परिचालन गर्न सबैमा सचिवालयले हार्दिक अपिल गरेको छ ।