रसुवा हाइड्रोको सुरुङबाट दुई जनाको जीवित उद्धार, खोजी अभियान जारी

काठमाडौं । रसुवास्थित एक जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले शुक्रबार बिहानैदेखि अभियान तीव्र पारेको छ ।

नेपाली सेनाका अनुसार जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच सञ्चालन गरिएको उद्धार अभियानमा हालसम्म सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार गरिएको छ ।

सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन विवरण आइसकेको छैन । फसेकाहरूको खोजी तथा उद्धार कार्य भने निरन्तर जारी रहेको सेनाले जनाएको छ ।

अप्ठ्यारो र जोखिमयुक्त सुरुङभित्र उद्धार गर्न सेनाले विशेष तालिमप्राप्त उद्धार टोली र आवश्यक प्राविधिक उपकरण परिचालन गरेको छ । बाँकी फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्न उद्धार अभियानलाई निरन्तरता दिइएको सेनाले जनाएको छ ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ भने उद्धार तथा खोजी अभियान विभिन्न स्थानमा जारी छ ।

Share News