३० रुपैयाँ बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै ७ अर्ब ८१ करोड घाटामा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्य राति अर्थात् अहिले १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिक तर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजेल/मट्टितेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजलमा प्रतिलिटर ८७.९९ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा
काठमाडौं । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका उनी बुधबार (आज) रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । नेपाली अधिकारीको टोली उनलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गरेका छन् ।
इन्धनमा भएको मूल्यवृद्धिको समस्या सम्बोधन हुने मन्त्रीको आश्वासन, निर्माण व्यवसायी उत्साहित
काठमाडौं । इन्धन तथा निर्माणजन्य सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण संकटमा परेको निर्माण उद्योगको समस्या समाधान गर्न सरकार सकारात्मक देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मूल्य समायोजनका लागि मन्त्रिपरिषद्बाट छिट्टै निर्णय गराउने प्रतिबद्धता जनाएको जानकारी दिएको हो । मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल र बिटुमिन लगायतका सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि भएपछि देशभरका निर्माण कार्यहरू ठप्प हुने स्थिति सिर्जना भएको थियो । यस विषयमा महासंघले मन्त्री लम्साल र सरकारका सचिवहरूलाई पटक-पटक भेटी ध्यानाकर्षण गराएको थियो । महासंघका अनुसार मन्त्री लम्सालसँग भएको द्विपक्षीय छलफलमा मूल्य समायोजनको विषयलाई कार्यान्वयनको प्रक्रियामा लगिएको र मूल्यवृद्धि भएको समयमा गरिएका निर्माण कार्यहरूको शोधभर्ना हुने गरी मन्त्रिपरिषद्ले निर्णय गर्ने आश्वासन प्राप्त भएको छ । मूल्यवृद्धिको चर्को मारलाई मध्यनजर गर्दै महासंघले आफ्ना सबै प्रदेश, जिल्ला संघ र एसोसिएट सदस्यहरूलाई विशेष आग्रह समेत गरेको छ। अबदेखि नयाँ बोलपत्र दाखिला गर्दा वा सम्झौता गर्दा अनिवार्य रूपमा 'मूल्य समायोजन' को प्रावधान लागू हुने गरी मात्र प्रक्रिया अगाडि बढाउन महासंघले निर्देशन दिएको छ । निर्माण व्यवसायीहरूले सरकारको यो प्रतिबद्धता समयमै कार्यान्वयन भएमा रोकिएका विकास निर्माणका कामहरूले पुनः गति लिने विश्वास व्यक्त गरेका छन् ।
फेरि एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमा, ४० औं स्थानमा उक्लियो
काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ । बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो । प्रतिवर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी थिए । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकको लागि गौरवको विषयको रूपमा व्याख्या गरे । ‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’ उनले भने। उनका अनुसार टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ । कुँवरले क्लबको निरन्तर विकास र स्तरवृद्धिका लागि टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर प्रमुख कारण भएको उल्लेख गरे । ‘यो सफलताले एलओडीलाई थप जिम्मेवार बनाएको छ। आगामी दिनमा हामी क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यमा छौं,’ उनले भने । पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको कुँवरको भनाइ छ । ‘मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने । क्लबिङ् लाइफलाई व्यवस्थित र सभ्य बनाउन हामीलाई थप जिम्मेवारी प्रदान गरेको कुँवरको भनाइ छ । एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये सन् २०२५ मा ४४औं स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२ औं , २०२३ मा ४९ औं र २०२४ मा ५० औं स्थानमा परिसकेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनी 'पेपरलेस' बन्दै, अब घरैबाट बीमा शुल्क तिर्न सकिने
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाएको छ । कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै 'मोबाइल एप' सार्वजनिक गर्नुका साथै सम्पूर्ण आर्थिक कारोबारलाई कागजातविहीन बनाएको घोषणा गरेको हो । कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेवा प्रवाहमा पारदर्शिता र सहजता ल्याउन यो नयाँ कदम चालेको जनाएको छ । अब सेवाग्राहीले गुगल प्ले स्टोरबाट कम्पनीको आधिकारिक एप डाउनलोड गरी आफ्नो बीमा योजनाको विवरण, प्रिमियम गणना र अभिकर्ता सम्बन्धी जानकारी तुरुन्तै प्राप्त गर्न सक्नेछन् । बीमा शुल्क र कर्जाको साँवा-ब्याज भुक्तानीका लागि अब कार्यालयसम्म धाउनुपर्ने छैन । ग्राहकले कनेक्ट आईपीएस, ईसेवा, खल्ती तथा फोनपेजस्ता डिजिटल माध्यमबाट घरैबाट भुक्तानी गर्न सक्नेछन् । कम्पनीले दाबी भुक्तानी र भेन्डर भुक्तानी लगायतका सबै खर्च प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ । यसले भुक्तानी प्रक्रियालाई छिटो र छरितो बनाउने कम्पनीको विश्वास छ । कम्पनीले "सुरक्षित भविष्य र डिजिटल सेवा, राष्ट्रिय जीवन बीमाको टेवा" भन्ने नाराका साथ प्रविधिको उच्चतम प्रयोग सुरु गरेको हो । यसबाट सेवा प्रवाहमा सुरक्षा, प्रभावकारिता र विश्वसनीयता कायम हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पनि सूचना प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउँदै सबै ग्राहकहरूलाई डिजिटल सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट www.rbs.gov.np हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री बालेनको आग्रह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’को सच्चा पहरेदार बन्न आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा बुधबार (आज ) भएको छलफलमा उनले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे । प्रधानमन्त्री शाहले सांसदलाई स्पष्ट कार्यदिशा दिँदै भने, ‘तपाईँको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईँहरु देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।’ छलफलका क्रममा केही सांसदले प्रत्यक्ष र समानुपातिकबीच भेदभाव हुने गरेको गुनासो गरेपछि प्रधानमन्त्रीले त्यसलाई प्रस्ट्याउँदै भने, ‘यसलाई विभेदका रूपमा नबुझिदिनुहोस् । यो छुट्टै छलफल तपाईँहरूका क्लस्टरका समस्यालाई गहिराइमा पुगेर सुन्न र स्पष्ट ध्यानाकर्षण गराउनका लागि गरिएको हो । यो भेदभाव होइन, बरु तपाईँ बोक्ने विशिष्ट मुद्दालाई न्याय गर्ने प्रयास हो ।’ प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिए । छलफलमा उठेका तात्कालिक विषयमा ‘फलोअप’ गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’बाट सधैँ खुला रहने उनको भनाइ थियो । समानुपातिक प्रणालीले संसद्लाई पूर्ण र समावेशी बनाउने उनको धारणा थियो । प्रधानमन्त्री शाहले सांसदलाई कानुन निर्माण र संसदीय समन्वयमा निर्धक्क भएर प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरे ।
बोक्सीको आरोप लगाउने पास्टर पक्राउ
काठमाडौं । ललितपुरमा बिरामीलाई उपचार गर्ने बहानामा बोक्सीको आरोप लगाउने मीन लामा (पास्टर) पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१२ स्थित चर्चमा पास्टरले बिरामीको उपचार गराउने बहानामा प्राथाना गर्दै मन्त्र पढी बिरामी बनाउने को हो भन्दै प्रश्न गरेर व्यक्तिको नाम भन्न लगाएका थिए । बोक्सीको आरोप लगाउने तथा सामाजिक कुरीति (गैह्र कानुनी) कार्य गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पास्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
नेपाल-चीन कूटनीतिक सम्बन्धबारे पुस्तक प्रकाशित
काठमाडौं । नेपाल र चीन सम्बन्ध समेटिएको ‘सेभेन्टी इयर्स अफ नेपाल-चाइना रिलेसन्स अ मोडल फर सिभिलाइजेस्नल फ्रेन्डसिप’ नामक पुस्तक प्रकाशन गरिएको छ । नेपाल इन्सटिच्युसन फर इन्टरनेसनल कोअपरेसन एन्ड इङ्गेजमेन्ट (नाइस) र फुडान युनिर्भसिटीको संयुक्त सहकार्यमा दिल्लीस्थित अड्रोइट प्रकाशनले उक्त पुस्तक प्रकाशन गरेको हो । चिनियाँ प्रोफेसर डा. चाङ चिन्डोङ र विवेकध्वज थापाद्वारा सम्पादित उक्त पुस्तक बुधबार काठमाडौंमा लोकार्पण गरिएको हो । कार्यक्रममा नेपालका लागि चिनियाँ पूर्वराजदूतद्वय डा. महेशकुमार मास्के, विष्णुपुकार श्रेष्ठ, चिनियाँ प्रोफेसर चिन्डोङ र सम्पादक थापाले सामूहिक रुपमा पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा मास्केले नेपाल र चीनबीचको प्राचीन सम्बन्ध सभ्यतासँग जोडिएको हुँदा यसलाई कूटनीतिक दृष्टिले मात्रै हेरेर सीमित धारणा बनाउन नमिल्ने बताए । उनले एक चीन नीतिलाई नेपालले स्वागत गरेको र चीनले पछिल्लो नेपालको राजनीतिक परिवर्तन नजिकबाट नियालेको समेत प्रष्ट पारे । पूर्वराजदूत श्रेष्ठले नेपाल र चीनको मित्रता अरु देशको तुलनामा भिन्न रहेको बताए । उनका अनुसार कूटनीतिक रुपमा ७० वर्ष पहिले दुई देशको औपचारिक मित्रता सुरु भएजस्तो देखिए पनि योभन्दा अगाडि तेस्रो शताब्दीदेखि नै सभ्यताको आधारमा सम्बन्ध विस्तार भइरहेको बताए । ‘हाम्रो मुख्य मित्रताको केन्द्र भनेकै सभ्यता हो’, उनले भने, ‘प्राचीनदेखि आधुनिक कूटनीतिक सम्बन्धको यात्रा हेर्दा नेपाल–चीनको सम्बन्ध मजबुत बन्दै गएको छ ।’ प्रोफेसर चिन्डोङले नेपालमा युवा पुस्ताको सरकार आएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धले आधुनिक उचाइ थप्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार प्राचीन सभ्यताले जोडेको सम्बन्धलाई अब डिजिटल युगसम्म आइपुग्दा आर्टिफिसियल इन्टेलिजेन्टस् (एआई) का क्षेत्रमा समेत दुई देशबीचको सहकार्य बलियो बनाउनुपर्छ । यसैगरी, पुस्तकका सम्पादक थापाले ट्रान्स हिमालयन कनेक्टीभिटी, सफ्ट पावर इङ्गेजमेन्ट, चीन नेपाल सम्बन्ध इतिहासलगायतका विषय समेटिएका लेखहरु पुस्तकमा समावेश गरिएको बताए । पुस्तकमा चीन र नेपालका विज्ञहरुद्वारा लेखिएका ३४ लेखहरु समावेश छन् । लेखक प्रशान्तकुमार विकले चीन र नेपालका विद्वानहरुले सहकार्य गरेर लेखिएको यो पहिलो पुस्तक रहेको बताए ।