नेपाली सेनाद्वारा ७२४ जनाको उद्धार

फाइल तस्विर

काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरबाट ७ सय २४ जनाको उद्धार गरेको छ । रसुवाको बाढीले अलपत्र परेका १ सय १ विदेशीसहित अन्य नेपालीलाई उद्धार गरेको हो ।

खोला किनारा, जंगल तथा विभिन्न ठाउँबाट २ सय जनालाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ । बाढीमा परेर घाइते भएका १ हजार १४५ जनालाई उपचार गरेको सेनाले जनाएको छ ।

त्यसैगरी, नेपाली सेनाले बाढीमा परेर हराएका खोजलाई निरन्तरता दिएको छ । घाइतेको उपचार, आश्रयस्थलको व्यवस्थापनलाई पनि निरन्तरता दिइरहेको छ ।

बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको छ । ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४६९ जनाको शव फेला परेको हो ।

बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

Share News